Nepal Life

बाँकेको राप्तीसोनारीमा पहिलोपटक मोतियाबिन्दु शल्यक्रिया, १९३ जनाको आँखा उपचार

NMB Bank
  • BFIS News
  • 2025 Nov 05 15:23
बाँकेको राप्तीसोनारीमा पहिलोपटक मोतियाबिन्दु शल्यक्रिया, १९३ जनाको आँखा उपचार
United Ajod

नेपालगञ्ज, कात्तिक १९ गते।बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकाको सामुदायिक अस्पतालमा पहिलोपटक आँखाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ। गाउँमै यस्तो शल्यक्रिया सेवा उपलब्ध भएपछि स्थानीयहरूमा खुशी र राहतको माहोल छ।

Shikhar
Nepal Life
NIMB

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरमा १९३ जनाको मोतियाबिन्दु र ४ जनाको आँखामा मासु पलाएको (प्टेरिजियम) शल्यक्रिया गरिएको हो।

“गाउँकै अस्पतालमा उपचार सुविधा पाएका कारण ठूलो संख्यामा स्थानीयले आँखा परीक्षण गराएका छन्,” अध्यक्ष पौडेलले भन्नुभयो, “आर्थिक कारणले वर्षौँदेखि अन्धकारमा बाँचिरहेका नागरिकका लागि यो शिविरले ठूलो राहत दिएको छ।”

गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारूका अनुसार लामो समयदेखि उपचार नपाएर पीडामा रहेका नागरिकका लागि यो पहल ऐतिहासिक र प्रभावकारी बनेको छ।
“पहिलो पटक सबै वडामा आँखा शल्यक्रिया शिविर सञ्चालन गर्नु पालिकाको स्वास्थ्य प्राथमिकताको स्पष्ट प्रमाण हो,” उहाँले बताउनुभयो।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार महिलाहरूमा आँखा रोग बढी देखिएकाले उनीहरूलाई विशेष प्राथमिकताका साथ उपचार गरिएको थियो। उहाँले निःशुल्क आँखा परीक्षण कार्यक्रम गाउँपालिकाका सबै नौ वडामा सञ्चालन गरिएको जानकारी दिनुभयो।

मोतियाबिन्दु र अन्य आँखासम्बन्धी समस्या भएका बिरामीको पहिचानपछि स्थानीय अस्पतालमै शल्यक्रिया गरिएको थियो। उक्त शिविर नेपाल आँखा कार्यक्रम र काठमाडौंको तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानकी डा. रेखा पुन, डा. नम्रता, र विदेशी विशेषज्ञ डा. ओराकसहितको टोलीले उपचार सेवा प्रदान गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया