राजनीतिक स्थिरताको अपेक्षाले शेयर बजारमा हरियाली, लगानीकर्ताको मनोबल बढ्दा नेप्से सूचक ३२२ अंकले बढ्यो
- BFIS News
- 2026 Mar 24 15:25
काठमाडौँ । शक्तिशाली नयाँ सरकार गठनको पूर्वसन्ध्यामा नेपालको शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। लगानीकर्तामा बढ्दो आत्मविश्वाससँगै बजार सकारात्मक लयमा अघि बढिरहेको छ।
विगत एक महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६३८ अंकबाट बढेर २९६० अंकमा पुगेको छ। यस अवधिमा लगभग सबै उपसूचकहरूमा सुधार आएको छ। पछिल्ला दिनहरूमा इन्ट्राडे करेक्सन देखिए पनि समग्र बजार सुधारको दिशामा रहेको विश्लेषकहरू बताउँछन्।
आगामी सरकारले प्रभावकारी काम गर्ने तथा आर्थिक स्थिरता कायम गर्ने विश्वासले लगानीकर्ताको मनोबल उच्च बनेको देखिन्छ, जसले बजारमा सकारात्मक प्रभाव पारेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से २३.८३ अंकले बढेर २ हजार ९६०.४० विन्दुमा कायम भएको हो। आज ३४१ कम्पनीका शेयर कारोबार भएका थिए, जसमध्ये १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ।
कारोबारतर्फ, कुल ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १४ अर्ब ८३ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ। यद्यपि, कारोबार रकम सोमबारको तुलनामा करिब ६ प्रतिशतले घटेको देखिएको छ।
समूहगत परिसूचकतर्फ वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार समूह सकारात्मक रहेका छन्। तर होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा तथा अन्य समूहमा गिरावट देखिएको छ।
आजको कारोबारमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। यता, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।
समग्रमा, राजनीतिक स्थिरताको अपेक्षा र नयाँ सरकारप्रतिको आशावादले शेयर बजारमा सकारात्मक ऊर्जा थपिएको देखिएको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)





प्रतिक्रिया