NIMB Header 2
Nepal Life

राजनीतिक नेतृत्वलाई यक्ष प्रश्न, भरतराज ढकाल जस्ता पात्रहरु सिफारिसको पुछारमा परुन्जेल कसरी आउला समृद्धि?

Muktinath Bank
  • अरुण सापकोटा
  • 2025 Dec 25 06:29
राजनीतिक नेतृत्वलाई यक्ष प्रश्न, भरतराज ढकाल जस्ता पात्रहरु सिफारिसको पुछारमा परुन्जेल कसरी आउला  समृद्धि?
National Life

काठमाडौं। नेपालको सात दशक लामो राजनीतिक यात्रामा व्यवस्था र पात्रहरू पटक-पटक फेरिए, तर एउटा साझा प्रश्न सधैँ अनुत्तरित रह्यो: राजनीतिक परिवर्तनले आर्थिक समृद्धि किन दिन सकेन? पछिल्लो 'जेनजी' आन्दोलनपछि मुलुकमा एउटा नयाँ बहस सुरु भएको छ, अब राजनीतिमा परम्परागत राजनीतिक अनुहार कि संस्थागत सुशासन र आर्थिक समृद्धिमा योगदान दिन सक्ने भिजनरी व्यक्तित्व ?

Shikhar
NIMB

यही सन्दर्भमा नेपाली कांग्रेस स्याङ्जाले प्रतिनिधि सभा निर्वाचनका लागि बैंकिङ र कृषि क्षेत्रका विज्ञ भरतराज ढकालको नाम सिफारिस गरेको छ । तर, उम्मेदवारको सूचीमा उनको नाम १० नम्बरमा (पुछारमा) पर्नुले कांग्रेस नेतृत्वको बुझाइमाथि एउटा यक्ष प्रश्न खडा गरेको छ, के दलहरू अझै पनि 'योगदान' लाई केवल जेल बसेको वर्षमा मात्र नाप्छन् कि देशको अर्थतन्त्रमा पुर्‍याएको योगदानलाई पनि कदर गर्छन्?

शून्यदेखि शिखरसम्म: 'नपत्याइएको' संघर्षको कथा

भरतराज ढकालको यात्रा कुनै विरासत वा सौभाग्यको उपज होइन । स्याङ्जाको एउटा सामान्य गाउँबाट सुरु भएको उनको संघर्षले देखाउँछ कि इच्छाशक्ति भए असम्भव केही छैन । जब उनले साथीहरूसँग मिलेर सहकारीबाट बैंक खोल्ने सपना देखे, तब उनलाई धेरैले पत्याएनन् । "सहकारी चलाउनेले बैंक कसरी चलाउँछ?" भन्ने व्यङ्ग्य उनले धेरै सुन्नुपर्‍यो ।

तर, उनले त्यसलाई चुनौतीका रूपमा लिए । उनले नेपालका सबै बैंकहरूको गहिरो अध्ययन गरे र एउटा जीवनमन्त्र बनाए— "कि बेस्ट (Best) हुनुपर्‍यो, बेस्ट हुन नसके बेटर (Better) हुनुपर्‍यो, त्यो पनि नसके फरक (Different) हुनुपर्‍यो"। यही 'फरक' सोचका साथ १ करोड ३० लाख पूँजीबाट सुरु भएको मुक्तिनाथ विकास बैंक आज ८ अर्बभन्दा बढी पूँजी भएको विशाल राष्ट्रिय बैंक बनेको छ । यो सफलताको पछाडि कुनै जादु थिएन, बरु एउटा बलियो 'सिस्टम' र संस्थागत सुशासन थियो ।

सहकारीबाट सुरु गरेर राष्ट्रिय स्तरको बैंक र संस्थागत कृषि मोडल निर्माणसम्मको यात्रा तय गरेका भरत ढकाल त्यस्ता पात्र हुन्; जसले भाषण होइन, प्रणाली बनाएका छन्; नाराभन्दा पहिला उत्पादनमा विश्वास गरेका छन्; र राजनीति भन्दा अगाडि अर्थतन्त्रलाई मुलुकको मेरुदण्ड ठानेका छन्।

भरतराज ढकाल त्यस्ता व्यक्ति हुन्, जसले आफ्नो सम्पूर्ण ऊर्जाशील जीवन पब्लिक लिमिटेड कम्पनीमा बिताए- सानो संस्थालाई जन्माउने, हुर्काउने र लाखौँ शेयरधनी भएको ठूलो कम्पनीमा रूपान्तरण गर्ने अनुभवसहित।

आजको अवस्थामा सरकारले कुनै निश्चित समूह वा व्यक्तिलाई मात्र केन्द्रमा राखेर नीति बनाउन सक्दैन। नीति भनेको समग्र अर्थतन्त्र, लाखौँ लगानीकर्ता र करोडौँ नागरिकसँग जोडिएको विषय हो। यही कारणले पब्लिक लिमिटेड कम्पनीमा दशकौँ बिताएका ढकालजस्ता व्यक्तित्वको अनुभव नीति निर्माणमा उपयोगी हुन सक्छ। उनीसँग कागजी सिद्धान्त मात्र होइन, व्यवहारमा अर्थतन्त्र कसरी चल्छ भन्ने प्रत्यक्ष अनुभव छ।

आजका धेरै राजनीतिक नेतृत्वले आफ्नो सम्पूर्ण जीवन राजनीतिमै बिताएका छन्। उनीहरू सत्ता समीकरण, संगठन र आन्दोलन त बुझ्छन्, तर व्यवसायिक जोखिम, लगानीको चक्र, रोजगारी सिर्जना र बजारको मनोविज्ञानको बुझाइ भने सीमित छ। ढकालको विश्लेषणमा अबको समय ‘होलटाइमर’ राजनीतिज्ञभन्दा पनि देशको अर्थतन्त्र बुझेको र त्यसलाई अगाडि बढाउन सक्ने नेतृत्वको हो।

एक समय 'ग्ल्यामरस' क्षेत्रको रुपमा पहिचान बोकेको बैंकिङ छोडेर माटो रोज्ने साहस:

एउटा सफल बैंकरका रूपमा सुख-सुविधा र 'ग्ल्यामरस' को शिखरमा हुँदाहुँदै सबै त्यागेर धुलो र हिलोको 'कृषि' रोज्नु नै ढकाललाई अरूभन्दा फरक बनाउने कडी हो। उनले बुझेका थिए— "बैंकले पैसा मात्र चलाउँछ, तर देश उत्पादनले चल्छ।" बैंकको झ्यालबाट देखिने कृत्रिम समृद्धि भन्दा खेतका गराहरूमा देखिने अभावले उनलाई बढी पिरोल्यो। किसानसँग न प्रविधि थियो, न बजारको ग्यारेन्टी। यही रिक्तता भर्न उनले २० वर्षको बैंकिङ करिअरलाई विश्राम दिएर मुक्तिनाथ कृषि कम्पनीको स्थापना गरे। यो केवल एउटा कम्पनीको सुरुवात थिएन, यो त अर्थतन्त्रको जग सुधार्न एउटा सफल भिजनरी नेतृत्वले लिएको ठुलो जोखिम थियो।

अव्यवस्थित क्षेत्रमा 'बैंकिङ अनुशासन' र इको-सिस्टम

नेपालमा कृषि क्षेत्र सबैभन्दा उपेक्षित र अव्यवस्थित छ। ढकालले यही 'अव्यवस्था' भित्र 'बैंकिङ अनुशासन' र 'इको-सिस्टम' को अवधारणा ल्याए। उनले अघि सारेका ६ खम्बाहरू— ग्राहक केन्द्रित, लक्ष्य केन्द्रित, नवीनता, व्यावसायिकता, एकता र स्थिरता— ले कृषिलाई 'केही गर्न नसक्नेले गर्ने पेसा' बाट आधुनिक उद्योगमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन्। उनको मूल मन्त्र छ: "गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा।"

उनले नेपालमा पहिलो पटक सार्वजनिक-निजी सामुदायिक साझेदारी (PPCP) मोडलको वकालत गरे। बीउदेखि बजारसम्मको 'संस्थागत मूल्य श्रृंखला' (Value Chain) नै आज कृषिबाट समृद्धि ल्याउने एकमात्र ओखती हो।

राज्यका तीन तहका लागि ढकालको 'रोडम्याप'

संसदमा पुगेर के गर्ने भन्ने कुरामा उनीसँग स्पष्ट मार्गचित्र छ:

स्थानीय सरकार: एक स्थानीय संरचना, एक कृषि परियोजना।

प्रदेश सरकार: सातै प्रदेशमा कृषि औद्योगिक आयोजनाको पहिचान।

केन्द्र सरकार: कृषि क्षेत्रको संस्थागत विकासका लागि 'एकीकृत प्राधिकरण' निर्माण।

यस्तो स्पष्ट भिजन नभएका कारण नै आज ४०-४५ प्रतिशत कृषि उत्पादन पूर्वाधार अभावले कुहिएर गइरहेको छ। यो समस्याको समाधान कागजको नीतिमा होइन, बजार बुझेको नेतृत्वमा छ।

लगानीकर्ताको मनोविज्ञान र निजी क्षेत्रको प्रतिनिधित्व

नेपालका स्थापित व्यावसायिक घरानाका व्यक्तिहरू राजनीतिमा आउनु र ढकाल जस्ता पब्लिक लिमिटेड कम्पनीका व्यवस्थापक आउनुमा तात्विक फरक छ। उनले आफ्नो ऊर्जाशील जीवन पब्लिक कम्पनीहरूमा बिताएकाले उनी कुनै निश्चित समूहको स्वार्थभन्दा माथि उठेर समग्र अर्थतन्त्र, लाखौँ शेयरधनी र करोडौँ नागरिकको हित बुझ्न सक्छन्।

उनको विश्लेषणमा "सरकार र निजी क्षेत्र बाउ-छोरा जस्तो हुनुपर्छ"। राज्यले निजी क्षेत्र प्रोत्साहित हुने नीति बनाउनुपर्छ र निजी क्षेत्रले जोखिम बहन गरेर रोजगारी सिर्जना गर्नुपर्छ।

पब्लिक कम्पनीको अनुभव: किन नीति निर्माणमा अनिवार्य?

नेपालको राजनीतिमा बिभिन्न व्यवसायिक घराना जस्ता ठूला उद्योगपतिहरूको प्रवेश भइसकेको छ । तर, भरतराज ढकाल र अन्य व्यावसायिक घरानाका पात्रहरूमा एउटा तात्विक फरक छ । ढकालले आफ्नो ऊर्जाशील जीवन 'पब्लिक लिमिटेड कम्पनी' बनाउन खर्चिएका छन्, जहाँ व्यक्तिको होइन, प्रणालीको शासन हुन्छ । लाखौँ शेयरधनीहरूको हित र पारदर्शी सुशासनमा अभ्यस्त यस्तो व्यक्तित्व नीति निर्माण तहमा पुग्दा त्यसले देशको समग्र अर्थतन्त्रलाई विधिको शासनमा बाँध्न मद्दत पुर्‍याउँछ ।

कृषि क्रान्ति: उत्पादनदेखि बजारसम्मको मार्गचित्र

नेपालको माटो र पानीलाई कसैले चोरेर लैजान सक्दैन भन्ने बुझेका ढकालले मुक्तिनाथ कृषि कम्पनी मार्फत नयाँ मोडल प्रस्तुत गरेका छन् । उनी भन्छन्, "कृषिमा ३२ वटा नीति र २० वटा ऐनको जञ्जाल छ, जसले किसानलाई थिचेको छ ।" उनको भिजन स्पष्ट छ: एकीकृत कृषि नीति: अल्मल्याउने ऐनहरू हटाएर कृषि लगानी / किसानमैत्री एउटै नीति ल्याउने ।

संरचनात्मक सुधार: ४०-४५ प्रतिशत कृषि उत्पादन पूर्वाधार अभावले खेर गइरहेको छ । उनले कोल्ड चेम्बर, प्रोसेसिङ र स्टोरेज सहितको आधुनिक बजार संरचना बनाउनुपर्ने वकालत गरेका छन् ।

आम्दानीको ग्यारेन्टी: जसरी बैंकमा ब्याजको ग्यारेन्टी हुन्छ, किसानलाई उत्पादन गर्नुअघि नै मूल्य र बजारको ग्यारेन्टी हुने प्रणाली (Contract Farming) को विकास ।

सुरुमा राजनीतिमा लाग्ने कुनै सोच नभएका ढकाललाई कृषि क्षेत्रमा काम गर्दै जाँदा एउटा कुराले सधैँ बिझायो— "जबसम्म नीति बनाउने ठाउँमा सही मान्छे पुग्दैन, तबसम्म भुइँ तहमा गरिने प्रयासले मात्र देश फेरिँदैन ।" राजनीति र अर्थतन्त्रको यो 'ग्याप' पुर्न उनले राजनीति रोजेका हुन् । उनी भन्छन्, "डाक्टरले रोग चिनेर मात्र हुँदैन, रोगअनुसारको औषधि दिन पनि सक्नुपर्छ ।"

राजनीतिक नेतृत्वलाई यक्ष प्रश्न: समृद्धिको सारथी कि संख्याको राजनीति?

नेपाली कांग्रेसले ढकालको नाम सिफारिस त गर्‍यो, तर प्राथमिकताको १० नम्बरमा । यहाँ प्रश्न उठ्छ, के कांग्रेस अझै पनि 'होलटाइमर' राजनीतिज्ञ र सत्ता समीकरण बुझ्ने तर बजारको मनोविज्ञान र लगानीको चक्र नबुझ्ने पात्रहरूकै भरमा देश फेर्न चाहन्छ? ढकालको स्पष्ट विचार छ, यदि राजनीतिक दलहरूले स्वच्छ छवि र क्षमतावान उम्मेदवार चयन गर्न सकेनन् भने पार्टीहरू नै अप्रासंगिक हुनेछन् ।

आजको नेपाललाई विदेश पढेर आएको सर्टिफिकेट मात्र भएको होइन, नेपालकै माटो सुहाउँदो आर्थिक संरचना र 'इको-सिस्टम' बुझ्ने नेतृत्व चाहिएको छ । भरतराज ढकाल जस्ता पात्रलाई उपेक्षा गर्नु भनेको समृद्धिको मुद्दालाई नै पाखा लगाउनु हो ।

भरतराज ढकाल जस्ता पात्रलाई सिफारिसको पुछारमा राख्नु भनेको आर्थिक समृद्धिको मुद्दालाई नै उपेक्षा गर्नु हो । कांग्रेस नेतृत्वले सोच्ने बेला आएको छ, के उनीहरू केवल संख्याको राजनीति गरिरहने कि भरत ढकाल जस्ता 'समृद्धिका सारथी'लाई नीति निर्माणको मूल थलोमा पुर्‍याएर देशको भविष्य बदल्ने?

पछिल्लो समयको 'जेन-जी' आन्दोलन र युवा असन्तुष्टि बेरोजगारी र भ्रष्टाचारको विस्फोट हो । यस्तो अवस्थामा राज्य सञ्चालनका लागि नीति निर्माण तहमा भरतराज ढकाल जस्ता व्यावहारिक अनुभव भएका व्यक्ति पुग्नु अपरिहार्य छ । ढकाल भन्छन्, "सरकार र निजी क्षेत्र बाउ-छोरा जस्तो हुनुपर्छ, जहाँ राज्यले निजी क्षेत्र प्रोत्साहित हुने नीति बनाउनुपर्छ" ।

अहिलेको नेतृत्व संकटको विश्लेषण गर्दै उनी भन्छन् "जसले एउटा परिवार राम्रोसँग चलाउन सकेको छैन, उसले समाजलाई पनि राम्रोसँग परिचालन गर्न सक्दैन" । धेरै मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको विषयवस्तु नै थाहा नहुने विडम्बनापूर्ण स्थिति अन्त्य गर्न पनि विषयविज्ञको राजनीतिमा प्रवेश जरुरी छ ।

यदि नेपाली कांग्रेसले साँच्चै आर्थिक समृद्धि र सुशासनको परिकल्पना गरेको हो भने भरतराज ढकाल जस्ता पात्रलाई सिफारिसको पुछारमा राखेर परिवर्तन सम्भव छैन । आजको प्रतिस्पर्धा केवल चुनावी अंकगणितको होइन, बरु दृष्टिकोण र क्षमताको हो । के कांग्रेस नेतृत्वले ढकाल जस्ता 'समृद्धिका सारथी'लाई पाखा लगाएर देश फेर्ने हिम्मत गर्ला? यो प्रश्नको उत्तरले नै कांग्रेसको आगामी भविष्य र देशको आर्थिक दिशा तय गर्नेछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया