Nepal Life

बालेन शाहको अपिल: "देश ऐतिहासिक मोडमा छ, धैर्य राख्नुहोस्" सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Sep 11 07:16
बालेन शाहको अपिल: "देश ऐतिहासिक मोडमा छ, धैर्य राख्नुहोस्" सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव
United Ajod

काठमाडौं, भदौ २६ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज एक सार्वजनिक अपिलमार्फत देश अहिले इतिहासमै नभएको नयाँ मोडमा पुगेको बताएका छन्। हालैको राजनीतिक परिदृश्यमा जनतामा देखिएको चिन्ता र अन्योलताबीच उनले सबै नेपालीलाई धैर्य राख्न आग्रह गरेका छन्।

Shikhar
Nepal Life
NIMB

"प्रिय जेन-जि तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ," शाहले भने, "तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।"

उनले वर्तमान अवस्थामा देश अन्तरिम सरकारको चरणमा प्रवेश गर्न लागेको बताउँदै त्यस सरकारको प्रमुख उद्देश्य नयाँ निर्वाचन गराउने र देशलाई नयाँ जनादेशमा लैजाने रहेको स्पष्ट पारे। उनले आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाममा अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरिएको समर्थनमा पूर्ण समर्थन रहेको बताए।

"पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई म हृदयदेखि सम्मान गर्न चाहन्छु," शाहले भने।

उनले वर्तमानमा नेतृत्वका लागि अगाडि बढिरहेका युवाहरूप्रति पनि सम्मान व्यक्त गर्दै भने, "तपाईँहरूको जोश, सोच र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै, कृपया हतार नगर्नु होला।"

अन्त्यमा, उनले राष्ट्रपतिको ध्यान समेत आकृष्ट गराउँदै, जेन-जि पुस्ताले ल्याएको ऐतिहासिक राजनीतिक चेतना र आन्दोलनलाई सम्मान गर्दै, अविलम्ब संसद विघटन र अन्तरिम सरकारको गठनको माग गरेका छन्।

"सम्माननीय राष्ट्रपति ज्यु, Gen Z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नुहोस्," उनले आग्रह गरे।

शाहको यो अपिल देशभर व्यापक रूपमा चर्चाको विषय बनेको छ। राजनीतिक विश्लेषकहरूले यसलाई वर्तमान राजनीतिक गतिरोध समाधान गर्न सकारात्मक कदमको रूपमा हेरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया