Nepal Life

सिन्धु विकास बैंकको नाफामा २८७ प्रतिशतको उछाल, इम्पेरिमेन्ट रिभर्सले दियो टेवा

NMB Bank
  • BFIS News
  • 2025 Jul 22 12:30
सिन्धु विकास बैंकको नाफामा २८७ प्रतिशतको उछाल, इम्पेरिमेन्ट रिभर्सले दियो टेवा
United Ajod

काठमाडौं, साउन ६ —  सिन्धु विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८७.६० प्रतिशतले बढी हो।

Shikhar
Nepal Life
NIMB

अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको अवस्थामा पनि खराब कर्जा न्यूनीकरण भई इम्पेरमेन्ट चार्ज रिभर्स भएकोले बैंकको नाफा उल्लेख्य रुपमा वृद्धि भएको हो।

सञ्चालन मुनाफा बढ्यो

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ३४.५३ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशतले घटेको छ। तर यस्तै अवस्थामा पनि बैंकको सञ्चालन मुनाफा भने ४१७.३९ प्रतिशतले उकालो लागेको छ।

खराब कर्जा न्यूनीकरण बैंकको समग्र वित्तीय सुधारको संकेत दिन्छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ। यसकै प्रतिफलस्वरूप बैंकले १७ करोड ९० लाख रुपैयाँको इम्पेरमेन्ट चार्ज रिभर्स गरेको जनाएको छ।

ईपीएसमा उल्लेख्य सुधार

खुद नाफाको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) समेत उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा ईपीएस १५ रुपैयाँ ६९ पैसाले बढेर २१ रुपैयाँ १५ पैसामा पुगेको छ। यस अवधिसम्ममा बैंकको मूल्य/आम्दानी अनुपात (P/E Ratio) ४०.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ७० पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ। यद्यपि, जगेडा कोष भने अझै ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। पछिल्लो एक वर्षको अवधिमा बैंकको निक्षेप ३.५८ प्रतिशतले र कर्जा प्रवाह ९.३४ प्रतिशतले घटेको देखिएको छ। सिन्धु विकास बैंकको नाफामा देखिएको यो सुधारले बैंकले जोखिम व्यवस्थापनमा सुधार ल्याएको संकेत गर्छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया