Nepal Life

गभर्नर सिफारिस समिति विवादमा : सदस्य विजयनाथ भट्टराईको राजीनामा, नियुक्ति प्रक्रिया थप जटिल

NMB Bank
  • BFIS News
  • 2025 Apr 22 20:58
गभर्नर सिफारिस समिति विवादमा : सदस्य विजयनाथ भट्टराईको राजीनामा, नियुक्ति प्रक्रिया थप जटिल
United Ajod

काठमाडौँ, बैशाख ९ — केन्द्रीय बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिबाट पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। सरकारले चैत दोस्रो साता गठन गरेको समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक र डा. विश्व पौडेल सदस्य छन्। तर, समितिको एकपल्ट पनि बैठक नबसी राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभावबारे समाचार बाहिरिएपछि भट्टराईले असन्तुष्टि जनाउँदै पद त्याग गरेका हुन्।

Shikhar
Nepal Life
NIMB

राजीनामामा उनले समितिको निष्क्रियता र उम्मेदवार छनोट प्रक्रियामा देखिएको अस्वस्थ प्रतिस्पर्धाले राष्ट्र बैंकको मर्यादामा आघात पुगेको उल्लेख गरेका छन्। "एक महिनासम्म पनि बैठक नबसी, बिचौलियाको योजनामा उम्मेदवार तय गर्ने चलन सुरु हुनु दुर्भाग्यपूर्ण हो," भट्टराईले बताएका छन्।

अब भट्टराईको स्थानमा अर्को पूर्व गभर्नरलाई नियुक्त गर्नुपर्ने बाध्यकारी अवस्था सरकारसामु आएको छ। हाल एमाले निकट पूर्व गभर्नर महाप्रसाद अधिकारीको नाम यसपटक समितिमा आउने सम्भावना बलियो देखिन्छ। सत्येन्द्रप्यारा श्रेष्ठ शारीरिक रुपमा अशक्त छन् भने युवराज खतिवडा समितिमा जान इच्छुक नरहेको स्रोतको दाबी छ।

यसैबीच, गभर्नर नियुक्तिको प्रक्रिया अदालतसम्म पुगेको चर्चा चलिरहेको छ। राजनीतिक हस्तक्षेपका बीच कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गैरआधिकारिक सहमति भएको भन्ने चर्चाले पदको गरिमा गुमेको आलोचना भइरहेको छ।

गभर्नरको नाममा बिचौलिया दीपक भट्टको संलग्नता, पूर्व सीईओ ज्ञानेन्द्र ढुंगानाको अदालती तयारी, र वर्तमान डेपुटी गभर्नर निलम ढुंगानाको सक्रिय लबिङले नियुक्ति प्रक्रिया झन् विवादास्पद बनाएको छ। निलमले आफूभन्दा कनिष्ठलाई गभर्नर नबनाउन शक्ति केन्द्र धाएको भन्ने चर्चा पनि छ।

अब सिफारिस समितिले राष्ट्र बैंक ऐनअनुसार तीन जना योग्य उम्मेदवारको सिफारिस गर्नुपर्नेछ। महाप्रसाद अधिकारी समितिमा आए गभर्नर चयनमा निलम ढुंगानाको सम्भावना क्षीण हुने प्रक्षेपण गरिएको छ। अधिकारीले डेपुटी गभर्नर बमबहादुर मिश्रलाई सिफारिस गर्ने सम्भावना बलियो रहेको स्रोतको भनाइ छ।

समितिमा तत्काल नयाँ सदस्य थपेर प्रक्रिया अघि बढाउने जिम्मेवारी सरकारले लिएको छ। अबको निर्णयले राष्ट्र बैंकको नेतृत्व कुन दिशातर्फ मोडिन्छ भन्ने कुरामा सबैको नजर केन्द्रित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया