बैंकको संस्थापक र सर्वसाधारण शेयरको बजार मूल्य एउटै बनाउन सिबिफिनको सुझाव
- BFIS News
- 2023 Dec 04 16:22
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ‘सिबिफिन’ले बैंक वित्तीय संस्थाको संस्थापक शेयर र सर्वसाधारण शेयरको बजार मूल्यमा एकरुपता कायम गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सिबिफिनले संस्थापक शेयरलाई क्रमिक रुपमा सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयनमा ल्याउनु पर्ने बताएको छ ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षामा पेश सुझाव पेश गर्ने क्रममा सिबिफिनले संस्थापक शेयर कर्जाको हकमा समेत साधारण शेयरकर्जा जस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने प्रावधान राखिनुपर्न् बताएको छ । यस्तो व्यवस्थाको कार्यान्वयनले पर्याप्त पूँजी निर्माण र परिचालनमा प्रत्यक्ष सहयोग पुग्ने सिबिफिनको विश्वास रहेको छ ।
यतिवेला बैंकिङलगायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । विभिन्न निकायहरुले सार्वजनिक गरेका आर्थिक एवं वित्तीय सूचकाङ्कहरुले मुलुकको बाह्य अवस्थामा क्रमशः सुधार हुँदै गरेको देखिएको भएतापनि आर्थिक गतिविधि, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आन्तरिक उत्पादन, रोजगारी, आयात–निर्यात, पूँजीगत खर्च प्रणाली, मुद्रास्फितिलगायतका क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिदा अर्थतन्त्र झन जटिलतातर्फ उन्मूख भइरहेको हो कि भन्ने व्यापक चिन्ता र चासो समेत बढेको सिबिफिनले जनाएको छ ।
अत्यन्तै संवेदनशील घडिमा मुलुक उँभिएको बेलामा नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको त्रैमासिक समीक्षामा जुटिरहेको छ । यसै सन्दर्भमा मुलुकको वर्तमान अर्थव्यवस्थाको वस्तुनिष्ठ मूल्याङ्कनसहित उत्पादनमूलक/रोजगारमूलक/निर्यातमूलक क्षेत्रमा लगानी विस्तार हुने, आम उद्यम/व्यवसायीक क्षेत्रमा आशा र उत्साह जगाउने र समग्र आर्थिक गतिविधिहरुलाई जिवन्त एवं चलायमान बनाउने उपयुक्त नीतिको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सघाऊ पुगोस् भन्ने अभिप्रायले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सुझाव पेश गरेको हो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया