हिमालयन बैंकको नाफा २२.१५ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ पुग्यो, शेयरधनीले लाभांश पाउन वर्षदिन कुर्नु पर्ने
- BFIS News
- 2025 Aug 12 11:56
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रुपमा वृद्धि भएको छ।
गत वर्ष १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्ष १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यससँगै बैंकको नाफा २२.१५ प्रतिशतले वृद्धि भएको छ।
हालसालैको समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६०.९८ प्रतिशतले घटेको छ। त्यसैगरी, कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशतले कमी आएको छ। यद्यपि, इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेकोले बैंकको सञ्चालन मुनाफा ८८.४१ प्रतिशतले वृद्धि भएको छ। यही कारणले खुद नाफामा पनि उल्लेख्य वृद्धि भएको हो।
बैंकको हालको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यद्यपि, बैंकको वितरणयोग्य मुनाफा भने ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ। त्यसअनुसार, वितरणयोग्य प्रतिशेयर आम्दानी पनि ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक देखिएको छ।
नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी (EPS) पनि सुधार भएको छ। समीक्षा अवधिमा EPS १ रुपैयाँ २७ पैसा वृद्धि भएर ६ रुपैयाँ ९८ पैसा पुगेको छ। त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात (P/E ratio) ३३.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको विवरणमा उल्लेख छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया