कालीकोटमा श्रीमानद्वारा श्रीमतीको हत्या, घरायसी विवाद कारण
- BFIS News
- 2026 Mar 31 13:13
कालीकोट, चैत १७ — कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँमा एक महिलाको हत्या भएको पुष्टि भएको छ। घरभित्र मृत अवस्थामा फेला परेकी २६ वर्षीया मनपुरा अधिकारी बुढाको हत्या उनकै श्रीमानले गरेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बरमा यादवका अनुसार २९ वर्षीय काँशीराम बुढाले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरायसी विवादका कारण घटना भएको अभियुक्तले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
सोमबार बिहान महिला मृत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएकाले सुरुदेखि नै हत्याको आशङ्का गरी श्रीमान्माथि अनुसन्धान केन्द्रित गरिएको थियो।
आइतबार राति बञ्चरो प्रहारबाट मृत्यु भएको पुष्टि भएपछि आरोपित काँशीराम बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका दुई छोरा र एक छोरी रहेका छन्।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा प्रमाण सङ्कलन गर्ने कार्य गरिरहेको जनाएको छ। स्थानीयका अनुसार यसअघि पनि कुमालगाउँमा यस्ता घटनाहरू हुने गरेको भए पनि धेरैजसो बाहिर नआउने गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया