स्याङ्जाको माटोमा 'वित्तीय विद्रोह': विना धितो ५०००/- पाउदाको त्यो आँसु र २३ वर्षको अनवरत पदचाप, एक सहयात्रीको खुला अपिल
- BFIS News
- 2026 Feb 07 08:02
काठमाडौं। आजको सुलभ बैंकिङ्ग, खल्तीमै हुने डिजिटल अर्थतन्त्र र सडक सञ्जालको युगमा बसेर त्यो समयको कल्पना गर्नु पनि कठिन छ।
तर, मेरो स्मृतिमा अझै पनि २०६० को दशकको त्यो धुमिल चित्र ताजै छ। देश द्वन्द्वको चरम उत्कर्षमा थियो। सदरमुकाममा सुरक्षाको अभाव थियो, बैंकहरूका सटर आधा झुकेका हुन्थे। ५,००० रुपैयाँ निकाल्न ज्यान जोखिममा राखेर पोखरा धाउनुपर्ने त्यो कहालीलाग्दो समयमा स्याङ्जाको एउटा कुनामा एउटा 'पागलपन' जस्तो लाग्ने सपना देखिँदै थियो 'गाउँका गरिब महिलालाई मालिक बनाउने सपना'। त्यो सपनाको कमान्डर हुनुहुन्थ्यो, भरतराज ढकाल।

१. भोक, तिर्खा र द्वन्द्वको जोखिममा बुनिएको जग
आज धेरैलाई लाग्न सक्छ, यो अभियान सजिलै यहाँसम्म आइपुगेको हो। तर, यसको जगमा हाम्रो भोक, प्यास र आँसु मिसिएको छ। बिहान ६ बजेको मिर्मिरेमै झोला भिरेर हामी गाउँतर्फ लाग्थ्यौँ। विरुवा, अर्जुनचौपारी, फेदीखोला, जुग्ले, मिर्मि, चापाकोट र वालिङका विकट बस्तीहरू हाम्रा गन्तव्य थिए।
द्वन्द्वको त्यो समयमा कुन बेला के हुने हो, ज्यानको सुरक्षाको कुनै ग्यारेन्टी थिएन। तर, भरतराज ढकालको एउटै अठोट थियो "सरकार पुग्न नसकेको ठाउँमा हामी पुग्नुपर्छ।" हामीले एउटा कडा अनुशासन पालना गरेका थियौँ 'उद्यमीको घरमा सित्तैमा पानी समेत नपिउने'।
गरिबको पसिनामाथि रजाईं होइन, उनीहरूको उत्थानमा सारथी बन्ने त्यो पवित्र सपथले नै आज हामीलाई यहाँसम्म ल्याएको हो। कति दिन भोकै, कति रात अनिदै हिँडियो, त्यसको हिसाब केवल स्याङ्जाका ती गोरेटोहरूलाई थाहा छ।

२. त्यो 'भगवान्' र आशाका आँसु:
मलाई आज पनि याद छ, जब हामीले पहिलोपटक विना धितो कर्जा लिएर महिला र विपन्न परिवारको घर दैलोमा पुग्यौँ। रु १००० को नोट समेत नदेखेका हातहरूमा जब भरत राज ढकाल सरले पहिलो ऋण स्वरुप ५,००० रुपैयाँ राखिदिनुभयो, ती आमाहरूका आँखाबाट हर्षका आँसु अविरल बगेका थिए।
ती आँसुले शब्दभन्दा ठूलो कुरा बोलेका थिए। भरत राज ढकाललाई अङ्गालो हालेर उनीहरूले भनेका थिए "आज भगवान् मेरो घरमा आए।" ती शब्दहरू सुन्दा हाम्रा सबै दुःख र थकान मेटिन्थे। त्यहीँबाट सुरु भयो 'वित्तीय विद्रोह'। हामीले वित्तीय साक्षरता मात्र दिएनौँ, विपन्नलाई पुँजीको पहुँच दिएर राज्यको मूलधारसँग जोड्ने आँट गर्यौँ।

३. ऋणीबाट 'मालिक' सम्मको यात्रा
हिजो सेयर के हो? पुँजी के हो? भन्ने थाहा नभएका ती हजारौँ दिदीबहिनीहरूलाई भरतराज ढकालले सिकाउनुभयो "तपाईंहरू अब ऋणी मात्र होइन, यो संस्थाको मालिक पनि बन्नुपर्छ।" १० कित्ता सेयरबाट सुरु भएको त्यो सानो अभियानले आज हजारौँलाई लखपति र सफल लगानीकर्ता बनाएको छ। हिजो १००० को नोट देख्दा आँसु झार्नेहरू आज हजारौँलाई रोजगारी दिने उद्यमी बनेका छन्। यो कुनै चमत्कार थिएन, यो त भरतराज ढकालको स्पष्ट भिजन र हाम्रो सामूहिक पसिनाको प्रतिफल थियो।

४. नयाँ पुस्तालाई आह्वान: तपाईंका पखेटामा हाम्रो लगानी छ
आज म ती सम्पूर्ण छोराछोरीहरूलाई आह्वान गर्दछु, जो हिजो आफ्नी आमाले लघुवित्तबाट ल्याएको त्यही सानो ऋण र पसिनाले शिक्षित भएर आज देश-विदेशमा स्थापित हुनुभएको छ। तपाईंका ती पखेटाहरू पलाउनुको पछाडि २३ वर्षअघिको त्यही 'वित्तीय साहस' को जग छ। आज तपाईंका अभिभावकको त्यो संघर्ष र भरतराज ढकालको त्यो निस्वार्थ भिजनलाई न्याय गर्ने बेला आएको छ।

किन आज भरतराज ढकाल नै?
२३ वर्षसम्म उहाँको पदचापलाई पछ्याउँदै, उहाँसँगै काँधमा काँध मिलाएर हिँडेको एक सहयात्रीको नाताले म भन्न सक्छु उहाँ पदका लागि होइन, परिवर्तनका लागि जन्मनुभएको नेता हो। आज हामी सँग त्यो अवसर छ जसले भरतराज ढकाललाई निर्वाचित गराएर प्रतिधिसभामा पुर्याउन सक्छौ। उहाँले हिजोका दिनमा समाजमा पुर्याउनु भएको योगदानलाई थप संस्थागत गर्दै नीति निर्माणमा पुर्याउन सक्छौ।
हामीले नभुलौ "उहाँ संकटको सारथी हो, जसले द्वन्द्वमा पनि साथ छोडेन। उहाँ आर्थिक रूपान्तरणको बाहक हो, जसले महिलालाई 'मालिक' बनायो। उहाँ विकासको इन्जिनियर हो, जसले स्याङ्जाको माटोलाई चिनेको छ।"
आदरणीय स्याङ्जाली आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, हिजोको त्यो 'आशाको आँसु' पुछ्ने मान्छेलाई आज नीति निर्माणको तहमा पुर्याऔँ। हिजो उहाँले घर-घरमा उद्यम पुर्याउनुभयो, अब स्याङ्जालाई नै समृद्धिको देशकै नमुना बनाउने जिम्मेवारी दिऊँ। भरतराज ढकाल हिजोको सारथी, आजको नेतृत्व र भोलिको साझा समृद्धि हुनुहुन्छ।
(तपाईंकै सुख-दुःखको अभियानकर्मी साथी, भरतराज ढकालको २३ वर्षे वित्तीय रूपान्तरण अभियानको एक अविचलित सदस्य, कृष्णमामान श्रेष्ठ)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)
.jpg)





प्रतिक्रिया