Nepal Life

युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन साक्षरता अभियान देशभर लैजान जरुरी - पूर्व अर्थमन्त्री महत

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 17:49
युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन साक्षरता अभियान देशभर लैजान जरुरी - पूर्व अर्थमन्त्री महत
United Ajod

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीकाे आयाेजनामा काठमाडौँ स्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा. महतले देशभर साक्षरता अभियान लैजान आवश्यक भएको बताए । 

Shikhar
Nepal Life
NIMB

‘युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ,’ पुर्वमन्त्री महतले भने, ‘कानुनले दिएका कयौँ सुविधाको विषयमा युवाहरूलाई जानकारी गराउन नसक्दा समस्या सिर्जना भएको छ । यस्तो कार्यक्रमले युवाहरूलाई सचेत बनाउन सहयोग गर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका महतले विद्यार्थीले क्याम्पसमा पढ्दादेखि नै भविष्यमा के गर्ने भन्ने योजना बनाउनु पर्ने बताए । ‘धेरै युवाहरूलाई विदेशमा मात्रै भविष्य छ भन्ने लाग्ने गरेको छ । त्यो सत्य होइन । मैले पनि अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेको थिए,’ महतले भने, ‘विदेश ३० सेकेन्डको टिकटक वा रिल बनाए जस्तो सजिलो छैन । नेपालमा कयौँ काम हुन बाँकी रहेकाले यहाँ ठुलो अवसर छ ।  ’

सोमबार पब्लिक यूथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा आयोजित आर्थिक साक्षरता अभियानलाई राष्ट्रिय वाणिज्य बैङ्कले सहयोग गरेको थियो । अभियान अन्तर्गत पब्लिक यूथ क्याम्पसमा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

निर्णायक मण्डलले छनौट गरेको उत्कृष्ट ३ निबन्धलाई ट्रर्फी, सर्टिफिकेट र नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महतले निबन्ध प्रतियोगितामा प्रथम भएका सुमन समल मगरलाई ट्रर्फी, सर्टिफिकेट सहित ९ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए । 

यस्तै, दोस्रो भएका शिशिर लामिछानेलाई  ट्रर्फी, सर्टिफिकेट सहित ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । तेस्रो भएकी सुरक्षा कडेललाई ट्रर्फी, सर्टिफिकेट सहित ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । अक्ष ज्योतिले आगामी दिनमा देशभरका विभिन्न क्याम्पसमा विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध प्रतियोगिताका साथै वक्तृत्वकला प्रतिस्पर्धा, उद्यमशीलता सम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र लेक्चर सिरिजलाई निरन्तरता दिने जनाएको छ । 

सोमबार आयोजित लेक्चर सिरिजका कार्यक्रमहरू अक्ष ज्योतिको सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सोमबार कार्यक्रम अन्तर्गत पब्लिक यूथ क्याम्पसमा २ वटा प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो । 'स्टार्टअप र साना उद्यमीहरूको समस्या: वित्तीय पहुँचको लागी बैंकहरूसँग कसरी सम्पर्क गर्ने?’ विषयमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिएका थिए । 

यस्तै, कार्यक्रममा आयोजित 'डिजिटल बैंकिङको वरदान र आशीर्वाद: नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान प्रशिक्षण प्रदान गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया