Nepal Life

महासंघ अध्यक्ष ढकाल र दक्षिण अफ्रिकी राजदूतबीच भेटवार्ता, नेपाललाई लगानीको गन्तव्य बनाउ अध्यक्षको आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Jun 24 19:55
महासंघ अध्यक्ष ढकाल र दक्षिण अफ्रिकी राजदूतबीच भेटवार्ता, नेपाललाई लगानीको गन्तव्य बनाउ अध्यक्षको आग्रह
United Ajod

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो. अनिल सुकलालसँग मंगलबार भेटवार्ता गरेका छन् ।

Shikhar
Nepal Life
NIMB

महासंघ सचिवालयमा भएको उक्त भेटवार्तामा उनले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताहरूका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीहरूलाई नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग गरिदिन राजदूत सुकलालसँग आग्रह गरे ।

उनले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार अहिले सीमित भए पनि दुवै मुलुकबीचको व्यापारिक सम्बन्धलाई विस्तार गर्ने स्पष्ट सम्भावना रहेको बताए । नेपालमा कृषि प्रशोधन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा आकर्षक लगानी अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पर्यटनलाई नेपालको सबैभन्दा प्राकृतिक रूपमा सम्पन्न क्षेत्रका रूपमा रहेको बताए । “नेपालको भौगोलिक विशेषता यस्तो छ जहाँ एक घण्टाभित्रमै तल्लो तराईबाट उचाइयुक्त रमणीय पहाडी स्थलहरूमा पुग्न सकिन्छ,” उनले भने, “यसैले नेपाल रिसोर्ट, वेलनेस सेन्टर, एड्भेन्चर तथा इको–टुरिजमजस्ता पूर्वाधारमा लगानीका लागि निकै उपयुक्त गन्तव्य हो।”

साथै महासंघले व्यापारिक प्रतिनिधिमण्डलको स्वागत, बजार जानकारीको आदान–प्रदान तथा आवश्यक सहजीकरण गर्न सधैँ तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष ढकालले महासंघको सक्रियतामा नेपाल सरकारले हालै लगानीसँग सम्बन्धित विभिन्न ३० वटा कानुन संशोधन गरेको जानकारी दिँदै ती सुधारहरूले वैदेशिक लगानी प्रक्रिया सरल बनाउनुका साथै नाफा फिर्ता लैजान सजिलो बनाएको जानकारी दिए । महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको खाका सरकारले स्वीकृत गरेको उल्लेख गर्दै उनले यसले विदेशी लगानीकर्ताहरूलाई अझ विश्वासिलो वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे । 

सो अवसरमा राजदूत प्रो. अनिल सुकलालले दक्षिण अफ्रिका र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ आफू प्रतिवद्ध रहेको बताए । उनले विशेष गरेर पर्यटन क्षेत्रमा दुवै देशबीच सहयोगको ठूलो सम्भावना रहेको उल्लेख गरे । “पर्यटन यस्तो क्षेत्र हो जहाँ दक्षिण अफ्रिका र नेपालले सहकार्य गरेर उल्लेखनीय काम गर्न सक्छौं । दक्षिण अफ्रिकाको वन्यजन्तु पर्यटनजस्तै नेपालको भू–परिवेश, जैविक विविधता र सांस्कृतिक सम्पदा पनि विशिष्ट छन् । हामीले हातेमालो गरेर दुवै देशको पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।” उनले भने। 

हाल नेपालले दक्षिण अफ्रिकाबाट अन्न, फलफूल, पेय पदार्थ र मेसिनरी आयात गर्दै आएको छ भने नेपालबाट निर्यात हुने वस्तुमा कार्पेट, तयारी कपडा र फलामजन्य सामग्रीहरू पर्दछन् । यो भेटवार्ताले नेपाल–दक्षिण अफ्रिका सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सहयोग गर्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् । भेटवार्ताका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपालका लागि दक्षिण अफ्रिकाका महावाणिज्यदूत प्रदीप कुमार श्रेष्ठको पनि सहभागिता थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया