मुस्ताङमा ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह: संरक्षण र समुदाय सहकार्यमा जोड
- BFIS News
- 2026 Apr 19 17:29
मुक्तिनाथ (मुस्ताङ), वैशाख ६ गते । मुस्ताङमा ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नारासहित ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइँदै छ ।
वैशाख १ गतेदेखि सुरु भएको सप्ताहका अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) ले सरोकारवाला निकाय, विद्यार्थी र स्थानीय समुदायसँग सहकार्य गर्दै वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरण, वन्यजन्तु संरक्षण तथा आहारा व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।
जोमसोमस्थित जनहित माध्यमिक विद्यालयको आयोजना तथा इलाका संरक्षण कार्यालयको समन्वयमा विद्यार्थीहरूद्वारा वन तथा वन्यजन्तु संरक्षण, फोहोर व्यवस्थापन र वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । यसमार्फत विद्यार्थीलाई वन्यजन्तुको महत्वबारे जानकारी गराइएको छ ।
एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताका अनुसार समुदायको सक्रिय सहभागिता बिना वन्यजन्तु संरक्षण सम्भव नहुने भएकाले सचेतनामूलक अभियानलाई प्राथमिकता दिइएको छ । समुदायस्तरमा चोरीसिकारी नियन्त्रण, वन क्षेत्रमा गस्ती तथा पासो हटाउने कार्य पनि सञ्चालन गरिएको छ ।
वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि आहारा संरक्षण आवश्यक रहेको बताउँदै चरन क्षेत्र व्यवस्थापन, घाँस तथा पानीको स्रोत सुनिश्चित गर्ने विषयमा समेत जोड दिइएको छ । बारागुङ मुक्तिक्षेत्र, थासाङ र घरपझोङ गाउँपालिकामा संरक्षण व्यवस्थापन समितिमार्फत कार्यक्रम अघि बढाइएको छ ।
यसैबीच उपल्लो मुस्ताङका लोमान्थाङ लगायत क्षेत्रमा पनि वन्यजन्तु संरक्षणसँग सम्बन्धित कार्यक्रम सञ्चालन भइरहेका छन् । इलाका कार्यालयले वन्यजन्तुबाट प्रभावित कृषकलाई आर्थिक सहयोग, चरन क्षेत्र व्यवस्थापन तथा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
वन्यजन्तु संरक्षणले पर्यावरणीय सन्तुलनसँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने भएकाले समुदायको सहकार्य अनिवार्य रहेको सरोकारवालाहरूको भनाइ छ । सप्ताहका अवसरमा जैविक मार्ग संरक्षण, बासस्थान निगरानी र जलवायु परिवर्तनका चुनौती समाधानबारे पनि छलफल गरिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)




प्रतिक्रिया