अमेरिकामा प्रहरी दमनविरुद्ध नेपालीहरूको विशाल प्रदर्शन
- BFIS News
- 2025 Sep 09 10:36
काठमाडौं, भदौ २४ । भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध नेपालमा भएको आन्दोलनका क्रममा मारिएका १९ विद्यार्थीको विरोधमा अमेरिकाका विभिन्न शहरमा रहेका नेपालीहरूले विशाल प्रदर्शन गरेका छन्।
पत्रकार विकासराज न्यौपानेका अनुसार, टेक्सास राज्यको डालसमा मात्र करिब पाँच हजार नेपाली भेला भएर श्रद्धाञ्जली सभा तथा विरोध प्रदर्शन गरेका थिए। डालसस्थित पशुपतिनाथ मन्दिर र बौद्ध विहारमा सोमबार दिउँसोदेखि रातीसम्म नेपाली समुदायले दमनको विरोध गर्दै दिवंगत विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
यसैगरी, न्युयोर्कको ज्याक्सन हाइटमा हजारौं नेपालीले मैनबत्ती प्रज्वलन गर्दै ‘स्टप करप्सन’, ‘ह्युमन राइट्स भायोलेटेड’, ‘जनता मार्न पाइँदैन’, ‘नेपालका युवाको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘जेनजी, वी स्ट्यान्ड विथ यु’ भन्ने प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।
मेरिल्यान्डको बाल्टिमोरमा समेत हजारौं नेपाली एकत्रित भई भ्रष्टाचार र सरकारी दमनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले गाउँ–गाउँबाट उठ भन्ने गीत गाउँदै नेपालको झण्डाको आकारमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
त्यस्तै, बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको प्राङ्गणमा समेत नेपाली समुदायले भेला भई दिवंगत विद्यार्थीलाई श्रद्धाञ्जली दिँदै सरकारको विरोधमा आवाज उठाएको पत्रकार न्यौपानेले जानकारी दिएका छन्।
अमेरिकाका अन्य शहरहरूमा पनि नेपाली समुदायले स्वस्फूर्त रूपमा सहभागी भई दमनको विरोध र मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)



प्रतिक्रिया