Nepal Life

ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य हुँदैन : अर्थमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Mar 16 14:01
ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य हुँदैन : अर्थमन्त्री
United Ajod

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकले आज काठमाडौंमा आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

Shikhar
Nepal Life
NIMB

“सरकारका नीतिहरु आधारभूत रुपले परिवर्तन हुँदैनन्। संविधानअनुसारका विभिन्न कानुन बनेका छन् र त्यसैका आधारमा हाम्रा ऐन, नियम कानुन बनेका छन्। तिनैका आधारमा हाम्रा सामाजिक आर्थिक नीतिहरु अघि बढ्छन्”, अर्थमन्त्री पुनले भने, “तर सरकार परिवर्तन हुँदा व्यक्तिका काम गर्ने शैली परिवर्तन हुन सक्छन्। फरक शैलीको काम गर्ने तरिकाले नतिजामा पनि फरकपन आउँछ।”

अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायत कारण चौतर्फी रुपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने उनले दाबी गरे। “अहिले चारैतिर व्यवस्था बदलियो तर नागरिकको अवस्था फेरिएन भनेर गुनासो आइरहेका छन्। यो गुनासो र युवाको आकाङ्क्षालाई सम्बोधन गर्दै यो देशमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछु”, अर्थमन्त्रीले भने, “ आफ्नै माटोमा काम गर्छु भन्नेलाई सरकारले सहयोग गर्छ। कहाँनेर सहयोग गर्न सकिन्छ भनेर हामी समीक्षा गर्छौं। जनताको अवस्था किन परिवर्तन भएन भनेर समीक्षा गर्न हामी तयार हुनुपर्छ। सेवा प्रवाहमा हामी कहाँनेर चुक्यौँ भनेर सरकारले समीक्षा गर्छ।”

बैङ्कसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे। धार्मिक, सामाजिक अतिवाद र समाजलाई विखण्डन गर्न खोज्नेलाई सरकारले कारबाही गर्ने अर्थमन्त्रीले बताए। पछिल्लो समय सबै क्षेत्रमा नकरात्मकता फैलिँदै गएकामा पनि उनले चिन्ता व्यक्त गरे। “बैङ्कहरुलाई नयाँ सुदखोर र साहुजी भन्न थालिएको छ। राजनीतिज्ञहरु भ्रष्टाचार गर्छन्, तस्कर गर्छन् भन्ने धारणा विकास हुँदै गएको छ। सबैले आफैंले आफैंलाई गाली गर्ने र कोहि पनि ठीक छैन भन्ने भाष्य निर्माण गर्ने परिपाटी राम्रो होइन”, उनले भने, “उच्चभन्दा उच्च तहका मानिसलाई पनि छानबिन गरेर कारबाहीको प्रत्याभूति विद्यमान व्यवस्थाले गरेको छ। कोही पनि कानुनभन्दा माथि छैनन्। कोहीसँग नजिक भएकै कारणले उसलाई अपराधी भनेर आरोप लगाउनु हुँदैन। सबैलाई एकै ठाउँमा राखेर आरोप लगाउन हुँदैन तर प्रश्न उठिसकेपछि जवाफ दिनुपर्छ। म माथि प्रश्न उठेको भए मैले पनि जवाफ दिनुपर्छ।”

सुशासन, आर्थिक समृद्धि, सामाजिक न्यायलाई वर्तमान सरकारले केन्द्रमा राखेको पनि उनले स्पष्ट पारे। उनले आफू अर्थमन्त्रीका रुपमा स्थायी जागिर खान नआएको भन्दै जति समय पदमा रहे पनि अर्थतन्त्र र समाजमा सकारात्मक आशा जाग्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे।  “हामी को हौँ र जिम्मेवारी के हो भन्ने बोध गरेर अघिबढ्नुपर्ने बेला आएको छ। म अर्थमन्त्रीका रुपमा स्थायी जागिर खान आएको होइन। जति समय बस्छु, अर्थतन्त्र र समाजमा सकारात्मक आशा जाग्ने गरी काम गर्छु। आशाको सञ्चार गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो”, अर्थमन्त्री पुनले भने।

अहिले अर्थतन्त्रमा शिथिलता देखिए पनि साह्रै कमजोर अवस्थामा भने नरहेको उनले खुलाए। “सार्वजनिक वित्तको क्षेत्रमा केही काम गर्नुपर्नेछ। लक्ष्यअनुसार राजस्व सङ्कलन र विकास बजेट खर्चलाई सरकारले प्राथमिकताका साथ अघि बढाउँछ।  निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी करिब रु ४० अर्बको दायित्व हुँदो रहेछ। सरकारले त्यो दायित्व चाँडै भुक्तानी गर्नेछ। म आउनेबित्तिकै करिब रु ३० अर्ब जति बजारमा जाने गरी निर्णय गरेको छु।”, अर्थमन्त्री पुनले भने। लघुवित्त क्षेत्र र सहकारी क्षेत्रमा आएको समस्याका कारण पनि अर्थतन्त्रमा केहि समस्या देखिएको उनको भनाइ छ।

सरकारको वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्यता हुन नसकेको विषयमा गभर्नर लाई मात्र दोष लगाउने नभई राष्ट्र बैङ्कको सञ्चालक समिति पनि उत्तिकै जिम्मेवार हुने उनले बताए। नेपालमा सबैभन्दा राम्रो व्यवस्थापन भएको क्षेत्रको रुपमा बैकिङ क्षेत्र चिनिने उल्लेख गर्दै अर्थमन्त्री पुनले अहिले कुनै पनि बैंक समस्यामा नरहेको स्पष्ट पारे। बजारमा अधिक तरलता हुँदा कसरी व्यवस्थापन गर्ने भनेर नियामक राष्ट्र बैंकले सोच्नुपर्ने पनि उनको भनाइ छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया