सप्तरीमा चैते धान उत्पादन बढ्ने अनुमान, क्षेत्रफल विस्तारसँगै उत्पादनमा वृद्धि
- BFIS News
- 2026 Mar 31 13:09
कल्याणपुर (सप्तरी), चैत १७ — सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा खेती गरिएको क्षेत्रफल बढेकाले उत्पादनमा पनि उल्लेख्य वृद्धि हुने देखिएको हो।
कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार ८०० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा १३ हजार ३५६ मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष भने क्षेत्रफल विस्तार भई तीन हजार १०० हेक्टर पुगेकाले १४ हजार ७८७ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख किशुनदेव राउतका अनुसार किसानहरू अझै खेतमा धान रोपाइँमा व्यस्त रहेकाले उत्पादनको तथ्याङ्क अझै बढ्न सक्ने सम्भावना छ।
सप्तरीको हावापानी चैते धान खेतीका लागि उपयुक्त हुनुका साथै स्थानीय तहहरूले कृषि विद्युतीकरणमा जोड दिएकाले किसानहरू यसतर्फ आकर्षित भएका छन्। खेतमै बिजुली पुगेपछि बोरिङ र स्यालो ट्युबेलमार्फत सिँचाइ सहज बनेको छ, जसले गर्दा चैते धान खेतीप्रति किसानको उत्साह बढेको हो।
राउतका अनुसार समयमै सिँचाइ, गुणस्तरीय बीउबिजन र मलखाद उपलब्ध भएमा उत्पादन अझै वृद्धि गर्न सकिनेछ।
जिल्लाका १८ पालिकामध्ये छिन्नमस्ता, राजगढ, विष्णुपुर, तिलाठी कोइलाडी, महदेवा र रुपनी गाउँपालिकामा चैते धानको बढी खेती हुने गरेको छ। साथै हनुमाननगर कंकालिनी, बोदे बरसाइन, खडक र शम्भुनाथ नगरपालिकामा पनि राम्रो उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया