ट्रम्पको चीन भ्रमणलगत्तै बेइजिङ पुगे पुटिन, चीन–रुस सम्बन्धमा नयाँ सन्देश
- BFIS News
- 2026 May 19 13:15
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को चीन भ्रमण सम्पन्न भएको केही समयमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि चीन–रुस सम्बन्ध र विश्व शक्ति सन्तुलन पुनः चर्चामा आएको छ।
युक्रेन युद्ध, ऊर्जा राजनीति तथा अमेरिका–चीन सम्बन्धका बीच भएको यो भेटलाई रणनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
पुटिन मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग वार्ताका लागि बेइजिङ पुगेका हुन्। क्रेमलिनका अनुसार भेटवार्तामा द्विपक्षीय रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा सहकार्य विस्तार गर्ने र बदलिँदो विश्व व्यवस्थाबारे साझा धारणा विकास गर्ने विषयमा छलफल हुनेछ।
ट्रम्प हालै चीन भ्रमण गर्ने करिब एक दशकयताका पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए। तर उक्त भ्रमणबाट ठोस सहमति वा उपलब्धि ननिस्किएको विश्लेषण भइरहेका बेला पुटिनको भ्रमणले मस्को र बेइजिङबीचको सम्बन्ध निरन्तर सुदृढ रहेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
सन् २०२२ मा रुसले युक्रेन माथि सैन्य आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले मस्कोमाथि आर्थिक तथा कूटनीतिक दबाब बढाएका थिए। त्यसयता रुसको चीनप्रतिको आर्थिक निर्भरता बढेको छ। विशेषगरी चिनियाँ बजार रुसी तेलको प्रमुख गन्तव्य बनेको छ।
भ्रमणअघि नै दुई देशका नेताले रणनीतिक साझेदारीको ३० वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश आदानप्रदान गरेका थिए। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले चीन–रुस सहकार्य निरन्तर गहिरिँदै गएको बताएका छन्।
पुटिनले चिनियाँ जनताका नाममा जारी भिडियो सन्देशमा दुई देशबीचको सम्बन्ध “अभूतपूर्व उचाइमा” पुगेको बताएका छन्। उनले व्यापारिक सम्बन्ध विस्तार भइरहेको उल्लेख गर्दै सहकार्य कुनै तेस्रो देशविरुद्ध नभई साझा विकास र स्थायित्वका लागि भएको दाबी गरेका छन्।
यद्यपि, विश्लेषकहरूले पुटिनको अभिव्यक्तिलाई अप्रत्यक्ष रूपमा अमेरिकातर्फ लक्षित सन्देशका रूपमा व्याख्या गरेका छन्। वार्तापछि दुई नेताले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
विश्लेषकहरूका अनुसार चीन–रुस सम्बन्ध पछिल्ला वर्षहरूमा सार्वजनिक प्रदर्शनभन्दा दीर्घकालीन रणनीतिक सहकार्यतर्फ उन्मुख हुँदै गएको छ। ब्रुकिङ्स इन्स्टिच्युसन की विश्लेषक प्याट्रिसिया किम ले बेइजिङ र मस्कोले आफ्नो सम्बन्धलाई अमेरिका–चीन सम्बन्धभन्दा बढी स्थिर र संरचनात्मक रूपमा बलियो मानेको बताएकी छन्।
चीनले युक्रेन युद्धबारे वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गर्दै आएको भए पनि रुसको आक्रमणको खुला आलोचना गरेको छैन। गत साता ट्रम्प र सीबीच भएको वार्तामा पनि युक्रेन युद्धको विषय उठेको बताइएको थियो।
ऊर्जा सहकार्यलाई यसपटकको भेटको प्रमुख एजेन्डामध्ये एक मानिएको छ। विश्लेषकहरूका अनुसार रुसले चिनियाँ बजारमा ऊर्जा निर्यात थप विस्तार गर्न चाहेको छ भने चीनले स्थिर ऊर्जा आपूर्तिलाई प्राथमिकतामा राखेको छ।
एसिया सोसाइटी का लाइल मोरिस ले रुस आफ्नो युद्धकालीन अर्थतन्त्रका लागि चिनियाँ बजारमा निर्भर रहेको बताएका छन्। त्यस्तै, नानयाङ टेक्नोलोजिकल युनिभर्सिटी का जेम्स चार का अनुसार चीन ऊर्जा आपूर्ति र समुद्री व्यापार मार्ग स्थिर राख्न चाहन्छ।
अटलान्टिक काउन्सिल का जोसेफ वेबस्टर ले चीनले थप रुसी ऊर्जा स्रोतमा चासो देखाइरहेको र मस्कोले पूर्वी बजारतर्फ निर्यात विस्तार गर्ने रणनीति अघि बढाइरहेको बताएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)


.jpg)





प्रतिक्रिया