सुत्केरी भएको ११ दिनमै विजय यात्रामा रञ्जु दर्शना न्यौपाने
- BFIS News
- 2026 Mar 06 16:19
काठमाडौँ, फागुन २२ गते । नेपाली राजनीतिमा मातृत्व र सार्वजनिक जीवनलाई सँगै अघि बढाउने उदाहरण निकै कम देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री रञ्जु दर्शना न्यौपानेले भने यही दुर्लभ उदाहरण प्रस्तुत गर्नुभएको छ।
छोरा जन्माएको ११ दिनपछि न्वारन कार्यक्रम सकेर उहाँ आफ्नो निर्वाचन क्षेत्रको विजय यात्रामा सक्रिय रूपमा सहभागी हुनुभएको छ। मातृत्वको संवेदनशील समयमै पनि राजनीतिक जिम्मेवारीलाई निरन्तरता दिनुभएको उहाँको कदम धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार न्यौपाने १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।
निर्वाचन अभियान सुरु हुँदा न्यौपाने आठ महिनाकी गर्भवती हुनुहुन्थ्यो। त्यस अवस्थामै पनि उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने घरदैलो अभियानलाई अन्तिम समयसम्म निरन्तरता दिनुभएको थियो। गर्भावस्थाको चुनौतीका बाबजुद उहाँले मतदातासँग संवाद गर्दै स्थानीय समस्या, विकास र सुशासनका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो।
छोरा जन्मिएपछि पनि उहाँ राजनीतिक जिम्मेवारीबाट अलग बस्नुभएन। सुत्केरी भएको १० दिनमै उहाँ मतदान केन्द्रमा पुगेर प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मत दिनुभएको थियो। मातृत्वको अत्यन्त संवेदनशील समयमै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउनु उहाँको साहस र प्रतिबद्धताको उदाहरण बनेको छ।
न्यौपाने वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ। निर्वाचनअघि उहाँ विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको हो।
रास्वपाबाट समानुपातिक सूचीमा नाम परेको भए पनि त्यसप्रति आलोचना भएपछि उहाँले काठमाडौँ–१ बाट प्रत्यक्ष निर्वाचन लड्ने निर्णय गर्नुभएको थियो। अन्ततः मतदाताले उहाँलाई विश्वास गर्दै प्रतिनिधिसभामा पठाएका छन्।
युवा उमेरमै सुरु भएको राजनीतिक यात्रा
न्यौपानेको राजनीतिक यात्रा निकै कम उमेरमै सुरु भएको हो। विसं २०७० सालमा १७ वर्षको उमेरमा उहाँ विवेकशील नेपाली दलमा प्रवेश गर्नुभएको थियो। “नेपाल खुला छ” अभियानमार्फत उहाँले नागरिक अधिकार, पारदर्शिता र सुशासनका विषयमा आवाज उठाउन सुरु गर्नुभएको थियो।
विसं २०७४ सालमा २१ वर्षको उमेरमै उहाँ काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार बन्नुभएको थियो। उक्त निर्वाचनमा उहाँले २३ हजार ४३९ मत प्राप्त गर्दै उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो।
त्यसपछि उहाँ विवेकशील साझा पार्टीको महासचिव बन्नुभयो। पछिल्ला वर्षहरूमा राजनीतिक उतारचढावबीच उहाँले पार्टीबाट राजीनामा दिएर केही समय स्वतन्त्र राजनीतिक यात्रामा बिताउनुभयो। २०७९ सालमा काठमाडौँ–५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा पनि चुनाव लड्नुभएको थियो।
वि.सं. २०५२ सालमा काठमाडौँको मैतीदेवीमा जन्मिनुभएकी न्यौपानेले काठमाडौँ विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातक, त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा काउन्सिलिङ साइकोलोजीमा पोस्ट–ग्राजुएट अध्ययन गर्नुभएको छ।
महिला हिंसाविरुद्ध सशक्त आवाज उठाउँदै आउनुभएकी न्यौपाने सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर सामाजिक अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)







.jpg)









प्रतिक्रिया