Nepal Life

जनताको पसिनाबाट जम्मा भएको कोषको सुरक्षा बीमा कम्पनीको धर्म हो: सुशीलदेव सुवेदी

NMB Bank
  • BFIS News
  • 2025 May 09 05:46
जनताको पसिनाबाट जम्मा भएको कोषको सुरक्षा बीमा कम्पनीको धर्म हो: सुशीलदेव सुवेदी
United Ajod

काठमाडौं, वैशाख २५ – नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक शुसिलदेव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्वपूर्ण कदम भएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे। उनले भने, “गिट्टी कुटेर, पसिना बगाएर वा व्यापार व्यवसायमार्फत कमाइएको जनताको पैसा अन्ततः बीमा कोषमा जम्मा हुन्छ। त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो।”

उनले एकै ठाउँमा पूँजी केन्द्रित गर्दा जोखिम बढ्ने भएकाले लगानीको विविधिकरण अपरिहार्य भएको बताए। “एउटै ‘बास्केट’मा सबै पैसा राख्दा जोखिम बढ्छ। विभिन्न ‘बास्केट’मार्फत जोखिम न्यूनीकरण गर्नु नै विविधिकरण हो—जुन नेपाल लाइफले आज आत्मसात् गरेको छ,” सुवेदीले उल्लेख गरे।

नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनीमार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, “यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ। यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ।”

कार्यकारी निर्देशक सुवेदीले बीमा सेवालाई समाजका प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउने दीर्घकालीन लक्ष्य लिनुपर्नेमा जोड दिए। भारतले आगामी २० वर्षमा सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने लक्ष्य लिएको सन्दर्भ दिँदै उनले नेपालले पनि यस्तै सोच्नुपर्ने बताए। यसतर्फ नेपाल लाइफले मार्केट लिडरको हैसियतमा अग्रसर भई नेतृत्व लिनुपर्ने अपेक्षा पनि उनले व्यक्त गरे।

“मार्केट लिडर बन्न सजिलो छैन, तर तपाईंहरूको हरेक कदम अरूका लागि उदाहरण बन्न सक्छ। तपाईंहरूले सुरु गर्नुभएको यो नवीन प्रयासको म उच्च प्रशंसा गर्छु,” सुवेदीले भने।

अन्त्यमा, बीमा कोषको सन्तुलित उपयोग, नवप्रवर्तन र विविधिकृत लगानीको दिशामा नेपाल लाइफले देखाएको सोचले आवश्यक नीतिगत परिमार्जन गर्न बीमा प्राधिकरण सधैं तयार रहेको उल्लेख गर्दै सुवेदीले नयाँ यात्राको सफलताको शुभकामना दिएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया