Nepal Life

आईएमई लाइफको साख माथि उठाउन प्रवर्द्धकले लिएको जोखिममा कवि फुयालको अग्नी परीक्षा, ४ वर्षमै देखाइदिए नतिजा

NMB Bank
  • अरुण सापकोटा
  • 2024 Jun 06 15:04
आईएमई लाइफको साख माथि उठाउन प्रवर्द्धकले लिएको जोखिममा कवि फुयालको अग्नी परीक्षा, ४ वर्षमै देखाइदिए नतिजा
United Ajod

काठमाडौं । गैरव्यावसायिक पारिवारिक पृष्ठमूमिबाट छोटो समयमै व्यवसायिक घरानाको रुपमा स्थापित आईएमई समुहले हात हालेको कुनै पनि क्षेत्रले पछाडी फर्केर हेर्नु परेको छैन ।

Shikhar
Nepal Life
NIMB

नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाउनु भन्दा १० वर्ष अगाडी नै आइएमई समुहले जीवन कम्पनी खोल्ने योजना बनाएर सम्पुर्ण प्रकृयाँ पुरा गरेपनि लाइसेन्स नपाए पछि खारेजीको सोचमा पुगेको थियो । तर केहि सञ्चालकको ‘अहिले खारेज नगरौ’ भन्ने सल्लाहलाई स्वीकार गरेकै कारण २०७३ सालमा लाइसेन्स पायो ।

तत्कालिन समयमा लाइसेन्स पाउने मध्ये सबैभन्दा पहिला जीवन बीमा व्यवसाय शुभारम्भ गरेको आइएमई लाइफलाई सबैभन्दा शक्तिशाली र प्रतिस्पर्धी कम्पनीका रुपमा हेरिएको थियो ।

तर कम्पनीले सुरुवातमै जुन रफ्तारमा आफुलाई अगाडी बढाउनु पर्ने थियो त्यसरी अगाडी बढाउन सकेन । केहि समय कम्पनीले बजारबाट आफुले सोचे अनुरुपको प्रमुख कार्यकारी अधिकृत पाउन सकेन । बैंकिङ क्षेत्रका अनुभवी श्रीचन्द्र भट्टले जीवन बीमा व्यावसायको प्रतिस्पर्धामा आफुलाई उतार्न सकेनन् । उनि छोटो समय काम गरेर बाहिरिए । यस अवधिमा कम्पनीको प्रर्फरमेन्सलाई लिएर प्रवर्द्धक चिन्तित थिए ।

जीवन बीमा व्यावसाय बैंक फाइनान्सको जस्तो शाखा खोले जसरी चल्दैन । यसका लागि कम्पनीको प्रमुख नेतृत्व नै मार्केटिङमा तगडा व्यक्ति हुनु पर्छ भन्ने प्रवर्द्धकको बुझाइ बन्यो । वास्तवममा सुरुवाति अवस्थाको जीवन बीमा कम्पनीको पहिलो काम भनेकै धेरै भन्दा धेरै बीमा पोलिसी जारी गरि जीवन बीमा कोष बढाउनु हो । कोष भयो भने न यसका अन्य व्यवस्थापनका पाटालाई अगाडी बढाउन सकिन्छ ।

यहि कुरालाई मध्यनजर गर्दै कम्पनीले जीवन बीमामा राम्रो अनुभव, दृढ इच्छाशक्ति र प्रभावशाली व्यक्तिको खोजी गर्ने क्रममा कवि फुयाललाई नियुक्ति गर्ने निर्णय गर्यो । फुयालको बीमा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवलाई मूल्याङ्कन गर्दै कम्पनीले २०७७ भदौ ५ गते प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पियो । कम्पनीमा विद्यमान कर्मचारी भन्दा एकदमै कम अनुभव भएका फुयाललाई प्रमुख कार्यकारी अधिकृत बनाउदा केहि समय कम्पनी भित्र हलचल नै मच्चियो । अझ आइएमई लाइफको यो कदमलाई लिएर बजारमा ठुलै चर्चा हुन्थ्यो ।

फुयाल यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए  । सूर्या लाइफबाट आएका उनले सिटिजन लाइफमा २ वर्ष काम गरे । सूर्या लाइफ भन्दा अगाडी उनि प्राइम लाइफमा थिए । उनको करिअर भने लक्ष्मी बैंकबाट सुरुवात भएको थियो । 

यसरी जीवन बीमा कम्पनीहरु मध्ये एकदमै कम उमेरका उनले आफुलाई स्थापित मात्रै गरेका छैनन् । प्रवर्द्धकको चाहना अनुरुप कम्पनीको रफ्तारलाई अगाडी बढाएका छन् । उनलाई मार्केटिङ सिइओ भनेर आलोचना गर्नेहरु पनि ‘होइन अव त उनि हरेक कुरामा योग्य देखिएका छन्’ भन्न थालिसकेका छन् ।

कम्पनीको साख अभिबृद्धिका लागि लक्षित विकास तर्फको नेतृत्व सचेतना, कम्पनीको उत्तम व्यावसायिक रणनीति तथा दक्ष कर्मचारीहरुका कारण नै अर्थतन्त्र संकुचित हुँदा पनि कम्पनीले कुल बीमा शुल्क तर्फ १७ प्रतिशत र नाफा तर्फ ६२ प्रतिशत बृद्धि गरि प्रभावशाली नजिता हासिल गर्न सफल भएको सिइओ फुयाल बताउछन् ।

कम्पनीले नेपालमै पहिलो पटक बीमा क्षेत्रबाट प्रिमियममा आइपिओ निष्काशन गरेर आफ्नो पूँजीकोष बलियो बनाएको छ । प्रिमियममा आइपिओ निष्काशन गरेर पनि सञ्चालकलाई एक वर्ष कुराएर नेपाल बीमा प्राधिकरणले निधार्ण गरेको चुक्ता पूँजी जुटाउन अपनाएको संयममिततालाई लिएर इन्ड्रष्ट्रिका अन्य सिइओहरुले फुयालको प्रशंशा समेत गरेका छन् ।

कम्पनीको प्रमुख चुनौतीको रुपमा रहेको न्युनतम चुक्ता पूँजीलाई सहजै जुटेको छ । नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति पश्चात कायम गरेको चुक्ता पूँजी एक अर्ब ४० करोडबाट ५ अर्ब पुर्याउन विद्यमान संस्थापक शेयरधनीहरु सँग सत प्रतिशत हकप्रद निष्काशन गरि प्रिमियममा शेयर जारी गरेर सोहि प्रिमियमबाट बम्पर बोनस शेयर दिदै छ ।

अर्थात कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरुबाट सत प्रतिशत हकप्रद निष्काशन गरि २ अर्ब ८० करोड पुर्यायो । यस पछि सर्वसाधारणलाई एक अर्ब २० करोड आइपिओ जारी गरि ४ अर्ब पुर्यायो । कम्पनीले यहि जेठ २८ गते आह्वान गरेको साधारणसभाबाट २५ प्रतिशत बोनस शेयर पारित गर्दैछ । बोनस शेयर पारित भए सँगै कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम ५ अर्ब पुर्याउनेछ । यसरी कम्पनीले कुशलतापुर्वक चुक्ता पूँजी तथा पूँजी कोष बढाउन सफल भएको छ ।

कम्पनीले आधार मूल्यमै आइपिओ निष्काशन गर्ने निर्णयलाई खारेज गर्दै प्रिमियममा आइपिओ निष्काशन गर्ने कदमकै कारण आज कम्पनीको पूँजीकोष बलियो बनेको हो । यसले गर्दा कम्पनीलाई मर्जरको बाटो रोज्नु परेन । अन्य कम्पनीहरु मर्जर गरेर पछुताउदै गर्दा आइएमई लाइफ मर्जर विनानै आफुलाई शक्तिशाली कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।

विगत ५ वर्षमा कम्पनीले हासिल गरेका उपलब्धीहरु

चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९० करोड रुपैयाँ जम्मा भइसकेको छ । विगत एक वर्षको अवधिमा मात्रै कम्पनीले यस्तो कोष २६.२० प्रतिशतले बढाउन सफल भएको हो । प्रथम बीमा शुल्क, नविकरण बीमा शुल्क, कुल बीमा शुल्क आर्जनलाई हेर्ने हो भने स्थापनाको पहिलो तीन वर्षमा खासै उल्लेख्य सुधार देखिदैन । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ विचमा तुलना गर्यो भने हरेक सूचकमा सत प्रतिशत सुधार देखिन्छ । त्यस पछिका वर्षमा कम्पनीले गरेका सुधारहरु लोभलाग्दो छ ।

बीमा शुल्क आर्जन

स्थापनाको पहिलो वर्ष कम्पनीको प्रथम बीमा शुल्क आर्जन ५३ करोड थियो । त्यस पछिको आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क आर्जन ९१ करोड ८९ लाख, २०७६/७७ मा एक अर्ब ४१ करोड, २०७७/७८ मा २ अर्ब ८२ करोड, २०७८/७९ मा ३ अर्ब ५८ करोड, २०७९/८० मा ४ अर्ब १८ करोड र २०८०/८१ को चैत मसान्तसम्ममा ३ अर्ब २९ करोड नाघिसकेको छ ।

कम्पनीको वित्तीय सूचक

स्थापनाको पहिलो वर्ष कम्पनीको जीवन बीमा कोष ३१ करोड ३४ लाख रुपैयाँ थियो । त्यस पछिको आर्थिक वर्ष २०७५/७६ मा ८७ करोड ४३ लाख, २०७६/७७ मा एक अर्ब ६४ करोड, २०७७/७८ मा तीन अर्ब ५ करोड, २०७८/७९ मा ४ अर्ब ६२ करोड, २०७९/८० मा ७ अर्ब ५ करोड र २०८०/८१ को चैत मसान्तसम्ममा ८ अर्ब ९० करोड नाघिसकेको छ । जीवन बीमा कम्पनीको सबैभन्दा सुन्दर पक्ष जीवन बीमा कोष हो । जुन कम्पनीको जीवन बीमा कोष धेरै हुन्छ त्यसलाई राम्रो मानिन्छ । समग्र जीवन बीमा व्यवसायको बजारको बृद्धिदरको तुलनामा आइएमई लाइफको दोब्बर भन्दा माथि रहेको छ । यस चैतमा जीवन बीमा व्यवसाय ५.१८ प्रतिशत सुधार हुँदा आइएमईको १०.२४ प्रतिशत छ । आर्थिक मन्दी तथा आम मानिसको क्रय शक्तिमा ह्रास आउदा जीवन बीमा व्यवसायमा ठुलो प्रभाव परिरहेको छ ।

बीमा व्यवसायमा आक्रामक सुधारको पछाडी सबैभन्दा ठुलो भुमिका अभिकर्ताको हुन्छ । अभिकर्ताको संख्याको बृद्धिदर हेर्दा पहिलो वर्ष ३३१० थिए । आजका दिनमा कम्पनीमा ३९ हजार भन्दा माथिको संख्यामा अभिकर्ता छन् । यसमा हरेक वर्ष बृद्धि देखिन्छ ।

त्यस्तै कर्मचारीको संख्या तर्फ विश्लेषण गर्दा पहिलो वर्ष १३८ जना कर्मचारी थिए । हाल २६५ जना छन् । गएको वर्षको तुलनामा यो वर्ष एक जना मात्रै बढेका छन् । कम्पनीको सोल्भेन्सी मार्जिन २.८० प्रतिशत छ । नेपाल बीमा प्राधिकरणले सोल्भेन्सी मार्जिन १.५० प्रतिशत निर्धारण गरेको छ । कम्पनीले एक अर्ब बोनस शेयर वितरण गरेपछि पनि जगेडा कोषमा एक अर्ब ८२ करोड बाँकी रहन्छ । आगामी वर्षमा पनि कम्पनीले आकर्षक लाभांश दिन सक्छ ।

कम्पनीले शहरी तथा ग्रामिण भेगमा रहेका न्यून वर्गित आयस्रोत भएका तथा पिछडिएका वर्गहरु माझ जीवन बीमा सम्बन्धी साक्षरता र पहुँच पुर्याउने लक्ष्य लिएको छ । यो लक्ष्यमा केन्द्रित रही आर्थिक वर्ष २०७९/८० मा सातै प्रदेशका प्रादेशिक कार्यालय अन्तर्गत रहेका १४९ वटा शाखा तथा उप-शाखा कार्यालय मार्फत बीमित, अभिकर्ता तथा सरोकारवाला वर्गलाई जीवन बीमा सम्बन्धी सेवा उपलब्ध गराउदै आइरहेको छ । आगामी दिनमा यस्तो संख्या अझै बढाउदै लैजाने कम्पनीको रणनीति छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया