सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
- BFIS News
- 2026 Feb 17 14:16
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (फागुन ५ गते, मंगलबार)देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणतर्फ निष्काशन गर्न लागेको हो।
सुपर खुदी हाइड्रोपावर लिमिटेड ले आफ्नो जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर ३१ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ। साथै ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई वितरण गरिएको छ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीका लागि ३१ हजार कित्ता सुरक्षित गरी बाँकी १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको हो। यस सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको मूल्यांकनमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम देखाउने संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब २० करोड ६९ लाख ३८ हजार रुपैयाँ परेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २७ वर्ष ५ महिना बाँकी रहेको जनाइएको छ। साधारण लगानी फिर्ता अवधि ७.२१ वर्ष तथा छुट दरमा गणना गर्दा १३.४२ वर्ष रहेको विवरणमा उल्लेख छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई दिइएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpg)




प्रतिक्रिया