Nepal Life

कतारमा जारी विश्व शिखर सम्मेलनमा राष्ट्रपति पौडेलको सहभागिता

NMB Bank
  • BFIS News
  • 2025 Nov 05 22:45
कतारमा जारी विश्व शिखर सम्मेलनमा राष्ट्रपति पौडेलको सहभागिता
United Ajod

कतार (दोहा), कात्तिक १९ गते। कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यहाँस्थित कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्रहालयको अवलोकन गर्नुभयो।

Shikhar
Nepal Life
NIMB

सो अवसरमा राष्ट्रपति पौडेललाई संग्रहालयका अधिकारीहरूले स्वागत गर्दै संग्रहालयको इतिहास, संरचना र प्रदर्शनी सामग्रीबारे विस्तृत जानकारी गराएका थिए, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेल सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार आइपुग्नुभएको हो। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुभएको हो।

मङ्गलबारको मुख्य सत्रमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सुरु गरिएको उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। साथै, उहाँले सामाजिक विकासका तीन प्रमुख स्तम्भ—गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी, र सबैका लागि मर्यादित काम तथा सामाजिक समावेशीकरण विषयमा केन्द्रित उच्चस्तरीय गोलमेच बैठकलाई पनि सम्बोधन गर्नुभयो।

सो अवसरमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि शिष्टाचार भेट गर्नुभएको थियो।

‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’ सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजना गरिएको थियो। यसपटकको सम्मेलनमा विश्वमा बढ्दै गएको विकास असमानता, जनसङ्ख्याको असन्तुलन, प्रविधिको प्रभाव र सामाजिक समावेशीकरणका चुनौतीबारे गहन छलफल भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घमा सदस्यता प्राप्त गरेदेखि नै नेपालले विश्व शान्ति र स्थायित्वका लागि सक्रिय भूमिका खेल्दै आएको छ। हाल नेपाल संयुक्त राष्ट्रसङ्घको *आर्थिक तथा सामाजिक परिषद् (ECOSOC)*को अध्यक्ष देशको रूपमा कार्यरत छ।

कतार भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया