Nepal Life

बुद्धभुमी नेपाल हाइड्रोपावरको १००% हकप्रद शेयर आजदेखि खुला

NMB Bank
  • BFIS News
  • 2026 Apr 05 10:15
बुद्धभुमी नेपाल हाइड्रोपावरको १००% हकप्रद शेयर आजदेखि खुला
United Ajod

काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले आज (चैत २२ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्दैछ, अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर उपलब्ध गराइनेछ। यसअन्तर्गत कम्पनीले ४० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरेको थियो। सो अनुसार माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद २०८३ साल बैशाख १३ गतेसम्म तोकिएको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल बाट आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। लगानीकर्ताहरूले बिक्री प्रबन्धकको कार्यालयका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, नुवाकोटको थप्रेकस्थित जलविद्युत आयोजना क्षेत्र, तथा एनआईसी एशिया बैंक का विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सक्नेछन्।

यसका अतिरिक्त, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा विकसित ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीका अनुसार हकप्रदबाट संकलित रकम आयोजना सञ्चालनका लागि लिइएका ऋणहरूको आंशिक भुक्तानीमा प्रयोग गरिनेछ। हाल कम्पनीको सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक मा गरी कुल ९६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँ ऋण बाँकी रहेको छ। हकप्रदबाट प्राप्त रकममार्फत आंशिक भुक्तानी गरेपछि कम्पनीको बाँकी ऋण ५६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँमा झर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया