नेपाल टेलिकम १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
- BFIS News
- 2026 Jan 14 16:54
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) को अठारौँ वार्षिक साधारणसभा आज २०८२ पुस ३० गते काठमाडौँको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ। सभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको छ।
साधारणसभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनीको अठारौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्। प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अर्यालले तीव्र प्रतिस्पर्धी वातावरणका बाबजुद कम्पनीले भौगोलिक रुपमा अति विकट क्षेत्रसम्म सेवा विस्तार गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणामा निरन्तर सहयोग गरिरहेको बताइन्।
उनका अनुसार आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विभिन्न प्रतिकूलताबीच कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै ६ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। साथै, कम्पनीले कर तथा शुल्कबापत कुल आयमध्ये १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्वको रुपमा बुझाएको जानकारी दिइन्। भविष्यमा मेघा परियोजना सञ्चालनका लागि थप पुँजी आवश्यक परेमा बोनस सेयरसमेत उपलब्ध गराइने प्रतिबद्धता पनि अध्यक्ष अर्यालले व्यक्त गरिन्।
कम्पनीले निकट भविष्यमा नै राजधानी काठमाडौँसहित ठूला शहरहरुबाट ५जी सेवा सुचारु गर्ने प्रक्रियामा रहेको जानकारी दिएको छ। २०८२ असोज मसान्तसम्ममा ७७ जिल्लाका ७४९ स्थानीय तहमा ४जी सेवा विस्तार भइसकेको छ भने ७७ वटै जिल्लामा उच्च गतिको एफटिटिएच (FTTH) सेवा सञ्चालनमा आएको छ। हाल कम्पनीका २जीतर्फ ४,५४२, ३जीतर्फ २,९९४ र ४जीतर्फ ४,४३७ वटा बीटीएस सञ्चालनमा रहेका छन्।
यसैगरी, ग्रामीण दूरसञ्चार विकास कोषको सहयोगमा कोशी, मधेश र बागमती प्रदेशका मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने मार्गहरुमा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिएको छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कूल ८,८३४ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार भइसकेको कम्पनीले जनाएको छ।
साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम पुस ३० गतेदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ। कार्यक्रममा अध्यक्ष अर्यालले शेयरधनीहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै प्राप्त सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया