Nepal Life

धितोपत्र बोर्डमा लगानीकर्ताको घेराउपछि प्रहरीद्वारा रेस्क्यू, सुधार कार्यान्वयनमा अघि बढेको बोर्डको स्पष्टिकरण

NMB Bank
  • BFIS News
  • 2025 Oct 13 05:41
धितोपत्र बोर्डमा लगानीकर्ताको घेराउपछि प्रहरीद्वारा रेस्क्यू, सुधार कार्यान्वयनमा अघि बढेको बोर्डको स्पष्टिकरण
United Ajod

काठमाडौं । पुँजी बजार सुधारका माग राख्दै आन्दोलित लगानीकर्ताले नेपाल धितोपत्र बोर्डका सञ्चालकहरूलाई घेराउ गरेपछि प्रहरीले राति उनीहरूलाई रेस्क्यू गरेको छ। आइतबार दिउँसो करिब तीन बजेदेखि लगानीकर्ताले बोर्ड कार्यालयमा सञ्चालकहरूलाई घेरेका थिए भने प्रहरीले राति करिब १० बजे आएर आफ्नै सवारीमा राखी सुरक्षित स्थानमा पुर्‍याएको हो।

Shikhar
Nepal Life
NIMB

लगानीकर्ताले सञ्चालकहरूलाई कार्यालय बाहिर जान नदिएपछि अवस्था तनावपूर्ण बनेको थियो। उनीहरूले “पुँजी बजार सुधार सुझाव कार्यदल” द्वारा अर्थमन्त्रीस्तरमा पेश गरिएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गर्दै बोर्ड कार्यालय घेराउ गरेका थिए।

यसैबीच, नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले उठाएका विषयहरू कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै स्पष्टिकरण दिएको छ। बोर्डले विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयको मिति २०८२ असोज ३ गतेको निर्णय अनुसार गठित “पुँजी बजार सुधार सुझाव कार्यदल” ले असोज ९ गते पेश गरेको प्रतिवेदनमा उल्लिखित तत्काल कार्यान्वयन गर्नुपर्ने क्रियाकलापहरू चरणबद्ध रूपमा अघि बढिरहेको जनाएको छ।

बोर्डले तीन महिनाभित्र पूरा गर्नुपर्ने कार्यहरूका लागि कार्ययोजना तयार गरी कार्यान्वयन सुरु भएको र सो बमोजिम काम सम्पन्न गरिने बताएको छ। साथै, लगानीकर्ताले बोर्डमा पेश गरेका विभिन्न सुझाव र मागका विषयमा प्रक्रिया अघि बढाउने विषयमा दिएको तीन महिनाको म्याद कम भएको भन्दै आलोचना गर्दै तत्काल कार्यान्वयन गर्न दवाव दिएका छन्। 

आइतबार साँझ धितोपत्र बोर्डको बैठक बसेको थियो। बैठकले नयाँ नियुक्त सञ्चालकहरूको स्वागत गरे पनि, कर्मचारीहरूले गरिरहेको आन्दोलन र अर्थ मन्त्रालयले पठाएको निर्देशनबारे कुनै ठोस निर्णय गरेन। बैठकमा “अघिल्ला निर्णयहरू हेरेर मात्र अर्को बैठकमा निर्णय लिने” निष्कर्ष निकालिएको थियो।

बैठक सकिएपछि सञ्चालकहरू बाहिर निस्कन लाग्दा लगानीकर्ताले उनीहरूलाई घेराउ गरे। लगानीकर्ताले कर्मचारी आन्दोलनको विषयमा चासो नराखी कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरे।

लगानीकर्ताको दबाबपछि राति प्रहरी पुगेको थियो। प्रहरीले सञ्चालकहरूलाई सुरक्षित रूपमा बाहिर निकालेसँगै लगानीकर्ताले आफ्नो आन्दोलन स्थगित गरेको घोषणा गरेका छन्।

यस घटनाले पुँजी बजार सुधारका लागि लगानीकर्ताको असन्तुष्टि गहिरो भएको र बोर्ड र लगानीकर्ताबीच विश्वास पुनःस्थापनाका लागि तत्काल ठोस कदम आवश्यक रहेको स्पष्ट भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया