Nepal Life

लुक्लादेखि नाम्चेसम्म हवाई र स्थल यातायात पूर्ण रूपमा प्रभावित

NMB Bank
  • BFIS News
  • 2025 Nov 01 18:51
लुक्लादेखि नाम्चेसम्म हवाई र स्थल यातायात पूर्ण रूपमा प्रभावित
United Ajod

सोलुखुम्बु, कात्तिक १५ गते। लगातारको प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प भएको छ। निरन्तर सिमसिमे वर्षा र बाक्लो कुहिरोका कारण विमान मात्र होइन, हेलिकप्टरको उडान पनि रोकिएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार बिहीबारदेखि एकपटक पनि उडान हुन सकेको छैन। “भिजिबिलिटी अत्यन्त न्यून भएकाले हवाई यातायात पूर्ण रूपमा बन्द छ,” उहाँले बताउनुभयो। उनका अनुसार यो याममा दैनिक औसत ६० भन्दा बढी उडान हुने गरे पनि अहिले सबै स्थगित भएका छन्।

उडान रोकिँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन्। तारा एयरलाइन्सका लुक्ला इञ्चार्ज अमृत मगरका अनुसार करिब १,५०० पर्यटक लुक्लामै अड्किएका छन्। “सबै होटल फुल छन्, नयाँ पाहुनाका लागि कोठा पाउन मुस्किल भएको छ,” उहाँले भन्नुभयो।

स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार होटलका लबीमा समेत पर्यटक बसाल्नुपरेको छ। फ्रान्सकी पर्यटक ज्युली मारीले भनिन्, “हामी सगरमाथा आधारशिविरबाट तीन दिनअघि फर्किएका हौँ, तर हवाई उडान नहुँदा लुक्लामै रोकिएका छौँ।”

नाम्चे बजारमा पनि भीड

लुक्ला मात्र होइन, नाम्चे बजारका होटलहरू पनि पर्यटकले खचाखच भरिएका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार नाम्चेमै करिब १,२०० पर्यटक रोकिएका छन्। “लगातारको झरी र माथिल्लो क्षेत्रमा हिउँ परेकाले माथिबाट फर्किएका पर्यटक नाम्चेमै अड्किएका छन्,” उहाँले बताउनुभयो।

स्थानीय टेक राईका अनुसार नाम्चेमा चार दिनदेखि घाम लागेको छैन। “पाहुनाहरू पुस्तक पढ्दै, संगीत सुन्दै समय बिताइरहेका छन्,” उहाँले बताए।

स्थलमार्ग पनि कठिन

हवाई उडान बन्द भएपछि केही पर्यटक स्थलमार्ग हुँदै सल्लेरीबाट काठमाडौँ फर्किने प्रयासमा छन्। तर त्यो बाटो पनि सजिलो छैन।
पर्यटन व्यवसायी बल दर्नालका अनुसार सोलुखुम्बु–काठमाडौँ सडकखण्डका धेरै भागमा पहिरो र हिलोका कारण आवागमन अवरुद्ध भएको छ। विशेष गरी विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली क्षेत्रमा भारी वर्षाले सवारीसाधन घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था आएको छ।

अझै केही दिन उडान नहुने संकेत

काठमाडौँस्थित जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन अझै सक्रिय छ। “कोशी प्रदेशसहितका हिमाली र पहाडी क्षेत्रमा अझै दुईदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना छ,” उहाँले बताउनुभयो। “त्यसपछि मात्र मौसम विस्तारै खुल्ने अनुमान गरिएको छ।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया