Nepal Life

१४ वर्षदेखि अलपत्र कन्काई पुलको निरीक्षणमा मन्त्री घिसिङ, छिट्टै ठोस निर्णय हुने

NMB Bank
  • BFIS News
  • 2025 Oct 12 15:13
१४ वर्षदेखि अलपत्र कन्काई पुलको निरीक्षणमा मन्त्री घिसिङ, छिट्टै ठोस निर्णय हुने
United Ajod

काठमाडौं। हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल १४ वर्षदेखि अधुरो रहेको अवस्थामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरेका छन्।

Shikhar
Nepal Life
NIMB

उनले पुल निर्माणको प्रगति अवस्थाबारे जानकारी लिँदै स्थानीयबासीसँग छलफलसमेत गरेका छन्।

करिब ७२३ मिटर लम्बाइ भएको उक्त पक्की पुल डिजाइन एण्ड बिल्ड मोडेलमा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८ मा पप्पु–महादेवखिम्ती संयुक्त उपक्रम (जेभी) सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। तर, हालसम्म पुलको भौतिक तथा वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्रै पुगेको छ।

मन्त्री घिसिङले लामो समयदेखि पुल अलपत्र पारिएकोमा असन्तुष्टि जनाउँदै अब यसको विस्तृत अध्ययन गरी छिट्टै ठोस निर्णय लिने बताएका छन्। उनले भने, “पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ। ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने कि अन्य विकल्प खोज्ने भन्ने विषयमा तत्काल निर्णय लिनेछौं। जनजीविकासँग जोडिएको रणनीतिक महत्वको यो पुललाई यथास्थितिमा राख्न सकिँदैन, अब छिट्टै निकास दिन्छौं।”

स्थानीय बासिन्दाले पुल निर्माण ढिलो हुँदा आवागमनमा असहजता, व्यापार–व्यवसायमा गिरावट र पर्यटन प्रवर्द्धनमा असर परेको गुनासो गर्दै पुल तत्काल सम्पन्न गर्न माग गरेका छन्।

निर्माण व्यवसायीले २०७६ सालसम्म केही काम अगाडि बढाए पनि प्राविधिक त्रुटी देखिएपछि परीक्षण गरिएको थियो। त्यसपछि केही सुधारका काम भए पनि ठेक्का सम्झौताकै म्याद २०८० सालमा सकिएको छ। पछिल्लो सार्वजनिक खरिद नियमावली संशोधन अनुसार ठेकेदारले म्याद थपका लागि निवेदन दिएको हुलाकी राजमार्ग योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए।

उनका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा पूरा भइसकेका छन्। बाँकी ११ मध्ये २ वटामा गर्डर हालिएको, ६ वटाको जग हालिएको र ३ वटाको जग हाल्न बाँकी रहेको छ।

यसै क्रममा, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका–२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरेका छन्। बाढीका कारण उक्त पुल भाँचिएपछि उनले प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन निर्देशन दिएका छन्।

मन्त्री घिसिङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, र झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलगायत अधिकारीहरूको टोली निरीक्षणमा सहभागी थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया