Nepal Life

कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताले कहिले पाउँछन् पैसा फिर्ता ?

NMB Bank
  • BFIS News
  • 2025 Aug 04 15:08
कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताले कहिले पाउँछन् पैसा फिर्ता ?
United Ajod

काठमाडौं, साउन १९।  नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेसँगै सो बैंकमा निक्षेप गरेका बचतकर्ताहरुको पैसा फिर्ता हुने विषयमा चासो बढेको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले २०७९ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै यसको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ८६ अनुसार यस्तो अवस्थामा राष्ट्र बैंकले स्वयं वा अन्य निकायमार्फत व्यवस्थापन गर्न सक्छ।

यस आधारमा राष्ट्र बैंकले बैंकको सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि एक व्यवस्थापन समिति गठन गरेको छ। मूल्यांकनको निष्कर्षका आधारमा बैंकलाई पुनर्संरचना, गाभ्ने वा खारेज गर्ने निर्णय गरिनेछ।

बचतकर्ताको रकम के हुन्छ ?

राष्ट्र बैंकका अनुसार बैंक समस्याग्रस्त घोषित भए पनि बचतकर्ताको पैसा सुरक्षित रहन्छ। निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ अनुसार प्रत्येक बचतकर्ताको तीन लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गरिन्छ। यदि बैंक खारेज भयो भने पनि कोषबाट उक्त सीमा भित्रको रकम फिर्ता पाइन्छ। त्यसभन्दा माथिको रकम भने बैंकको सम्पत्ति बिक्रीबाट प्राप्त आम्दानीका आधारमा मात्र फिर्ता गरिनेछ।

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार बचतकर्ताले आत्तिनुपर्ने अवस्था छैन। उनले भने, "बचतकर्ताको पैसा फिर्ता भइरहेको छ। अहिले पनि आवश्यकता अनुसार केही मात्रामा रकम फिर्ता दिइँदैछ।"

पण्डितका अनुसार बैंकको मुद्दा टुंगो नलाग्दासम्म बैंक राष्ट्र बैंककै अधिनमा रहनेछ। बैंकको बचत खातामा १ अर्ब ५५ करोड १९ लाख रुपैयाँ रहेको छ भने कुल निक्षेप रकम ४ अर्ब ६४ करोड ३१ लाख छ। बचतकर्ताको संख्या १ लाख ६३ हजार ९२ र ऋणीको संख्या १ हजार १५६ रहेको छ।

प्राथमिकता साना बचतकर्तालाई

राष्ट्र बैंकको व्यवस्थापन समूहले साना र व्यक्तिगत खाताधारकलाई पहिलो प्राथमिकतामा राखी पैसा फिर्ता गर्ने जनाएको छ। बैंकसँग तरलता नभए पनि कर्जा असुली र सम्पत्ति बिक्रीबाट रकम जुटाएर निक्षेप फिर्ता गरिने नीति लिइएको छ।

बैंकको आर्थिक अवस्था

कर्णाली डेभलपमेन्ट बैंकको हालसम्मको कूल पुँजी ५० करोड २८ लाख रुपैयाँ छ। सञ्चित घाटा १ अर्ब ७६ करोड १९ लाख ५० हजार पुगेको छ भने निष्क्रिय कर्जा ४१ प्रतिशत रहेको छ। बैंकले वितरण गरेको कुल कर्जा २ अर्ब ९७ करोड ७६ लाख छ।

समस्याग्रस्त भएका अन्य संस्था

राष्ट्र बैंकका अनुसार हालसम्म करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ। क्रिस्टल फाइनान्स, नेपाल सेयर मार्केट्स, कुवेर मर्चेन्ट, जनरल फाइनान्स, नेपाल फाइनान्स, युनाइटेड फाइनान्स, सुपर लघुवित्तलगायतका संस्था यसमा पर्छन्।

यस घटनाले बचतकर्तामात्र होइन, समग्र बैंकिङ प्रणालीको सुशासन, नियामकको प्रभावकारिता र वित्तीय स्थायित्वमाथि पनि गम्भीर प्रश्न उठाएको विश्लेषणकर्ताहरू बताउँछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया