म्यान्मामा सैन्य शासन थप बलियो हुने संकेत, मिन आङ ह्लाइङ उपराष्ट्रपति निर्वाचित
- BFIS News
- 2026 Mar 31 13:17
नेपिडो (म्यान्मा), चैत १७ — म्यान्मामा सैन्य शासन थप मजबुत हुने संकेत देखिएको छ। जुन्ता प्रमुख मिन आङ ह्लाइङ तल्लो सदनबाट उपराष्ट्रपति निर्वाचित भएसँगै राष्ट्रपति बन्ने प्रक्रियातर्फ निर्णायक रूपमा अघि बढ्नुभएको छ।
मङ्गलबार सम्पन्न मतदानमा तल्लो सदनले उहाँलाई २६० मध्ये २४७ मतसहित उपराष्ट्रपति घोषणा गरेको संसद् अधिकारीहरूले जनाएका छन्। तल्लो सदनका अध्यक्ष खिन यीका अनुसार निर्वाचित सांसदहरूले औपचारिक रूपमा उहाँलाई उपराष्ट्रपति चयन गरेका हुन्।
यस हप्ताभित्र तीन जना उपराष्ट्रपति चयन गरिने कार्यक्रम रहेको छ, जसमा एक जनालाई संसद्व्यापी मतदानमार्फत राष्ट्रपति बनाइने संवैधानिक प्रावधान छ। विश्लेषकहरूका अनुसार मिन आङ ह्लाइङ राष्ट्रपति पदका प्रमुख दाबेदारका रूपमा अघि बढ्नुभएको छ।
सन् २०२१ मा आङ सान सु की नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिनुभएका ह्लाइङ त्यसयता मुलुकमा कडा सैन्य शासन चलाउँदै आउनुभएको छ। सो कदमपछि म्यान्मा द्वन्द्व र अस्थिरतामा फसेको थियो, जसको प्रभाव अझै कायम छ।
पछिल्ला वर्षहरूमा उहाँको नेतृत्वमा सञ्चालन भएको शासन प्रणालीलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक आलोचना गर्दै आएको छ। हालै सम्पन्न अत्यधिक नियन्त्रणयुक्त चुनावमा विरोध र आलोचनालाई अपराध घोषणा गरिएको बताइएको छ, जसले सैन्य समर्थित दललाई सहज जित दिलाएको विश्लेषण गरिएको छ।
प्रजातन्त्र समर्थक समूहहरूले नयाँ बन्ने सरकार सेनाको प्रत्यक्ष प्रभावमा रहने चेतावनी दिएका छन्। म्यान्माको इतिहास हेर्दा लामो समयसम्म सैन्य नियन्त्रण कायम रहेकाले यस्तो आशंका अझ बलियो बनेको छ।
हालै सशस्त्र बलको कमान्डर-इन-चिफ पदबाट राजीनामा दिएपछि तल्लो सदनले उहाँलाई उपराष्ट्रपति पदका लागि मनोनयन गरेको थियो, जसले उहाँको राष्ट्रपति बन्ने सम्भावना थप प्रबल बनाएको बताइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया