पाथीभरामा चढाइएका सुन–चाँदी रिफाइन, लिलामीको तयारी
- आयुस बस्नेत
- 2026 Apr 17 20:05
फुङ्लिङ, वैशाख ४ — ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी करिब दुई वर्षपछि प्रशोधन (रिफाइन) गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिले २०८० पुस २५ देखि २०८२ फागुन २५ सम्म सङ्कलित सुनचाँदी प्रशोधन गरेको जनाएको छ।
समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार उक्त अवधिमा मन्दिरमा चढाइएका सुनचाँदी सङ्कलन गरी पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा रिफाइन गरिएको हो।
सूचना अधिकारी नवीन निरौलाका अनुसार करिब २६ महिनामा सङ्कलित ६७ तोला सुन र ४३ किलोग्राम चाँदी प्रशोधन गरिएको छ। सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेले ६७ तोला सुन प्रशोधनपछि ५० तोला ८५ लाल बराबरको २४ क्यारेट शुद्ध सुन प्राप्त भएको जानकारी दिए। त्यस्तै ४३ किलोग्राम चाँदी रिफाइन गर्दा दुई हजार ५४ तोला ३५ लाल शुद्ध चाँदी उत्पादन भएको उनले बताए।
कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भण्डारणमा रहेका सुनचाँदी लिलामी गर्न नयाँ कार्यविधि तयार गरी छिट्टै बिक्री प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ। सुनको मूल्यमा भइरहेको उतारचढावका कारण लिलामी प्रक्रिया प्रभावित हुँदै आएको उल्लेख गर्दै उनले अब समितिमार्फत व्यवस्थित र प्रभावकारी प्रणाली अपनाइने बताए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)




प्रतिक्रिया