बीमा बजारको मेरुदण्डः अभिकर्ता पेशाको गुणस्तर र मर्यादाको नयाँ आयाम, कार्यकारी निर्देशक सुवेदीको लेख
- सुशील देव सुवेदी
- 2026 Apr 21 13:01
१. अभिकर्ताको अवधारणा र व्यावसायिक उपयोगिता
व्यावसायिक सन्दर्भमा अभिकर्ता (Agent) भन्नाले मुख्य पक्ष वा प्रिन्सिपल (Principal) को प्रतिनिधित्व गर्दै निर्धारित कार्य सम्पादन गर्ने आधिकारिक प्रतिनिधिलाई बुझिन्छ। यो सम्बन्धमा अभिकर्ता सदैव आफ्नो प्रिन्सिपलप्रति पूर्ण रूपमा जवाफदेही रहन्छ। सामान्यतया भन्सार, बीमा र व्यावसायिक मध्यस्थता जस्ता विविध क्षेत्रमा सक्रिय रहने अभिकर्ताहरूले निश्चित पारिश्रमिकको सट्टा कार्यसम्पादनमा आधारित कमिसनका आधारमा कार्य गर्दछन्।
अभिकर्तामार्फत व्यवसाय सञ्चालन गर्नुको प्रमुख फाइदा सङ्गठनमा रहने लचकता र उत्पादकत्वमा हुने बढोत्तरी हो। नियमित कर्मचारी नियुक्त गर्दा कामको परिणाम जे–जस्तो भए पनि निश्चित तलब र प्रशासनिक खर्चको भार व्यहोर्नुपर्ने हुन्छ। यसको विपरीत, अभिकर्ताको प्रयोगले संस्थालाई परिणामको आधारमा मात्र खर्च गर्ने सुविधा प्रदान गर्छ। बीमा अभिकर्ताको पारिश्रमिक पूर्णतः कार्य सम्पादनमा आधारित हुने भएकाले यस प्रणालीभित्रै स्वतः स्फूर्त उत्प्रेरणाको सिद्धान्त अन्तर्निहित रहन्छ। ऐतिहासिक रूपमा बेलायती प्रणाली हुँदै नेपाल भित्रिएको यो पद्धति वर्तमानमा नेपाली बीमा बजारको वितरण संयन्त्रको अनिवार्य मेरुदण्ड र सबैभन्दा ठूलो संगठित शक्तिका रूपमा स्थापित भइसकेको छ।
२. ऐतिहासिक पृष्ठभूमि र विकासक्रम
राष्ट्रिय बीमा संस्थानको स्थापनाकालमा बीमा सेवा मुख्यतः सरकारी कर्मचारी र सम्भ्रान्त नागरिकहरूमा केन्द्रित थियो र संस्थागत कर्मचारीलाई नै परिचालन गर्ने परम्परा थियो। नेपाली बीमा बजारमा एजेन्सी प्रणालीलाई मुख्य रणनीतिक संयन्त्रका रूपमा स्थापित गर्न पछिल्लो समयका विभिन्न बीमकहरुको स्थापनाको भूमिका निर्णायक मानिन्छ। कर्मचारीमार्फत हुने व्यवसायमा अपेक्षित गति नदेखेपछि नेशनल लाइफले नै यस प्रणालीलाई प्रमुखतामा ल्यायो।
बीमा अभिकर्ता क्षेत्रमा वास्तविक क्रान्ति भने वि.सं. २०५८ सालमा एलिको, नेपाल लाइफ र एलआईसी नेपालको आगमनसँगै भयो। विशेषगरी एलिकोले ’एजेन्सी म्यानेजर’ र ’युनिट म्यानेजर’ जस्ता बहुस्तरीय प्रणालीको सूत्रपात गरेपछि बीमा व्यवसायमा नाटकीय रूपान्तरण आयो। संयोगवश, यो त्यस्तो कालखण्ड थियो जतिबेला मुलुकमा शैक्षिक जागरण र मध्यमवर्गमा रूपान्तरणको प्रक्रिया एकसाथ अगाडि बढिरहेको थियो। यही सामाजिक आर्थिक परिवर्तन र सुदृढ एजेन्सी प्रणालीको विकासले नेपाली बीमा क्षेत्रमा ३३ प्रतिशतसम्मको वार्षिक वृद्धि दर हासिल गर्न सम्भव तुल्यायो। २०६४ र २०७४ सालमा नयाँ कम्पनीहरूको इजाजतसँगै यस क्षेत्रले थप व्यावसायिक उचाइ र विस्तार प्राप्त गरेको छ।
३. सामाजिक आर्थिक प्रभाव र व्यावहारिक यथार्थ
आज बीमा अभिकर्ता केवल एउटा पेशा मात्र नभएर एक सम्मानित पहिचान र मर्यादित व्यवसाय बनेको छ। अभिकर्ताहरूले राज्यलाई करमार्फत योगदान पु¥याएका छन् भने युनिटहरू खडा गरी रोजगारी र स्वरोजगारको उत्कृष्ट नमूना प्रस्तुत गरेका छन्। नागरिकलाई वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्दै र बचतको सुनिश्चितता गर्दै उनीहरूले राष्ट्रिय अर्थतन्त्रको वृहत् ’इको–सिस्टम’ लाई गतिशीलता प्रदान गरिरहेका छन्।
यद्यपि, बीमा व्यवसायका व्यावहारिक कठिनाइहरू सांख्यिकीमा मात्र कैद हुन सक्दैनन्। सम्भावित ग्राहकको विश्वास जित्नका लागि अभिकर्ताले गर्ने अथक श्रम र धैर्यतालाई प्राधिकरणले नजिकबाट महसुस गरेको छ। वास्तवमा, बीमाको बिरुवा रोप्ने, हुर्काउने र फल फलाउने मुख्य कार्य अभिकर्ताहरूकै हो। प्राधिकरणले त उनीहरूले आर्जन गरेका उपलब्धिलाई संस्थागत गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने हो। अतः उनीहरूको यस महान् सेवाको राज्यस्तरबाटै उचित कदर र समुचित सम्मान प्रदान गरिनु अपरिहार्य छ।
४. भावी कार्यदिशाः गुणस्तर र व्यावसायिक सुदृढीकरण
नेपाल बीमा प्राधिकरण अभिकर्ता क्षेत्रका विद्यमान चुनौतीहरूको स्थायी समाधानका लागि स्पष्ट मार्गचित्रका साथ क्रियाशील छ। अबको आवश्यकता संख्यात्मक वृद्धि मात्र नभई ’गुणस्तर अभिवृद्धि’ हो। प्रत्येक अभिकर्ताले विशिष्ट ज्ञान र उच्चस्तरीय सीप हासिल गरी गलत बिक्री (Mis–selling) लाई शून्यमा झार्न प्रतिबद्ध हुनुपर्छ।
अभिकर्ताहरूको दक्षताका आधारमा वर्गीकरण (Segregation) गर्ने र सकारात्मक विभेद (Affirmative Discrimination) को नीति अवलम्बन गर्ने विषयमा प्राधिकरण स्पष्ट छ। प्रस्तावित बीमा सूचना केन्द्र जस्ता निकायहरूमार्फत यो पेशालाई अझ सबल बनाइनेछ। अन्तर्राष्ट्रिय अभ्यास अनुरूप नेपाली अभिकर्ताको आय, सामाजिक सम्मान र व्यावसायिक सुरक्षा सुनिश्चित गर्नु नै हाम्रो लक्ष्य हो।
निष्कर्ष
बीमा क्षेत्रको समग्र उत्थानका लागि प्राधिकरण र अभिकर्ताबीचको बलियो साझेदारी र हातेमालो अनिवार्य छ। जति धेरै सहकार्य हुन्छ, उति नै बीमा क्षेत्र सुन्दर, पारदर्शी र विश्वसनीय बन्नेछ। बजारको वास्तविक सर्वेक्षणका आधारमा उपयुक्त व्यक्तिलाई उपयुक्त बीमालेख बिक्री गर्न सक्ने सक्षमता विकास गरी बीमाप्रति जनविश्वास बढाउनु नै आवश्यकता हो।
(सुशील देव सुवेदी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक हुन्)
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया