प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न
- BFIS News
- 2026 Mar 08 21:36
सिद्धार्थनगर (भैरहवा), फागुन २४ गते । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको सुरक्षा निकायले जनाएको छ। विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा फागुन २१ गते सम्पन्न यसपटकको निर्वाचन अझ व्यवस्थित र सुरक्षित वातावरणमा सम्पन्न भएको विश्लेषण गरिएको छ।
निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा रणनीति, सुरक्षाकर्मीको सक्रिय परिचालन तथा विभिन्न सुरक्षा निकायबीचको समन्वयका कारण निर्वाचन अपेक्षाकृत सुरक्षित र भयरहित वातावरणमा सम्पन्न भएको हो। नेपाल प्रहरीले बहुआयामिक सुरक्षा योजना लागू गर्दै मतदानस्थल तथा मतदान केन्द्रहरूमा विशेष सुरक्षा प्रबन्ध मिलाएको थियो, जसका कारण मतदाताले ढुक्कका साथ मतदान गर्न सकेको सुरक्षा निकायको भनाइ छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार सुरक्षाकर्मीलाई स्पष्ट जिम्मेवारीसहित परिचालन गरिएको थियो भने देशभरका प्रहरी इकाइलाई उच्च सतर्कतामा राखिएको थियो। उहाँले अवलम्बन गरिएको सुरक्षा रणनीति सफल भएको उल्लेख गर्दै विगतको तुलनामा यसपटकको निर्वाचन बढी शान्तिपूर्ण र व्यवस्थित रहेको बताउनुभयो।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि पाँच प्रमुख रणनीति अपनाइएको थियो। सुरक्षा जोखिमको मूल्याङ्कनका आधारमा योजना तयार पारिनु, सीमित स्रोत–साधनको प्रभावकारी परिचालन, प्रहरी सङ्गठनको मनोबल अभिवृद्धि, सुरक्षा निकाय तथा अन्य सरोकारवालासँग समन्वय तथा निर्वाचन अवधिभर निरन्तर अनुगमनलाई प्राथमिकता दिइएको थियो।
निर्वाचन सुरक्षाको अवस्थाबारे अनुगमन गर्न प्रहरी महानिरीक्षक कार्की स्वयं विभिन्न प्रदेश र जिल्लाका प्रहरी इकाइमा पुगेर निरीक्षण तथा सुपरीवेक्षण गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसपटकको निर्वाचनमा डिजिटल प्रविधिको प्रयोगलाई पनि विशेष प्राथमिकता दिइएको थियो। सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना तथा ‘फेक न्युज’ नियन्त्रण गर्न प्रत्येक जिल्लामा सामाजिक सञ्जाल अनुगमन टोली गठन गरिएको थियो।
संवेदनशील क्षेत्रको निगरानीका लागि ‘ड्रोन क्यामेरा’ तथा उच्च क्षमताका क्यामेराको प्रयोग गरिएको थियो भने अनुसन्धानमा पनि डिजिटल प्रविधि प्रयोग गरिएको प्रहरीले जनाएको छ। प्रदेशस्तरमा प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा सुरक्षा कमान्ड खडा गरिएको थियो भने जिल्लामा वरिष्ठ प्रहरी अधिकृतहरूलाई परिचालन गरिएको थियो।
सुरक्षा व्यवस्थापनका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागसँग संयुक्त रूपमा निगरानी, जोखिम मूल्याङ्कन र सम्भावित विवाद समाधानका लागि सहकार्य गरिएको प्रहरीले जनाएको छ।
विसं २०७९ को निर्वाचनका क्रममा विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता र समर्थकबीच झडपका घटना भएका थिए। बाजुरा, रुकुम र कालीकोटमा भएका झडपमा आठ जनाको मृत्यु भएको थियो भने अन्य जिल्लामा दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। केही स्थानमा विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधका घटनासमेत भएका थिए।
तर २०८२ को निर्वाचनमा भने त्यस्ता गम्भीर प्रकृतिका घटना नदेखिएको सुरक्षा निकायको निष्कर्ष छ। केही स्थानमा सामान्य तनाव उत्पन्न भए पनि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएका थिए।
संविधानविद् तथा कानुन व्यवसायी सूर्य अधिकारीका अनुसार प्रभावकारी सुरक्षा व्यवस्थापनका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। उहाँले सुरक्षा निकाय, प्रशासन र निर्वाचन व्यवस्थापनबीचको समन्वय प्रभावकारी भएकाले निर्वाचन सहज रूपमा सम्पन्न भएको बताउनुभयो।
सुरक्षा विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजालले विगतका अनुभवका आधारमा सुरक्षा रणनीति परिमार्जन गरिएकाले जोखिम न्यूनीकरणमा सफलता मिलेको बताउनुभयो। अधिकारकर्मी लक्ष्मी केसीका अनुसार सुरक्षाकर्मीले उच्च जिम्मेवारीका साथ भूमिका निर्वाह गरेकाले निर्वाचन अवधिभर ठूलो दुर्घटना वा हिंसात्मक घटना हुन सकेन।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार निर्वाचनअघि नै देशभरका मतदान केन्द्रलाई संवेदनशील, अति संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर सुरक्षा योजना बनाइएको थियो। विभिन्न सुरक्षा निकायबीचको संयुक्त परिचालनका कारण सम्भावित जोखिम नियन्त्रण गर्न सफल भएको उहाँले बताउनुभयो।
सुरक्षा निकायका अनुसार मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण रहेको छ। झडप, विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधजस्ता घटनाहरू यसपटक दोहोरिन नपाएको हो।
निर्वाचन आयोग, सुरक्षा निकाय, प्रशासन, राजनीतिक दल र मतदाताबीचको सहकार्यका कारण २०८२ सालको प्रतिनिधिसभा निर्वाचनलाई नेपालको लोकतान्त्रिक अभ्यासमा शान्तिपूर्ण र व्यवस्थित निर्वाचनका रूपमा स्थापित गर्न सफल भएको विश्लेषण गरिएको छ। नेपाल प्रहरीले प्रभावकारी सुरक्षा रणनीति र अनुशासित परिचालनमार्फत निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको ठहर गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया