हिमालयन पावर पार्टनरको क्रेडिट रेटिङ उकासियो, हकप्रद शेयर निष्काशन तयारी
- BFIS News
- 2026 Apr 23 08:09
कम्पनीले हकप्रद शेयर निष्काशनको तयारी गरिरहेका बेला केयर रेटिङ्स नेपालले यसको ‘इस्युअर रेटिङ’ स्तर उकास्दै ‘केयर एनपी डबल बी’ प्रदान गरेको हो, जुन यसअघि ‘डबल बी माइनस’ थियो।
नयाँ रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीको नाफा र नगद प्रवाहमा सुधार देखिएपछि रेटिङ उकासिएको जनाइएको छ।
कम्पनीको वित्तीय कार्यसम्पादन पछिल्लो वर्ष उल्लेखनीय रूपमा सुधारिएको छ। आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन आम्दानी ७४ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५१ करोड ६० लाख रुपैयाँ थियो। त्यस्तै, ब्याज तिर्ने क्षमता (इंटरेस्ट कभरेज रेसियो) पनि ०.९६ गुणाबाट बढेर १.९३ गुणा पुगेको छ।
अनुभवी व्यवस्थापन टोली, दीर्घकालीन विद्युत खरिद सम्झौता तथा सरकारी कर सहुलियतलाई कम्पनीका सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ। नेपाल विद्युत प्राधिकरणसँग ३० वर्षे विद्युत खरिद सम्झौता रहेकाले उत्पादित बिजुलीको बजार सुनिश्चित भएको छ। साथै, सुक्खा मौसममा अपेक्षाभन्दा बढी ऊर्जा उत्पादन गर्न सकिएको तथ्यले आम्दानीमा थप सुधारको संकेत दिएको छ।
यद्यपि, कम्पनीले केही संरचनागत र प्राकृतिक जोखिमहरू पनि सामना गरिरहेको छ। हाल आयोजना ‘कन्टिन्जेन्सी प्लान’ अन्तर्गत सञ्चालनमा रहेकाले प्राधिकरणले आवश्यकता अनुसार मात्रै विद्युत खरिद गर्ने व्यवस्था छ, जसले आम्दानीमा अनिश्चितता ल्याउन सक्छ। ‘रन–अफ–द–रिभर’ प्रकृतिको आयोजना भएकाले हिउँदमा पानीको बहाव घट्दा उत्पादनमा असर पर्ने सम्भावना रहन्छ। साथै, परिवर्तनशील ब्याजदर, प्रसारण पूर्वाधारको सीमितता र बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिहरू पनि जोखिमका रूपमा औंल्याइएका छन्।
यसैबीच, कम्पनीले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गर्ने भएको छ। हाल कायम शेयरधनीलाई १ कित्ताको अनुपातमा ०.५ कित्ता हकप्रद शेयर जारी गरिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५३ लाख २७ हजार ८५ कित्ता शेयर बिक्री गरी करिब ५३ करोड २७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
हकप्रद शेयरका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरिसकेको छ। चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले आवेदन दिन पाउनेछन् भने आवेदन दिने अन्तिम मिति जेठ ६ गते तोकिएको छ।
उक्त हकप्रदबाट उठ्ने रकम सहवित्तीयकरण अन्तर्गत लिइएको ऋण भुक्तानीमा प्रयोग गरिने जनाइएको छ। प्राइम कमर्सियल बैंकको नेतृत्वमा Nabil Bank, Nepal Investment Mega Bank, Prabhu Bank तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट लिइएको ऋण चुक्ता गर्ने योजना कम्पनीको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया