NIMB Header 2
Nepal Life

लेखापरीक्षणपछि जीवन बीमा कम्पनीहरूको मुनाफा ९ अर्ब ३९ करोड, अपरिष्कृत विवरणभन्दा ५४% बढी

National Life
  • BFIS News
  • 2026 Feb 20 00:02
लेखापरीक्षणपछि जीवन बीमा कम्पनीहरूको मुनाफा ९ अर्ब ३९ करोड, अपरिष्कृत विवरणभन्दा ५४% बढी
Sanima Reliance

काठमाडौं। लेखापरीक्षण पश्चात जीवन बीमा कम्पनीहरूको कुल मुनाफा ९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ (चौथो त्रैमास) को अपरिष्कृत वित्तीय विवरणमा मुनाफा ६ अर्ब ६ करोड रुपैयाँ रहेको देखिएको थियो। प्रारम्भिक तथ्यांकअनुसार मुनाफा करिब ५४ प्रतिशतले बढेको देखिए पनि लेखापरीक्षणपछि वास्तविक चित्र फरक देखिएको हो।

Shikhar
NIMB

सामान्यतया लेखापरीक्षणअघि जीवन बीमा कम्पनीहरूको मुनाफा गणनाको विधिमा केही फरक पर्ने गर्छ। लेखापरीक्षणका क्रममा दाबी (Claim) को वास्तविक दायित्व पुनः गणना गरिन्छ। यस क्रममा Outstanding Claims तथा IBNR (Incurred But Not Reported) दाबीहरू समेत समावेश गरिन्छ, जसले खर्च बढाउन सक्छ र मुनाफा घट्न सक्छ।

त्यसैगरी, जीवन बीमा दायित्वको एक्चुरियल मूल्याङ्कन (Actuarial Valuation) गर्दा भविष्यमा तिर्नुपर्ने Policy Liability को गणना एक्चुरीमार्फत गरिन्छ। लेखापरीक्षणका बेला उक्त गणनाको पुनः परीक्षण हुन्छ। यदि दायित्व बढेमा मुनाफा घट्छ भने दायित्व घटेमा मुनाफा बढ्ने अवस्था आउँछ। यसका अतिरिक्त Depreciation, Amortization, Provision लगायतका शीर्षकहरू पनि मिलान गरिन्छ।

जीवन बीमा कम्पनीहरूको ठूलो हिस्सा लगानीमा रहने भएकाले लेखापरीक्षणका क्रममा शेयर, डिबेन्चर, बैंक निक्षेप आदिमा गरिएको लगानीलाई बजार मूल्यअनुसार समायोजन गरिन्छ। यदि Impairment देखिएमा खर्च बढ्ने र मुनाफा घट्ने सम्भावना रहन्छ। साथै, नियामक निकाय नेपाल बीमा प्राधिकरण ले जारी गर्ने निर्देशन तथा निर्देशिकाहरूको पालना गर्नुपर्ने भएकाले त्यसको प्रभाव पनि मुनाफामा पर्न सक्छ। कतिपय अवस्थामा लेखापरीक्षणपछि समेत नियामकीय मापदण्डअनुसार समायोजन गर्न निर्देशन दिइने हुँदा मुनाफामा तलमाथि हुन सक्छ। त्यसैले लेखापरीक्षणअघि देखिएको मुनाफा अस्थायी र अनुमानित हुने भएकाले अपरिष्कृत विवरणमा खासै विश्वसनीयता नरहने विश्लेषकहरूको भनाइ छ।

लेखापरीक्षणपछि सार्वजनिक विवरणअनुसार समग्र जीवन बीमा कम्पनीहरूको मुनाफा गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.९० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ९ अर्ब ५७ करोड रुपैयाँ मुनाफा आर्जन गरेका कम्पनीहरूले चालु वर्ष ९ अर्ब ३९ करोड रुपैयाँ मात्र आर्जन गरेका छन्।

यस वर्ष सर्वाधिक मुनाफा नेपाल लाइफ इन्स्योरेन्स ले २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.७८ प्रतिशतले बढी हो। दोस्रो स्थानमा मेट लाइफ रहेको छ, जसले ८४ करोड ८२ लाख रुपैयाँ मुनाफा कमाएको छ। तेस्रो स्थानमा एलआइसी नेपाल ले ८३ करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

नेशनल लाइफ इन्स्योरेन्स ले ८१ करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको भए पनि यसको मुनाफा गत वर्षको तुलनामा १३.२३ प्रतिशतले घटेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स को मुनाफा १४.५६ प्रतिशतले घटेर ७२ करोड ७७ लाख रुपैयाँमा झरेको छ।

यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले ६८ प्रतिशतले मुनाफा वृद्धि गर्दै ६५ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स ले ३८ प्रतिशतले वृद्धि गर्दै ६३ करोड २४ लाख रुपैयाँ मुनाफा कमाएको छ। कम्पनीका अनुसार वैदेशिक रोजगार बीमा तथा ट्रम (Term) व्यवसायको विस्तारले मुनाफा बढाउन मद्दत गरेको हो, यद्यपि यसको परम्परागत जीवन बीमा व्यवसाय उद्योगकै न्यून स्तरमा रहेको छ।

हिमालयन लाइफ इन्स्योरेन्स को मुनाफा घटेर ५६ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीले यस वर्ष लाभांश वितरण नगरी जगेडामा राख्ने निर्णय गरेको जनाएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले ५५ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्स को मुनाफा घटेको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले ३८ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै स्थिर अवस्था कायम राखेको छ।

लेखापरिक्षण अगाडी र पछाडिको मुनाफा

लेखापरीक्षण अगाडी अधिकाम्स बीमा कम्पनीहरुको मुनाफा एकदमै कम देखिएको छ। तर कतिपय कम्पनीले लेखापरीक्षण पछि उल्टै कम हुने गरी मुनाफा देखाएका छन्। विशेषगरी पछिल्लो समय आएका जीवन बीमा कम्पनीहरुले सार्वजनिक गर्ने अपरिष्कृत वित्तीय विवरण र लेखापरीक्षण पश्चातको वित्तीय विवरणमा धेरै भिन्नता पाइदैन। यसको प्रमुख कारण भनेको उनिहरुको जीवन बीमा कोष नै हो। पुराना जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष तुलनात्मक रुपमा ठुलो छ। यसले गर्दा कोषबाट एक्चुरियल मूल्याङ्कन पछि शेयरधनी कोषमा कति रकम विनियोजन हुन्छ भन्ने कुराको अनुमान हुँदैन।

अर्को तर्फ पछिल्लो समय आएका कम्पनीको पूँजीकोषको रकम लगानी योग्य अवस्थामा छ। जसले नियमित रुपमा आम्दानी गरिरहेको छ। सोहि रकमबाट पनि एक किसिमको आम्दानी हुने भएकाले मुनाफा बाध्यन सजिलो हुन्छ र धेरै पनि देखिन्छ।

पुराना कम्पनीको चुक्ता पूँजी घरजग्गा तथा स्थिर सम्पत्तीमा लगानी भएको हुन सक्छ। जसले गर्दा बैंक लगायत नियमित आम्दानी हुने क्षेत्रमा रकम हुँदैन। नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजीलाई स्थिर सम्पत्ती घर जग्गा खरिद गर्न पाउने व्यवस्था गरिदिएको हुँदा पुराना कम्पनीहरुको मुनाफा स्वभाविक रुपमा जीवन बीमा कोषबाट शेयरधनी कोषमा विनियोजन हुने रकममा भर पर्नु पर्ने हुन्छ।

नेपाल लाइफले लेखापरीक्षण हुनु अगाडी ६०.३३ करोड मुनाफा देखाएकोमा लेखापरीक्षण पश्चात २ अर्ब २९ करोड मुनाफा गरेको छ। त्यस्तै मेट लाइफले ५५ करोड ७४ लाख सार्वजनिक गरेकोमा लेखापरीक्षण पश्चात ८४ करोड ८२ लाख देखिएको छ। एलआइसी नेपालले चौथो त्रैमाशको अपरिष्कृत वित्तीय विवरणमा ३१.५९ करोड देखाएकोमा लेखापरीक्षण पश्चात ८३.७३ करोड आर्जन गरेको छ। यता नेशनल लाइफले ४१.२८ करोड सार्वजनिक गरेकोमा लेखापरीक्षण पश्चात ८१.८१ करोड आर्जन गरेको छ।

सूर्यज्योति लाइफले पनि ३५.०३ करोड मुनाफा देखाएकोमा पछि ७२.७७ करोड आर्जन गरेको छ। रिलायबल नेपालले अपरिष्कृत वित्तीय विवरणमा ५७ करोड २ लाख देखाएकोमा लेखापरीक्षण पश्चात ६५ करोड २२ लाख पुगेको छ।

सन नेपालले ५४ करोड २५ लाख देखाएकोमा ६३ करोड २४ लाख, हिमालयन लाइफले ५४ करोड ७० लाख देखाएकोमा ५६ करोड २२ लाख, सानिमा रिलायन्सले ३७ करोड ७५ लाख देखाएकोमा ५५ करोड ६९ लाख, एशियन लाइफले ४० करोड ९३ लाख देखाएकोमा ४९ करोड ३९ लाख, आइएमई लाइफले ५८ करोड ३३ लाख देखाएकोमा ३९ करोड ३२ लाख, प्रभु महालक्ष्मीले ३७ करोड ७ लाख देखाएकोमा ३८ करोड ७१ लाख र सिटिजन लाइफले ४२ करोड ५० लाख देखाएकोमा १८ करोड ९१ लाख देखिएको छ।

नाफा भन्दा लाभांश धेरै

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा आर्जन गरेको भन्दा वितरण गरेको लाभांश तुलनात्मक रुपमा धेरै देखिन्छ। सामान्यतया नेपाल राष्ट्र बैंकले तत्कालिन आर्थिक वर्षको प्रतिशेयर आम्दानी भन्दा लाभांश वितरण धेरै हुन नहुने भन्दै जगेडा कोषलाई बढि प्राथमिकता दिएको छ। तर नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रतिशेयर आम्दानी भन्दा धेरै लाभांश वितरण गर्न दिएको छ। त्यो भने विगतका वर्षको जगेडा कोषबाट। केहि बीमा कम्पनीहरुले प्रिमियममा आइपिओ जारी गर्दा आर्जन गरेको रकमबाटै लाभांश वितरण गरेको देखिन्छ। जसले गर्दा कम्पनीको मुनाफा नै घटेको छ। सरकारले प्रिमियममा आर्जन भएको रकमबाट पनि २५ कर तिर्नु पर्ने प्रावधानका कारण सिटीजन लाइफको मुनाफा घटेको। कम्पनीले यस वर्ष शेयरधनीलाई २० प्रतिशत नगद लाभांश शेयर प्रिमियमबाटै वितरण गरेको छ।

यस वर्ष सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नेपाल लाइफ र एलआइसी नेपाल परेका छन्। दुबैले २१.०५ प्रतिशत लाभांश दिएका छन्। जवकी एलआइसी नेपालको प्रतिशेयर आम्दानी १५.४५ रुपैयाँ छ भने नगद लाभांश भने २१.०५ प्रतिशत वितरण गरेको छ। अर्को तर्फ नेपाल लाइफले भने प्रतिशेयर आम्दानी २५.५१ रुपैयाँबाटै ५ प्रतिशत बोनस शेयर सहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

तेस्रो धेरै मुनाफा नेशनल लाइफले प्रतिशेयर आम्दानी १५.७ रुपैयाँबाट १२.०५ प्रतिशत लाभांश वितरण गरेको छ। चौथो धेरै मुनाफा सूर्य ज्योतिले प्रतिशेयर आम्दानी १४.५२ रुपैयाँबाट १३ प्रतिशत नगद लाभांश वितरण गरेको छ। अर्को कम्पनी रिलायबल नेपालले प्रतिशेयर आम्दानी १२.५५ रुपैयाँबाट १२ प्रतिशत नगद लाभांश वितरण गरेको छ। सन नेपालले प्रतिशेयर आम्दानी १५.८ रुपैयाँबाट २०.२६ प्रतिशत लाभांश वितरण गरेको छ। यसमा पनि कम्पनीले प्रिमियममा आर्जन गरेको रकमलाई लाभांशको रुपमा वितरण गरेको छ।

सानिमा रिलायन्सले प्रतिशेयर आम्दानी ११.११ रुपैयाँबाट १०.१७ रुपैयाँ लाभांश, एशियन लाइफले प्रतिशेयर आम्दानी १४.४५ रुपैयाँबाट १०.५२ प्रतिशत, आइएमइ लाइफले प्रतिशेयर आम्दानी ७.८६ रुपैयाँबाट १०.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले प्रतिशेयर आम्दानी ७.५८ रुपैयाँबाट ८.४२ प्रतिशत र सिटिजन लाइफले प्रतिशेयर आम्दानी ३.७८ रुपैयाँबाट २० प्रतिशत वितरण गरेको छ। सिटिजनले प्रिमियमबाट आर्जन भएको रकमबाट यस वर्ष लाभांश वितरण गर्दा प्रतिशेयर आम्दानी कम देखिएको हो।

जीवन बीमा कम्पनीहरुले यस वर्षसम्म आकर्षक मुनाफा सँगै लाभांश पनि वितरण गरेकोमा आगामी वर्षमा बैंक वित्तीय संस्थाको व्याजदर तल्लो विन्दुमा झरे सँगै सबैको घट्ने देखिएको छ। बीमा कम्पनीहरुको ठुलो लगानी बैंक वित्तीय संस्थाको मुद्दती निक्षेप तथा अन्य निक्षेपमा रहने गरेको छ। यसले गर्दा बैंकको व्याजदर बढ्दा नाफा बढ्ने र घट्दा घट्ने गरेको छ। अहिलेको व्याजदर पछिल्ला दशकहरुकै कम विन्दुमा छ। यसले गर्दा बैंकहरुलाई बैंक वित्तीय संस्थाको निक्षेपबाट अन्य क्षेत्रमा डाइभर्स गर्नु पर्ने बाध्यता बढ्दै गइरहेको छ। तर लगानीको पोर्टफेलियोलाई विविधिकरण गर्नु पर्ने चुनौती बीमा कम्पनीहरुलाई छ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया