Nepal Life

नेपाल शेयर बजार लगानीकर्ता संघको पहिलो पत्रकार सम्मेलन सम्पन्न, बजार सुधारका लागि साझा पहल गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 07 17:45
नेपाल शेयर बजार लगानीकर्ता संघको पहिलो पत्रकार सम्मेलन सम्पन्न, बजार सुधारका लागि साझा पहल गर्ने
United Ajod

काठमाडौं, वैशाख २४ – नेपाल शेयर बजार लगानीकर्ता संघको पहिलो पत्रकार सम्मेलन सोमबार राजधानीमा सम्पन्न भएको छ। संघका महासचिव रविन कँडेलद्वारा उद्घोषित उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू, लगानीकर्ता, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा लगानीकर्ता सुभाष चन्द्र भट्टराईले नेपाल शेयर बजारको विकास, सुधार र दीर्घकालीन स्थायित्वका लागि संघले महासंघको अवधारणामा आधारित रही लगानीकर्ताको हकहित संरक्षणमा क्रियाशील हुने विश्वास व्यक्त गरे। वरिष्ठ आर्थिक पत्रकार नवराज चालिसेले प्रो–पब्लिक संस्था आवश्यक रहेको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको अभ्यास गर्न संघलाई सुझाव दिए।

संघका अध्यक्ष केशव प्रसाद श्रेष्ठले संघको स्थापनाको उद्देश्य, संगठनात्मक संरचना, कार्यदिशा तथा भविष्यका योजनाहरू प्रस्ट पारे। वरिष्ठ उपाध्यक्ष किशोर पौड्यालले स्वागत मन्तव्य दिँदै पत्रकार सम्मेलन प्रारम्भ गरेका थिए। कार्यक्रममा सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको जवाफ संघका पदाधिकारीहरूले दिएका थिए।

संघले देशभर छरिएर रहेका शेयर बजारका लगानीकर्ताहरूको हकहित संरक्षण, लगानी शिक्षाको प्रवर्द्धन, सचेतनामूलक कार्यक्रम सञ्चालन, अध्ययन–अनुसन्धान तथा नीति निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ स्थापना गरिएको जानकारी दिइयो। यस "नेपाल शेयर बजार लगानीकर्ता संघ" को स्थापना २०८२ साल वैशाख १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत् रूपमा दर्ता गरिएको हो।

संघले स्वयंसेवी, गैरनाफामूलक तथा गैरराजनीतिक संस्थाको रूपमा सत्यनिष्ठा, पारदर्शिता, जवाफदेहिता र व्यवसायिक मूल्यमा आधारित रहेर काम गर्ने प्रतिबद्धता जनाएको छ। लगानीकर्ताहरूको सशक्तिकरण, गुनासो व्यवस्थापन, सदस्यता व्यवस्थापन, प्रविधिको प्रभावकारी प्रयोग, र जानकारीमूलक तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन संघको प्रमुख प्राथमिकतामा पर्ने जनाइएको छ।

संस्थाले स्थापना अवसरमा साथ, सहयोग, समर्थन गर्ने सबै लगानीकर्ता, सञ्चारकर्मी, बुद्धिजीवी, सरकार र नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर साथ, सुझाव र सहकार्यको अपेक्षा राखेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया