राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै
- BFIS News
- 2026 Sep 28 12:00
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको ३० दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १२ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोल अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत हुनेछ। उक्त उपकरणमा बैंक तथा वित्तीय संस्थाले ३० दिनका लागि रकम राख्नेछन्। संकलित साँवा तथा ब्याज २०८३ कात्तिक ११ गते भुक्तानी गरिनेछ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ भने समान ब्याजदरमा प्राप्त प्रस्तावलाई प्रो-राटा आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। प्रत्येक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन्। त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकममा कुल ३० अर्ब रुपैयाँसम्म प्रस्ताव गर्न सकिने व्यवस्था छ।
निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ। संकलित रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
राष्ट्र बैंकले तोकिएको भुक्तानी मिति अगावै उक्त निक्षेप फिर्ता नहुने स्पष्ट पारेको छ। अर्थात् २०८३ कात्तिक ११ गतेअघि प्रि-म्याच्योर भुक्तानीको व्यवस्था रहने छैन।
बोलकबोल स्वीकृत भएको संस्थाको खातामा निष्कासनको दिन आवश्यक रकम उपलब्ध नभएमा त्यस्तो संस्थामाथि कारबाही हुने व्यवस्था पनि गरिएको छ। त्यस्ता संस्थालाई कालोसूचीमा राखेर आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया