NIMB Header 2
Nepal Life

भारत–पाकिस्तान टी–२० विश्वकप खेलअघि कोलम्बोमा हवाई भाडा र होटल दर उच्च, यात्रुमा खर्चको दबाब

National Life
  • BFIS News
  • 2026 Feb 10 19:18
भारत–पाकिस्तान टी–२० विश्वकप खेलअघि कोलम्बोमा हवाई भाडा र होटल दर उच्च, यात्रुमा खर्चको दबाब
Sanima Reliance

टी–२० क्रिकेट विश्वकप २०२६ अन्तर्गत भारत र पाकिस्तानबीच कोलम्बोमा हुन लागेको खेलअघि श्रीलङ्काको पर्यटन र यात्रा बजारमा मूल्यवृद्धि देखिएको छ।

Shikhar
NIMB

खेल मिति नजिकिँदै जाँदा कोलम्बो जाने हवाई टिकट र होटल बसाइको दर सामान्य समयको तुलनामा उल्लेख्य रूपमा बढेको विभिन्न ट्राभल प्लेटफर्महरूले देखाएका छन्।

फेब्रुअरी १५ मा कोलम्बोमा हुने भारत–पाकिस्तान खेल हेर्न दक्षिण एसियाका विभिन्न देशबाट दर्शकहरू जाने तयारीमा छन्। यसका कारण विशेषगरी भारतका प्रमुख सहरबाट कोलम्बो जाने उडानहरूको भाडा तीव्र रूपमा बढेको छ।

दिल्ली–कोलम्बो सिधा उडान, जसको सामान्य भाडा करिब भारु ३० हजारको आसपास पर्थ्यो, अहिले फेब्रुअरी १४ का लागि भारु ९० हजारदेखि १ लाख ९ हजारसम्म पुगेको देखिन्छ। केही उडानमा शुल्क अझै महँगो रहेको छ। श्रीलंकन एयरलाइन्सका केही टिकट दर भारु १ लाख ४५ हजारसम्म पुगेका छन्। मुम्बई–कोलम्बो तीन घण्टाको उडान मार्गमा पनि भाडा करिब भारु ९० हजारको हाराहारीमा पुगेको विवरण सार्वजनिक भएको छ।

बसोबासतर्फ पनि कोलम्बोका होटल दर उकालो लागेका छन्। तीन तारेदेखि पाँच तारेसम्मका होटलमा दुई जनाका लागि एक रातको कोठा भाडा भारु १ लाखभन्दा माथिसम्म पुगेको छ, जुन सामान्य समयको तुलनामा करिब तेब्बर बढी हो। गेस्ट हाउस र साना आवास सेवाप्रदायकहरूले पनि दर बढाएका छन्।

श्रीलङ्का हाल आर्थिक दबाबबाट बाहिर निस्कने प्रयासमा रहेको छ र पर्यटन क्षेत्रलाई मुख्य आयस्रोतका रूपमा हेरिएको छ। श्रीलङ्का केन्द्रीय बैंकका तथ्यांकअनुसार सन् २०२५ जनवरीमा पर्यटनबाट ४०० मिलियन अमेरिकी डलर आम्दानी भएको थियो। सन् २०२६ जनवरीमा पर्यटक आगमन बढे पनि आम्दानी घटेर ३७८ मिलियन डलरमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५.६ प्रतिशत कमी हो।

भारत र पाकिस्तानबीचको खेल सुरुमा अन्योलमा परेको थियो। दुई देशबीचको राजनीतिक तनाव र सुरक्षा चासोका कारण खेल तालिकाबारे विवाद देखिएको थियो। विश्वकपको मुख्य आयोजक भारत भए पनि पाकिस्तानसँग सम्बन्धित खेलहरूको स्थान निर्धारणमा सहमति जुट्न ढिलाइ भएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दुवै पक्षको सहमतिमा श्रीलङ्कालाई तटस्थ स्थलका रूपमा छनोट गर्दै ‘हाइब्रिड मोडेल’ लागू गरेको थियो। त्यसपछि उक्त खेल कोलम्बोमा आयोजना गर्ने निर्णय गरिएको हो। खेल आयोजना हुनुले श्रीलङ्काको पर्यटन र सेवा क्षेत्रमा अल्पकालीन आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया