नेपाल शेयर बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डल र राष्ट्र बैंकका का.मु. गभर्नरबीच औपचारिक भेटघाट
- BFIS News
- 2025 May 19 13:39
काठमाडौं, बैशाख ५ गते। नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठको नेतृत्वमा गएको पदाधिकारी टोलीले नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. नीलम ढुङ्गानासँग औपचारिक परिचयात्मक भेटघाट सम्पन्न गरेको छ। भेटघाटको मुख्य उद्देश्य संघको गतिविधि, लक्ष्य र योजनाहरूबारे जानकारी गराउनुका साथै शेयर बजारको विकास र लगानीकर्ता हितका लागि राष्ट्र बैंकसँग सहकार्यको सम्भावना खोतल्नु रहेको थियो।
भेटका क्रममा अध्यक्ष डा. श्रेष्ठले संघको स्थापना उद्देश्य, दीर्घकालीन योजना र हालसम्मका गतिविधिबारे विस्तृत जानकारी गराउँदै शेयर बजारमा पारदर्शिता, विश्वसनीयता र वित्तीय साक्षरताको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। उनले आम लगानीकर्ताका लागि सुरक्षित र समावेशी बजार निर्माणका लागि संघले निरन्तर रचनात्मक पहल गरिरहेकामा जोड दिए।
संघका संस्थापक महासचिव रबिन कँडेलले कार्यवाहक गभर्नर डा. ढुङ्गानालाई औपचारिक पत्र हस्तान्तरण गर्दै वर्तमान शेयर बजारको अवस्था, चुनौतीहरू र सम्भावनाहरूको सन्दर्भमा संघको दृष्टिकोण प्रस्तुत गरे। उनले अर्थतन्त्रमा राष्ट्र बैंकको नियामकीय भूमिकाले शेयर बजारमा पार्ने प्रभावका विषयमा धारणा राख्दै, लगानीकर्ता हित संरक्षण र बजारको स्थायित्वमा सहकार्यका लागि संघको तत्परताबारे जानकारी गराए।
कार्यवाहक गभर्नर डा. ढुङ्गानाले संघको प्रयासको प्रशंसा गर्दै शेयर बजारमा वित्तीय साक्षरता अभिवृद्धि र लगानीकर्ता शिक्षाको महत्वमा जोड दिए। उनले उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह आवश्यक रहेको बताउँदै हाल बजारमा बैंक तथा वित्तीय संस्थाहरूको अत्यधिक सहभागिता कम गर्न उत्पादनमूलक कम्पनीहरूको उपस्थिति बढाउनुपर्ने धारणा राखे।
डा. ढुङ्गानाले राष्ट्र बैंक शेयर बजारको प्रत्यक्ष नियामक नभए पनि मौद्रिक नीति र ब्याजदरमार्फत त्यसमा महत्वपूर्ण प्रभाव पर्ने स्पष्ट पारे। उनले संघको प्रयासहरूलाई सकारात्मक रूपमा लिँदै यस्ता पहलहरूमा राष्ट्र बैंकले यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए।
भेटमा संघका वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, महासचिव रबिन कँडेल, सचिव भुवन ढकाल, कोषाध्यक्ष मछिन्द्र बस्नेत, सदस्यहरू विवेक श्रेष्ठ, सुदर्शन गौतम र मिना भट्टको उपस्थिति रहेको थियो।
संघले आम लगानीकर्ताको हकहित संरक्षण र शेयर बजारको समग्र सुधारका लागि यस्ता संवादलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। यो भेटघाटले संघ र राष्ट्र बैंकबीच भावी सहकार्यको आधार निर्माण गरेको विश्वास लिइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया