Nepal Life

नव नियुक्त गभर्नर सँग लगानीकर्ता संघ संस्थाको आशा, पुँजी बजार सुधारको ठोस सुरुआत हुने विश्वास

NMB Bank
  • BFIS News
  • 2025 May 29 07:49
नव नियुक्त गभर्नर सँग लगानीकर्ता संघ संस्थाको आशा, पुँजी बजार सुधारको ठोस सुरुआत हुने विश्वास
United Ajod

काठमाडौं, जेठ १४। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँग पुँजी बजार सुधारमा क्रियाशील चार प्रमुख लगानीकर्ता संघ–संस्थाका प्रतिनिधिहरूले भेटघाट गर्दै बधाई ज्ञापन गर्नुका साथै तीन बुँदे महत्वपूर्ण सुझाव प्रस्तुत गरेका छन्।

Shikhar
Nepal Life
NIMB

नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ, तथा जेनरल इन्भेष्टर एसोसिएसनका पदाधिकारीहरूको संयुक्त टोलीले गभर्नरसँग भेटेर हालको पुँजी बजारको अवस्थाबारे धारणा राख्दै सुझावसहितको ज्ञापनपत्र पनि बुझाएका हुन्।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार उक्त भेटघाट निकै आत्मीय र अर्थपूर्ण रहेको थियो। “गभर्नरज्यूले आफू बसेको कुर्सीबाट उठेर संघका पदाधिकारीहरूसँग हात मिलाउँदै स्वागत गर्नु भयो, जसले संवादको वातावरण सहज र सकारात्मक बनायो,” अध्यक्ष पाण्डेले बताए। शुभकामना आदानप्रदानसँगै गरिएको संवाद निकै प्रभावकारी र आशाजनक भएको उनको भनाइ छ।

संवादका क्रममा गभर्नर पौडेलले आफू पुँजी बजारका समस्या र चुनौतीप्रति पूर्ण रूपले जानकार रहेको बताउँदै नीतिगत स्तरमा आवश्यक सुधार गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए। “गभर्नरको फरासिलो व्यवहार, संवेदनशीलता र सुधारप्रतिको प्रतिबद्धताले हामी पूर्णतः आशावादी भएका छौं,” लगानीकर्ताहरूको भनाइ छ।

संघसंस्थाले गभर्नरसामु प्रस्तुत गरेका तीन बुँदे सुझाव यस प्रकार छन्ः

१. व्यक्तिगत शेयर धितो कर्जामा एकाघर परिवार (Single Obligator) सिमा हटाइनु पर्ने

प्रष्टिकरण:

वर्तमान अवस्थामा तरलता प्रशस्त भए पनि लगानीका क्षेत्र संकुचित छन्। एकाघर परिवारका लागि लगाइएको १५ करोडको कर्जा सिमा व्यावहारिक छैन। यसले लगानीकर्तालाई सीमित बनाउने भएकाले तत्काल सर्कुलर जारी गरेर हटाउनु आवश्यक छ।

२. लघुवित्त संस्थामा लाभांश वितरण सिमा (15%) हटाइनु पर्ने

प्रष्टिकरण:

लघुवित्त संस्थाले खराब कर्जा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरिसकेपछि उच्च प्रदर्शन गर्ने संस्थालाई पनि लाभांश वितरणमा क्याप लगाउने नीतिले लगानीकर्ताको मनोबल घटाएको छ। यसले योग्य संस्थामा लगानी गर्न नचाहिने वातावरण सिर्जना गरिरहेको छ।

३. बैंक तथा वित्तीय संस्थालाई कोर क्यापिटलको निश्चित प्रतिशत पूँजी बजारमा लगानी गर्न खुला गरिनु पर्ने

प्रष्टिकरण:

हालको व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थालाई सीमित मात्रामा सेयर खरिद–बिक्री गर्न दिइएको छ। यो सीमा व्यवहारिक छैन। कोर क्यापिटलको निश्चित हिस्सा खुला गरेर सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था गरिए पुँजी बजार थप सुदृढ र चलायमान बन्नेछ।

पुँजी बजार सुधारको माग र आशा

संघ–संस्थाहरूले भनेका छन्, “विगतमा लिइएका केही नीतिहरूले लगानीकर्ताको मनोबल घटाएको छ। गभर्नरज्यूजस्तो विषय विज्ञ व्यक्तिले यस्ता विषयलाई गम्भीरताका साथ लिनुहुने विश्वास लिएका छौं। आजको यो संवादले पुँजी बजार र समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश जाने अपेक्षा गरेका छौं।”

हाल पुँजी बजारमा करिब ६८ लाख नागरिकको ४५ खर्बभन्दा बढी लगानी रहेको छ। पुँजी बजारमार्फत देशको कुल ग्राहस्थ उत्पादनको हाराहारीमा आर्थिक गतिविधि भइरहेको, नयाँ कम्पनीहरू बजारमा प्रवेश गरिरहेको र दैनिक कारोबारले राजस्वमा समेत उल्लेखनीय योगदान दिइरहेको संघसंस्थाहरूको तर्क छ।

संघ–संस्थाहरूले राष्ट्र बैंकको आगामी मौद्रिक नीति तथा निर्देशनमार्फत प्रस्तुत तीन बुँदे सुझाव अवलम्बन गरिनुपर्नेमा जोड दिँदै गभर्नर पौडेलको कार्यकालमा पुँजी बजार सुधारको ठोस सुरुआत हुने विश्वास व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया