अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासन पछि बढ्न थाल्यो शेयर बजार, संयमता अपनाउदा कारोबार रकम घट्यो
- BFIS News
- 2026 Mar 31 15:24
काठमाडौं । लगातार दुई कारोबार दिनसम्म तीव्र गिरावट भोगेको शेयर बजारमा मंगलबार सुधारको संकेत देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.७० अंकको वृद्धिसँग बजार २८५१.०९ विन्दुमा बन्द भएको छ। यद्यपि, सूचक उकालो लागे पनि कारोबार रकममा भने संकुचन देखिएको छ, जुन ११ अर्ब ११ करोड रुपैयाँमा सीमित रह्यो।
दुई दिनको अवधिमा ११८ अंकभन्दा बढीले घटेको बजारमा आएको यो सुधारलाई लगानीकर्ताले सावधानीपूर्ण आशावादका रूपमा लिएका छन्। आज १९५ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनीको मूल्य घटेको थियो, जसले बजारमा आंशिक सकारात्मक धारणा फर्किएको संकेत गर्छ।
आश्वासनपछि मनोबलमा सुधार
अर्थमन्त्री स्वर्णिम वाग्ले सँगको भेटपछि बजारमा मनोवैज्ञानिक सुधार आएको देखिन्छ। लगानीकर्ताहरूको एक टोलीले हालको गिरावटप्रति ध्यानाकर्षण गराएपछि अर्थमन्त्री वाग्लेले बजारप्रति सरकारको प्रतिबद्धता दोहोर्याउँदै नआत्तिन आग्रह गरेका थिए।
उनका अनुसार सरकारले गरिरहेका कामहरू पूर्वनिर्धारित नीतिगत प्रतिबद्धताभित्रै सीमित छन् र शेयर बजार विकासका लागि स्पष्ट मार्गचित्र तयार भइसकेको छ। “लगानीकर्तालाई तर्साउने वा अस्थिरता सिर्जना गर्ने कुनै कदम सरकारले चाल्दैन,” भन्ने सन्देशले बजारमा सकारात्मक संकेत प्रवाह गरेको विश्लेषण गरिएको छ।
यसअघि बजारमा आएको तीव्र गिरावटको मुख्य कारण सरकारको सुशासन अभियान र त्यससँग जोडिएका राजनीतिक घटनाक्रमलाई मानिएको छ। विशेषगरी २०४८ पछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने चर्चाले ठूला लगानीकर्तामा अनिश्चितता सिर्जना गरेको थियो।
त्यसैगरी, नयाँ सरकार गठनपछि उत्पन्न राजनीतिक तनावले पनि बजारमा नकारात्मक असर पारेको देखिन्छ। प्रधानमन्त्री बालेन शाह को नेतृत्वमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध लिएको कदमपछि सडक आन्दोलन चर्किएको थियो। यसले सम्भावित राजनीतिक अस्थिरताको डर बढाउँदा लगानीकर्ताहरू ‘पर्ख र हेर’ रणनीतिमा पुगेका थिए।
लगानीकर्ता मनोविज्ञान र बजार प्रवृत्ति
सक्रिय लगानीकर्ता रोहन कार्की को नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीसँग भेट गरी बजारमा आएको ‘अनपेक्षित गिरावट’ ले लगानीकर्तामा त्रास फैलाएको जानकारी गराएको थियो। कार्कीका अनुसार, अब लगानीकर्ताहरू सरकारबाट ठोस नीतिगत स्पष्टता र सुधारका कदमको प्रतीक्षामा छन्।
विश्लेषकहरूका अनुसार बजारमा आएको हालको सुधार दीर्घकालीन ट्रेन्डको संकेत भन्दा पनि ‘रिबाउन्ड’ हुन सक्छ। कारोबार रकम घट्नुले लगानीकर्ताहरू अझै पूर्ण रूपमा विश्वस्त नभएको देखाउँछ।
समग्रमा, अर्थमन्त्रीको आश्वासनले अल्पकालीन रूपमा बजारलाई स्थिर बनाउन मद्दत गरेको देखिए पनि दीर्घकालीन विश्वास पुनःस्थापना गर्न स्पष्ट नीति, राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण अपरिहार्य रहनेछ। बजारले अब सरकारका आगामी निर्णय र कार्यान्वयन क्षमतालाई नजिकबाट नियालिरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया