रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा ३२.९८ गुणा बढी आवेदन, ५ लाख ८३ हजारले पोत्याए
- BFIS News
- 2025 Dec 26 19:09
काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ। बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्कासन गर्ने दोस्रो कम्पनीका रूपमा रहेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा अन्तिम दिनसम्म झन्डै ६ लाख लगानीकर्ताले आवेदन दिएका छन्।
कम्पनीका अनुसार आईपीओको अन्तिम दिनसम्म ५ लाख ८३ हजार ८ सय ९६ जना लगानीकर्ताबाट आवेदन परेको हो। सो अवधिमा कुल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको ३ करोड ५ लाख ४ हजार ८ सय कित्ता शेयरको माग परेको छ। जबकि कम्पनीले सर्वसाधारणका लागि जम्मा ९ लाख २४ हजार ७ सय ६८ कित्ता शेयर मात्र निष्कासन गरेको थियो। यस आधारमा आईपीओमा मागभन्दा ३२.९८ गुणा बढी आवेदन परेको छ।
सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरमध्ये ५७ हजार ७ सय ९८ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ९ लाख २४ हजार ७ सय ६८ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी गरिएको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ प्रक्रियाबाट प्रतिशेयर निष्कासन मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको थियो।
बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर बाँडफाँट गरिएको थियो। सो क्रममा प्रतिशेयर कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। संस्थागत लगानीकर्ताका लागि तय भएको मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।
आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो भने अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने प्रावधान रहेको थियो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिएका हुन्।
शेयर निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीले समयमै आफ्ना वित्तीय दायित्व सुरक्षित रूपमा पूरा गर्न पर्याप्त क्षमता राख्ने संकेत गर्ने बताइएको छ।
रिलायन्स स्पिनिङ मिल्स नेपालका धागो उत्पादन गर्ने उद्योगहरूमध्ये रोजगारी प्रदान गर्ने प्रमुख उद्योगमध्ये एक हो। कम्पनीले आफ्नो कुल उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी हिस्सा भारत, टर्की, भियतनाम, युकेलगायत विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण रहेका छन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्।
कम्पनीको मुख्य उद्योग इटहरी उपमहानगरपालिका वडा नं. १२, खनार, सुनसरीमा अवस्थित छ भने शाखा उद्योग इटहरी उपमहानगरपालिका वडा नं. ४, दुहबी, सुनसरीमा रहेको छ। विवरणअनुसार कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)


.jpeg)







प्रतिक्रिया