सानिमा रिलायन्सकी ममता मिश्र : शिक्षणसँगै बीमामा असाधारण पहिचान बनाउन सफल
- BFIS News
- 2025 Nov 17 06:42
काठमाडौं। चितवन खैरेनीकी ममता मिश्र पेसाले शिक्षक हुन्। स्नातक तहको अध्ययन पूरा गरेपछि उनले निजी स्कुलमा वर्षौँ शिक्षण गरिन्। शिक्षणप्रति गहिरो रुची भएकी ममताको निजी स्कुलमा पढाउदा खासै आकर्षक पारिश्रमिक भने थिएन। यसै क्रममा दिदि कविता न्यौपानेको सुझावले उनको जीवनले नयाँ मोड लियो, बीमा अभिकर्ताको रूपमा।
कविताले ‘तिम्रो स्कुलमा विद्यार्थीका अभिभावकसँग राम्रो सम्बन्ध हुन्छ, अभिकर्ता पेशा तिम्रो लागि एकदमै उपयुक्त हुन्छ’ भनेर दिएको सल्लाहले उनलाई निकै छोयो। दिदिको मार्गदर्शनअनुसार उनले तत्कालीन सानिमा लाइफ इन्स्योरेन्सबाट अभिकर्ता लाइसेन्स लिइन् र अभिभावकका घर–घर धाउन थालिन्। विद्यार्थीको भविष्य सुरक्षित गर्न चाहने अभिभावकहरूलाई प्रत्यक्ष भेटेर बुझाउँदा उनका प्रस्तावहरू अस्वीकार हुने प्रश्न नै आएन। यसै सक्रियताले उनि सानिमा रिलायन्समा सबैभन्दा धेरै बीमा पोलिसी बिक्री गर्ने अभिकर्तामध्ये पर्न सफल भइन्। काम सुरु गरेको पहिलो महिनामै उनी एजेन्सी म्यानेजरमा नियुक्त भइन्।
स्नातक तहसम्म अध्ययन पूरा गरेकी ममता निजी विद्यालयमा लामो समय काम गरिन्। अहिले भने उनि एउटा सरकारी स्कुलमा पढाउदै आइरहेकी छिन्।
_1763340854.jpeg)
२०७७ देखि निरन्तर सफलताको यात्रा
अभिकर्ता बनेको पहिलो वर्षमै २०७७ मा उनी कम्पनीबाट विभिन्न अवार्ड जित्न सफल भइन्। “मैले २०७७ सालमै पहिलो एजेन्सी म्यानेजर अवार्ड पाएँ,” उनी गौरवका साथ सम्झन्छिन्। ममताको दिनचर्या व्यस्त छ। उनी महिनामा कम्तीमा ६/७ जनाको बीमा गराउँछिन्। शिक्षक भएकै कारण उनि प्रति अभिभावकको विश्वास बलियो छ।
उनमा कहिल्यै पनि ठुला ठुला बीमा गराएर कम्पनीले दिने ठुला ठुला टार्गेट पुरा गर्ने महत्वकांक्षा पलाएन। १० हजार नै प्रिमियम किन नहोस् पछ्याउन छाड्दिनन्। अभिकर्ता पेशाबाट हुने सानो सानो आम्दानीले पनि उनलाई सन्तुष्ट बनाउछ।
उनको ध्यान प्रिमियम बढाउन भन्दा पनि ‘कसरी हुन्छ धेरै परिवारले बीमा सुरक्षामा जोड दिने’ भन्नेमा हुन्छ। विद्यार्थीलाई केन्द्रमा राख्ने भएकाले उनका धेरै पोलिसी साना–साना प्रिमियमका हुन्छन्। तर, संख्यामा भने उनी कहिल्यै पछाडि परिनन्। उनका कुनै वर्षमा पनि ५० भन्दा कम पोलिसी जारी भएको अनुभव छैन।
यसले गर्दा सानिमा रिलायन्स लाइफको टाडी शाखामा उनी सधैँ दोस्रो शीर्ष बीमा अभिकर्तामा पर्छिन्। पहिलो स्थानमा हुने कल्पना विष्ट जस्तै, ममता पनि कम्पनी भित्र पुरै नेपालकै अग्र अभिकर्ताभित्र पर्छिन्।
_1763340900.jpeg)
विद्यार्थीमार्फत अभिभावकलाई जोड्ने अनौठो तरिका
ममताको काम गर्ने शैली अरु भन्दा केही फरक छ। धेरै अभिकर्ताले साथी–भाइ वा आफन्तलाई लक्षित गर्छन्। तर ममता भने विद्यार्थीमार्फत उनीहरूको अभिभावकलाई भेट्छिन्। अभिभावकमा पनि आमा बुबा दुवैलाई एकैसाथ बीमाको महत्व बुझाउँछिन्। उनी बीमालाई ‘बचत’ को रूपमा प्रस्तुत गर्छिन् “बीमा भनेको बचत हो,” उनी भन्छिन्, “पोलिसी परिपक्व हुँदा भविष्यमा छोराछोरीको उच्च शिक्षा तथा सामाजिक कार्य विवाह लगायतका अनिवार्य खर्च गर्दै पर्ने कुरामा ठूलो सहयोग हुन्छ।”
यसरी बीमाबाट प्राप्त हुने बचत मात्र होइन, भविष्यमा हुनसक्ने दुर्घटना तथा घातक रोगको कभरेज बारे पनि उनी अभिभावकलाई विस्तृतमा बताउँछिन्।
_1763340933.jpeg)
‘मेरो मुटु जीवन बीमा’ उनको सबैभन्दा मन पर्ने पोलिसी
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘मेरो मुटु जीवन बीमा’ योजना उनी अभिभावकलाई सबैभन्दा धेरै सुझाउँछिन्। अघिल्लो ग्राहकहरूसँग कहिलेकाहीँ सम्पर्क टुट्ने अन्य अभिकर्ताभन्दा फरक, ममता भने आफ्ना विद्यार्थीमार्फत निरन्तर सम्पर्कमा रहन्छिन्। त्यसैले उनी अभिकर्ता क्षेत्रमा ‘सदावहार सक्रिय’ मानिन्छिन्।
उनको सफलताको सूत्र सरल छ “सबैभन्दा पहिले म मेरा विद्यार्थीको घरमा जान्छु, आर्थिक अवस्था बुझ्छु, अनि मात्र बीमालाई बचतका रूपमा बुझाउँछु।”
विद्यार्थी र अभिभावकसँगको विश्वासकै कारण ममताले अभिकर्ता पेशालाई केवल अतिरिक्त आम्दानीका रूपमा होइन, भविष्य सुरक्षित गर्न सहयोग पुर्याउने सेवाको रूपमा बुझेकी छिन्। आज ममता मिश्र केवल एक शिक्षक वा अभिकर्ता मात्र होइनन्, उनी त्यस्ता व्यक्तिमध्ये एक हुन् जसले आफ्नो समुदायमा वित्तीय सचेतना फैलाउँदै, एक–एक परिवारको भविष्य सुरक्षित गर्ने उद्यम जारी राखेकी छिन्।
“अहिले अलिअलि गरेर गरिएको बचत भोलि गएर धेरै हुन्छ, जसले तपाईंको बच्चाको भविष्यमा ठूलो सहारा बन्छ,” ममता बताउँछिन्। अभिभावकलाई उच्च शिक्षा, विवाह तथा अन्य महत्वपूर्ण खर्चका लागि ऋण नखोज्नु पर्ने यथार्थ उदाहरणसहित बुझाएपछि धेरै परिवारहरू सजिलै कन्भिन्स हुने उनको अनुभव छ। विशेषतः उनी स्कुलमै अभिभावक भेट्न सफल नहुँदा घरघरमै पुगेर बीमा सिकाउने गर्छिन्, जसले उनको दैनिकी अत्यन्त व्यस्त तर फलदायी बनाइदिएको छ।
उनी भन्छिन्, “म कसैको घरमा एक जना मात्र हुनुहुन्छ भने बीमा गराउँदिनँ, श्रीमान–श्रीमती दुवैलाई बुझाएर मात्र प्रक्रिया अगाडि बढाउँछु।” आर्थिक विषय संवेदनशील हुने भएकाले परिवारभित्र पैसाकै कारण मनमुटाव नहोस् भन्ने उनको सोच हो। त्यही कारणले उनी स्कुल समय बाहेक पूरै समय बीमामा नै समर्पित हुन्छिन्। स्कुल सकिएपछि उनी बीमित परिवारको घरमै पुगेर बीमा पढाउँछिन् र दिनमा दुई–तीन परिवार भेट्ने लक्ष्य पूरा नगरी घर फर्किन्नन्।
_1763340972.jpeg)
उनको सफलताको सबभन्दा ठूलो आधार भने परिवारकै साथ रहेको उनी बताउँछिन्। सासु ससुरा र श्रीमानको सहयोगले उनलाई हरेक चुनौती पार गर्न सजिलो भएको उनको अनुभव छ। श्रीमान केही वर्ष जापान बसेर अहिले नेपालमै मौरी पालन व्यवसायमा छन्। बीमासम्बन्धी कुनै असहज परिस्थिति आयो भने श्रीमानले नै सहज बनाइदिने, बैठकमा लैजाने–ल्याउनेदेखि लिएर आवश्यक समाधान खोजिदिदा उनको जीवन शैली निकै सहज भएको छ।
उनले कहिल्यै पनि एमडिआरटी बन्ने वा ठूलो रकमको पोलिसी भित्र्याउने महत्त्वाकांक्षा बनाइनन्। उनी सामान्य आय भएका घरपरिवारमै बढी पुग्छिन्, यही कारणले जारी पोलिसी संख्यामा उनी सधैं अग्रस्थानमा रहन्छिन्। बीमा शुल्क आर्जनमा धेरै अगाडि नहुँदासमेत यही नै आफ्नो विशेषता भएको बताउँदै उनी भन्छिन्, “म धेरैभन्दा धेरै घर परिवारमा पुगेर विद्यार्थीहरूको बीमा गराउन चाहन्छु।” उनको लक्ष्य एक हजारभन्दा धेरै बालबालिकालाई बीमाको दायरामा ल्याउने छ, र अन्ततः जीवनकै अन्तिम पेशा नै बीमा बनाउने सोच उनले बनाइसकेकी छन्।
उनी विगत केही वर्षमा धेरै स्कुल र समुदायका बालबालिकाको बीमा गराइसकेकी छन्। यसक्रममा उनलाई विश्वास गर्ने, सम्मान गर्ने र घरमा बोलाएर चिया खान आग्रह गर्ने व्यक्तिहरूको संख्याको कमि छैन। सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीले उनलाई उत्कृष्ट अभिकर्ताका रुपमा दिने अवार्ड तथा प्रोत्साहनले अझै अभिप्रेरित गर्ने गरेको छ।
उनको बुझाइमा अभिकर्ता भनेको केवल मध्यस्थकर्ता मात्र हो तर बीमा सबै व्यक्तिका लागि अत्यावश्यक छ। “बीमाले नियमित बचत गराउँछ, र भविष्यमा पार्नुपर्ने आर्थिक भारलाई निकै सहज बनाइदिन्छ,” उनी भन्छिन्। बीमितहरू प्रायः कम्पनीभन्दा अभिकर्तालाई विश्वास गरेर बीमा गर्ने भएकाले आफूले गरेको बीमालाई देखाउँदा उनीहरू ढुक्क हुने बताउँछिन्।
उनी जुन परिवारमा जान्छिन् बीमा गराएरै फर्किने भएकाले आफूलाई अत्यन्त भाग्यमानी ठान्छिन्। आयस्रोत कमजोर हुने घरमा पनि न्यूनतम एक लाख रुपैयाँको बीमा गराउन कन्भिन्स गर्न सकिने उनको अनुभव छ। “हाम्रो समाजमा वार्षिक पाँच/छ हजार तिर्न नसक्ने त कोहि हुँदैन। त्यसैले म उहाँहरुको आयस्रोत बुझेर बचतकै लागि भए पनि यति बराबरको बीमा गर्नुपर्छ भनेर सुझाउने गर्छु।” उनी भन्छिन्।
अहिलेसम्म कसैमाथि अपेक्षा राख्नुपरेको छैन, यही कारण पनि उनी यस क्षेत्रमा सफल भएको बताउँछिन्। उनको अर्को विशेषता भनेको जारी पोलिसीहरु अन्तिमसम्म कायम राखिनु हो। उनका कुनै पनि पोलिसी ल्याप्सेस वा सरेण्डर भएको छैन।
बीमा गरिसकेपछि पनि उनी बीमितसँग नियमित सम्पर्कमा रहन्छिन्, भेटघाट गर्छिन्, नवीकरणको मिति सम्झाइदिन्छिन्। यस्तै सकारात्मक व्यवहारका कारण उनीसँग बीमा गराउन आउनेहरूको संख्या बढ्दो छ। “एक हजारभन्दा धेरैको बीमा गरेपछि पूर्ण रूपमा बीमा पेशामा समर्पित हुने छु,” उनी भन्छिन्।
आर्थिक रूपमा स्वा वलम्बी भइसकेकी उनी साधारण जीवनशैलीमा रमाउँछिन्, जसलाई सामान्य परिवारले सजिलै आत्मसात् गर्न सक्छन्। शाखाको पूर्ण सहयोग रहेको बताउँदै उनी भन्छिन्, “फुर्सद मिल्यो कि म घरदैलोमै पुगेर बीमा गराउँछु। यस यात्रामा धेरै अभिभावकहरूलाई बीमित बनाउन सकेकी छु, यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो।”
_1763341006.jpeg)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया