बालेनको समर्थनमा जेनजीले नयाँ दल गठन गर्ने सम्भावना
- BFIS News
- 2025 Sep 18 09:03
काठमाडौं । हालै सम्पन्न जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालेर नयाँ चुनावको मार्ग प्रशस्त गरेको छ। तर आन्दोलनको मूल नेतृत्व गर्ने जेनजी पुस्ता भने आगामी चुनावपछिको राजनीतिक परिदृश्यबारे अनिश्चिततामा छ।
होटल म्यानेजमेन्ट पढिरहेका २२ वर्षीय विद्यार्थी राज खड्का भन्छन्, “६ महिनाभित्र चुनाव हुन्छ भनिएको छ, तर धेरैसँग मतदाता परिचयपत्र नै छैन। त्यसैले हामी चुनावमा पछि पर्ला कि वा पुरानै दलहरु फर्किएलान् भन्ने डर छ।”
जेनजी कार्यकर्ताको बुझाइमा पुराना दलका नेताहरु अझै नेतृत्व छाड्ने मनस्थितिमा छैनन्। एमालेमा केपी शर्मा ओली, कांग्रेसमा शेरबहादुर देउवा र माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ यथावत छन्। नयाँ अनुहारको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत आन्तरिक विवादमा फसेको छ।
यसबीच, पुराना दलहरुले केही जेनजी नेताहरुलाई पार्टीमा ल्याउने प्रस्ताव अघि सारेको चर्चा छ। तर जेनजी अगुवाहरुका अनुसार, ती दलका स्वार्थ बुझिएको र उनीहरुप्रति विश्वास गर्न नसकिने अवस्था छ।
युवाहरुको ध्यान अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) तर्फ केन्द्रित छ। जेनजी पुस्तामाझ लोकप्रिय देखिएका बालेनलाई सम्भावित नयाँ दलको नेतृत्व गर्ने व्यक्तिका रुपमा हेरिएको छ। एक जेनजी अगुवाले भने, “हामीलाई कांग्रेस, एमाले, माओवादीले आफूसँग आउन आग्रह गरेका छन्, तर उनीहरुको स्वार्थ बुझिँदैन। हामी नयाँ पुस्ताको माग पूरा गर्ने नेतृत्व खोज्दैछौं।”
जेनजी आन्दोलनमा सक्रिय युवा बब्लु गुप्ता भन्छन्, “हामीलाई को मन्त्री वा प्रधानमन्त्री हुन्छ भन्नेमा चासो छैन। हाम्रो स्पष्ट माग भनेको भ्रष्टाचार अन्त्य हो र युवाले स्वदेशमै बस्ने वातावरण पाउनु हो।” उनका अनुसार, नयाँ पुस्ताको माग सम्बोधन गर्ने गरी नयाँ दल गठनबारे छलफल सुरु भइसकेको छ।
तर बालेनले नयाँ दल खोल्ने वा नेतृत्व गर्नेबारे प्रष्ट सन्देश दिएका छैनन्। आन्दोलनकै क्रममा उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव भए पनि उनले मौनता साधेका थिए। उनले संसद् विघटन नगरी वार्तामा बस्नुपर्ने आह्वान मात्र गरेका थिए।
एक जेनजी अगुवाले भने, “बालेन हाम्रो पुस्ताको नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण हुन्। त्यसैले हामीले उहाँलाई अगाडि आउन आग्रह गरेका थियौं, तर उहाँले स्पष्ट सन्देश दिनुभएन।” त्यसपछि नै सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन प्रस्ताव अघि बढाइएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











.jpeg)


प्रतिक्रिया