नयाँ बन्ने सरकारलाई सुशासन, कृषि, जलविद्युत् र पुँजी बजारलाई प्राथमिकता दिएर अघि बढ्न फोरमका अध्यक्ष ढकालको सुझाव
- BFIS News
- 2026 Mar 06 22:07
काठमाडौं। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सरकारलाई आर्थिक सुधार, रोजगारी सिर्जना र दीर्घकालीन विकासका ठूला परियोजनामा ध्यान दिन आग्रह गरेका छन्। उनले स्पष्ट बहुमतसहित बन्ने सरकारसँग जनताले स्थिरता, सुशासन र आर्थिक पुनरुत्थानको अपेक्षा गरेको बताएका छन्।
ढकालका अनुसार विगतमा बारम्बार सरकार परिवर्तन हुने, कुनै पनि दलले स्पष्ट बहुमत नपाउने र छोटो अवधिमा सरकार ढल्ने अवस्थाले देशमा दीर्घकालीन नीति निर्माण तथा कार्यान्वयन कठिन बनेको थियो। “पहिले तानातानको राजनीति, बहुमत नभएका सरकार र छ/छ महिनामा सरकार बदलिने अवस्था थियो, जसले गर्दा काम गर्न सरकारलाई सहज थिएन,” उनले भने।
उनले अहिले स्पष्ट बहुमतको सरकार बन्ने सम्भावनालाई सकारात्मक रूपमा हेर्दै पाँच वर्षको स्थिर शासनले सुशासन र नयाँ नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। “जब एउटा पार्टीले स्पष्ट बहुमत पाउँछ, तब आम जनताले अब पाँच वर्ष ढुक्क भएर सुशासन, नयाँ नीति र कानुन आउने अपेक्षा गर्छन्,” उनले बताए।
ढकालले हाल देश आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै नयाँ सरकारले तत्काल ध्यान दिनुपर्ने प्रमुख क्षेत्रहरू पहिचान गरेका छन्। उनका अनुसार नेपाल अहिले २८ खर्ब रुपैयाँभन्दा बढी ऋणमा रहेको र पर्याप्त रोजगारी अभावका कारण ठूलो सङ्ख्यामा युवाहरू विदेशिन बाध्य भएका छन्।
कृषि, पर्यटन र जलविद्युतमा जोड
उनले स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए। आधुनिक प्रविधिमैत्री कृषि विकासमार्फत उत्पादन बढाउन सके ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने उनको धारणा छ।
त्यस्तै, पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय हबका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए। नेपाल दुई विशाल छिमेकी मुलुकको बीचमा रहेको उल्लेख गर्दै उनले भने, “यदि छिमेकी देशका जनसंख्याको दुई प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सकियो भने पनि ठूलो आर्थिक लाभ लिन सकिन्छ।”
ऊर्जा क्षेत्रबारे बोल्दै ढकालले जलविद्युत उत्पादन विस्तार गरेर नेपालले विद्युत आयात गर्ने होइन, निर्यात गर्ने देश बन्नुपर्ने बताए। “समयमै जलविद्युत परियोजनाहरू निर्माण गरेर विद्युत निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,” उनले भने।
सुशासन र दीर्घकालीन योजना आवश्यक
ढकालले बहुमतको सरकारका लागि सुशासन सबैभन्दा महत्त्वपूर्ण आधार भएको पनि बताए। उनका अनुसार सुशासन बिना आर्थिक सुधार सम्भव हुँदैन।
उनले विकासका लागि साना परियोजनामा मात्र सीमित नभई ठूलो स्तरका दीर्घकालीन परियोजना अघि सार्नुपर्ने सुझाव दिएका छन्। त्यस्ता परियोजनाबाट ठूलो लगानी आकर्षित हुने, उद्योग स्थापना हुने र लाखौँ रोजगारी सिर्जना हुने उनको भनाइ छ।
उदाहरणका रूपमा उनले बागमती नदी व्यवस्थापन, नहर निर्माणमार्फत पर्यटन विकास, तथा भारतबाट सिधै रेलमार्फत पर्यटकलाई हिमाली क्षेत्रसम्म पुर्याउने जस्ता ठूला परियोजनाको अवधारणा अघि सारे।
अन्तरिम सरकारलाई धन्यवाद
ढकालले अन्तरिम सरकारको नेतृत्वप्रति पनि आभार व्यक्त गर्दै समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रशंसा गरेका छन्।
उनले नयाँ सरकारलाई संयमित भएर काम गर्न आग्रह गर्दै जनताको मुख्य अपेक्षा स्वदेशमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नु रहेको बताए। “जनता विदेशिनु नपर्ने, आफ्नै देशमा बसेर परिवारसँग सुखी जीवन बिताउन सक्ने वातावरण बनाउनु सरकारको पहिलो कर्तव्य हो,” उनले भने।
फोरमका अध्यक्ष ढकालले मुलुकको आर्थिक सुधारका लागि सबैभन्दा पहिले सुशासन आवश्यक रहेको बताए। सरकारी सेवामा सहज पहुँच, करको सही सदुपयोग तथा पुँजी बजारको आधुनिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनि बताउछन्।
ढकालका अनुसार अहिले सामान्य नागरिकले सरकारी सेवा लिनसमेत निकै कठिनाइ भोग्नुपरेको अवस्था छ। “एउटा पासपोर्ट बनाउनसमेत ८–१० दिन लाइन बस्नुपर्ने अवस्था छ। अझै पनि धेरै सरकारी कार्यालयमा नधाइकन काम गर्न सकिँदैन,” उनले भने, “त्यसैले पहिलो आवश्यकता भनेको सुशासन नै हो।”
उनका अनुसार राज्यले नागरिकबाट उठाएको करको प्रभावकारी सदुपयोग गर्न सके मात्रै पनि ठूलो आर्थिक स्रोत सिर्जना गर्न सकिन्छ। “आम नागरिकले राज्यबाट पाउने सेवा सहज रूपमा पाउनुपर्छ र आफूले तिरेको करको सदुपयोग भएको देख्नुपर्छ,” उनले बताए।
ढकालले मुलुकको आर्थिक विकासमा पुँजी बजारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यसलाई प्राथमिकतामा राखेर सुधार गर्न सरकारलाई सुझाव दिए। उनले साना लगानीकर्ताले समेत सजिलै लगानी गर्न सक्ने, चाहेको बेला प्रवेश र बाहिरिन सक्ने र स्वरोजगार सिर्जना हुने माध्यमका रूपमा पुँजी बजारलाई विकास गर्नुपर्ने बताए।
उनले हाल पुँजी बजार सुधारका लागि बनेको समितिले दिएका सुझावहरू तत्काल कार्यान्वयन गर्नुपर्ने बताए। “पुँजी बजारलाई प्रविधि–मैत्री बनाउँदै आधुनिकीकरण गर्न जरुरी छ,” उनले भने, “यदि अहिलेको स्टक एक्सचेन्जले बजारको भार धान्न सक्दैन भने नयाँ स्टक एक्सचेन्जको विकल्पबारे पनि सरकारले सोच्नुपर्छ।”
ढकालले अर्थतन्त्रको स्थिरताका लागि सक्षम व्यक्तिहरूको योगदान महत्वपूर्ण हुने बताए। उनले उदाहरणका रूपमा अर्थमन्त्री रामेश्वर खनालको कार्यकुशलताका कारण अर्थतन्त्रले ‘सेफ ल्यान्डिङ’ पाएको उल्लेख गरे। साथै सम्भावित अर्थमन्त्रीका रूपमा चर्चामा रहेका स्वर्णिम वाग्ले लगायत नेतृत्वले विज्ञहरूको सुझाव लिएर काम गर्नुपर्ने उनको भनाइ छ।
उनले सरकार सञ्चालनका लागि विभिन्न क्षेत्रका विज्ञ सम्मिलित टोली गठन गर्नुपर्ने आवश्यकता औंल्याए। “प्रधानमन्त्री, अर्थमन्त्री र कृषि मन्त्रालयलगायत सबै क्षेत्रमा विज्ञ टिम बनाएर काम गर्नुपर्छ,” उनले भने, “राजनीतिक पार्टी हेरेर होइन, योग्य व्यक्तिलाई जिम्मेवारी दिँदा मात्रै देश अगाडि बढ्छ।”
ढकालले हाइड्रोपावर, कृषि, पर्यटन र पुँजी बजारलाई समन्वय गर्दै अर्थतन्त्र अघि बढाउनुपर्ने बताए। साथै साना उद्योगलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराएर रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। विदेशबाट फर्किएका युवाहरूको सीप अनुसार कामको व्यवस्था गर्न सके वैदेशिक रोजगारीमा जाने प्रवृत्ति पनि घट्ने उनको भनाइ छ।
“यो सरकारप्रति युवाहरूको ठूलो आशा र भरोसा छ,” उनले भने, “जनताले परिवर्तन चाहेर नै मत दिएका हुन्। त्यसैले सरकार नआत्तिकन र नमत्किकन जनअपेक्षा अनुसार काम गर्नुपर्छ।” अहिलेको सरकारले कुटनीतिक पाटोलाई पनि एकदमै संयमित र सन्तुलित रुपमा अगाडी बढाउनु पर्नेमा उनले जोड दिए।
ढकालका अनुसार सुशासन, कृषि, जलविद्युत् र पुँजी बजारलाई प्राथमिकता दिएर अघि बढ्न सके समग्र अर्थतन्त्र बलियो बन्ने र देशले स्थायी आर्थिक विकासको बाटो समात्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)







.jpg)









प्रतिक्रिया