Nepal Life

शेयर किन्दा सोचेर, बुझेर, पोर्टफेलियो मिलाएर किन्न गभर्नर पौडेलको सुझाव, 'जोशमा होइन, होशमा लगानी गर्नुस्'

NMB Bank
  • BFIS News
  • 2025 Jun 07 07:08
शेयर किन्दा सोचेर, बुझेर, पोर्टफेलियो मिलाएर किन्न गभर्नर पौडेलको सुझाव, 'जोशमा होइन, होशमा लगानी गर्नुस्'
United Ajod

काठमाडौं, असार २४। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शेयर बजारमा सचेत र सन्तुलित लगानीको आवश्यकता औँल्याउँदै सम्पत्तिको विविधिकरण नै दिगो आर्थिक सुरक्षाको मूल मन्त्र भएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

शेयर बजारप्रति आफ्नो धारणा व्यक्त गर्ने क्रममा लगानीकर्तालाई सुझबुझका साथ लगानी गर्न अनुरोध गरेका छन्। गभर्नर पौडेलले उदाहरणमार्फत भने, “जस्तो कि मेरो एकजना दिदी हुनुहुन्छ, उहाँको बैंक खातामा २० लाख रुपैयाँ छ। उहाँको जीवन खर्च ब्याजबाट चल्ने गर्छ। जब ब्याजदर १२ प्रतिशत हुन्छ, उहाँलाई महिनामा २० हजार रुपैयाँ आउँछ। तर, ब्याज ४ प्रतिशतमा घटेपछि उहाँलाई निकै पीडा हुन्छ।”

गभर्नरले व्याजमा निर्भर आम्दानीको यस्तो अस्थिरता समाधान गर्न सम्पत्तिको विविधिकरण आवश्यक रहेको बताए। “यदि उहाँले १० लाख बैंकमा र १० लाख शेयर बजारमा राख्नु भएको भए, ब्याजदर घट्दा पनि शेयर बजारबाट फाइदा लिन सकिन्थ्यो,” उनले भने।

गभर्नर पौडेलले अघिल्लो पुस्ताले जग्गा, सुन र नगदको माध्यमबाट सम्पत्ति सुरक्षित गर्ने परम्परा सम्झाउँदै अहिलेको पुस्ताले त्यसैअनुसार शेयर बजारलाई पनि विकल्पका रूपमा हेर्नुपर्नेमा जोड दिए।

“हाम्रो बुबाआमाले जग्गा किन्थे, केही सुन राख्थे, केही नगद पनि हुन्थ्यो त्यो नै विविधिकरण हो। आजको युगमा शेयर पनि त्यस्तै माध्यम हो,” उनले भने।

उनले लगानी गर्दा उमेर, जोखिम उठाउने क्षमता, र लगानीको उद्देश्यको स्पष्ट विश्लेषण आवश्यक रहेको बताए। “जुनसुकै सम्पत्ति चाहे शेयर होस् वा जग्गा नराम्रो हुँदैन, तर त्यसलाई बुझेर, योजना बनाएर लगानी गर्नुपर्छ,” उनले सुझाए।

विशेषतः युवा पुस्तालाई गभर्नरले जोखिम लिन सक्ने अवसरको सदुपयोग गर्न आग्रह गरे। “२०/२५ वर्षको उमेरमा अलि बढी जोखिम लिन सकिन्छ, गल्ती भयो भने सुधार्ने मौका पनि हुन्छ। तर, उमेर ढल्किँदै जाँदा जोखिम क्षमता घट्छ। त्यसैले उमेरअनुसार लगानी गर्नुपर्छ,” उनले उल्लेख गरे।

गभर्नर पौडेलले राष्ट्र बैंकको दायित्व सन्तुलित आर्थिक प्रणाली बनाउने रहेको उल्लेख गर्दै भने, “मेरो कर्तव्य भनेको हरेक सम्पत्ति वर्ग सन्तुलनमा रहोस् भन्ने हो। शेयर बजारले पनि मुद्रास्फीति भन्दा बढी प्रतिफल दिनुपर्छ।”

उनले पोर्टफोलियो विविधिकरण, वित्तीय साक्षरताको विस्तार, र सूचना आधारित निर्णयलाई प्राथमिकता दिन सबै लगानीकर्तालाई आग्रह गरे। “शेयर किन्दा कम्पनीको जोखिम मूल्याङ्कन गरेर पोर्टफोलियो मिलाउनुहोस्। एउटा कम्पनी डुब्दा पूरै लगानी डुब्ने जोखिम नहोस्,” उनले चेतावनी दिए।

अन्त्यमा, गभर्नर पौडेलले शेयर बजारलाई सम्पत्तिको एक महत्वपूर्ण अंगका रूपमा लिँदै, लगानीकर्तालाई सन्तुलित सोच, ज्ञान, र विवेकसाथ अगाडि बढ्न सुझाव दिए। "हातमा भएका सबै गहना सुनमै होइन, केही जग्गा, केही नगद, केही शेयर सबै मिलाएर राख्दा मात्रै भविष्य सुरक्षित हुन्छ," गभर्नरको सन्देश थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया