जानकी फाइनान्स एकै पटक दुई वर्षको साधारणसभा गर्ने तयारीमा, रिकभरी सुरु: ६ महिनामा खराव कर्जा सुधार हुँदै
- BFIS News
- 2025 Aug 27 14:06
काठमाडौं, भदौ ११ गते। जानकी फाइनान्स लिमिटेडले दुई वर्षको साधारणसभा एकै पटक गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०७८/७९ यता लगातार दुई वर्ष २०७९/८० र २०८०/८१ को साधारणसभा गर्न नसकेको फाइनान्सले अब दुबै वर्षको साधारणसभा एकै पटक गर्ने योजना बनाएको हो।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश कुमार शर्माका अनुसार २०७९/८० को लेखापरीक्षण सम्पन्न भइसकेको छ भने २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरिएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि दुई वर्षको साधारणसभा एकै पटक आयोजना गरिने उनले जानकारी दिए।
राष्ट्र बैंकको सूक्ष्म निगरानी
फाइनान्सको खराब कर्जा अहिले ४८.६१ प्रतिशत पुगेको छ, जसका कारण नेपाल राष्ट्र बैंकले संस्था सूक्ष्म निगरानीमा राखेको छ। राष्ट्र बैंकले एपिआई (API) प्रणालीमार्फत वित्तीय अवस्थाको स्थलगत अवलोकन गरिरहेको छ भने बेलाबेलामा फोनमार्फत कर्जा रिकभरीको स्थिति पनि बुझ्ने गरेको सीईओ शर्माले बताए।
उनका अनुसार पछिल्लो समय कर्जा रिकभरीमा सुधार देखिएको छ। “हाम्रो ठूला ऋणीहरूमध्ये केहीले रकम फिर्ता गर्न थालेका छन्। एक २० करोडको कर्जाबाट ७ करोड उठिसकेको छ,” उनले भने। “विगत दुई–तीन महिनामा कर्जा उठाउने गति बढेको छ।”
शर्माका अनुसार फाइनान्सको अधिकांश कर्जा सुरक्षित धितोको आधारमा दिइएको छ, जसका कारण ऋणीहरू अझै पनि सम्पर्कमा छन् र रकम फिर्ता गर्न प्रयासरत छन्। उनले थपे 'हामीले एक लाख कर्जा दिदा ६ लाखको धितो लिएका छौ यसले गर्दा पनि ऋणी स्वयं निरन्तर सम्पर्कमा हुनुहुन्छ।'
आर्थिक मन्दी र क्षेत्रीय चुनौती
शर्माले कोभिड–१९ पछिको आर्थिक मन्दीले केवल जानकी फाइनान्स मात्र होइन, सम्पूर्ण मधेश प्रदेशका वित्तीय संस्थाहरू प्रभावित भएको बताए। विशेष गरी जग्गा बिक्री नभएका कारण ऋणीहरूले कर्जा तिर्न नसकेको उनको भनाइ छ।
“जग्गा कारोबारमा चहिपहल भएमा रिकभरी सहज हुन्छ,” उनले बताए। “ग्राहक आफैंले पनि जग्गा बिक्रीका लागि सल्लाह लिन हामीकहाँ आउने गरेका छन्।”
आर्थिक अवस्था र भविष्यको योजना
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म फाइनान्सको कर्जा लगानी २ अर्ब ६५ करोड र निक्षेप संकलन ३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी १६ करोड ६७ लाख रहे पनि खराब कर्जाका कारण २१ करोड ८१ लाख रुपैयाँ प्रोभिजनिङ गर्नु परेपछि संस्था झण्डै २० करोड घाटामा गयो।
फाइनान्सका लागि अहिले पनि ३०/४० करोड बराबरको कर्जा चुनौतीपूर्ण रहेको शर्माको भनाइ छ। उनी भन्छन्, “हामीलाई रिकभरीमा अझै ३–४ महिना लाग्न सक्छ। तर एक वर्षभित्र राम्रो नतिजा देखाउने हाम्रो लक्ष्य छ।”
मर्जर र हकप्रद शेयर
खराब कर्जाको व्यवस्थापन गर्न पूँजीकोष अनुपात सुधार्नुपर्ने आवश्यकता रहेको फाइनान्सले हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ। यदि राष्ट्र बैंकले अनुमति नदिए मर्जरतर्फ अघि बढ्ने अवस्था रहेको शर्माले बताए। फाइनान्सका लागि व्यवसाय विस्तार गर्न थप पूँजी चाहिन्छ। फाइनान्सले केन्द्रिय कार्यालय सहित ७ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ।
२०७८ साउन १३ गते सम्पन्न भएको २६ औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिलाई मर्जरको अधिकार प्रदान गरिएको थियो। तर, हालसम्म मर्जर प्रयास सफल हुन सकेको छैन। संस्थापक शेयरधनीहरू विकास बैंकहरूसँग मर्जरको पक्षमा देखिए पनि बाणिज्य बैंकसँग मर्जर गर्दा मूल्यांकन नपाउने भन्दै चासो देखाएका छैनन्।
वर्तमानमा वित्तीय सूचकहरू कमजोर देखिए पनि जानकी फाइनान्स अझै निक्षेपकर्ताको विश्वास कायम राख्न सफल भएको छ। कर्जाको क्षेत्रमा भने संस्थालाई अझै सुधारको खाँचो छ। राष्ट्र बैंकको शुक्ष्म निगरानी, संस्थाको प्रयास र बजारको अवस्था सुधार हुँदै गएमा जानकी फाइनान्सले निकट भविष्यमा आर्थिक स्थितिमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया