प्रतिनिधिसभा निर्वाचनका लागि कालीकोटका सबै मतदान केन्द्रमा सामग्री पुग्यो
- BFIS News
- 2026 Mar 03 11:22
कालीकोट, फागुन १९ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्याएको जनाएको छ।
जिल्लाका दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली, गोप्य कक्ष निर्माण सामग्रीलगायतका अत्यावश्यक सामग्री ढुवानी गरिसकिएको कार्यालयले जनाएको छ। सहायक निर्वाचन अधिकृत तहसिलदार शुनिलकुमार खाँणाका अनुसार जिल्लामा रहेका १२७ स्थायी र १ अस्थायी गरी कुल १२८ मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याइएको छ।
मतदान केन्द्रहरूको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। केही विकट बस्तीमा सामग्री ढुवानी गर्न पैदल तथा घोडारखच्चडसमेत प्रयोग गरिएको बताइएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिबीच समन्वय भइरहेको छ। निर्वाचन आयोगले मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया