कास्कीमा ‘स्विप अप्रेसन’ : १२२ जना नियन्त्रणमा
- BFIS News
- 2026 Apr 23 14:29
कास्की, वैशाख १० गते । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको १० घण्टे ‘स्विप अप्रेसन’ मा १२२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागु औषध कारोबार तथा सेवन, समाजमा अशान्ति फैलाउने, टोले गुण्डागर्दी तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले अप्रेसन सञ्चालन गरिएको हो।
प्रहरीका अनुसार वैशाख ९ गते राति ९ बजेदेखि १० गते बिहान ६ बजेसम्म पोखरा महानगरपालिकाका विभिन्न वडा तथा क्षेत्रमा एकैसाथ अप्रेसन गरिएको थियो। उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका गरी करिब एक सय जना प्रहरी परिचालन गरिएको थियो।
अप्रेशनका क्रममा लागु औषध बिक्री–वितरण तथा सेवनमा संलग्न, शङ्कास्पद रूपमा हिँडडुल गर्ने तथा मापसे गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले पोखरा–६ (लेकसाइड, ड्यामसाइड, गैराको चौतारा) बाट ३५ जना, वडा नं. ९ र १० (पृथ्वीचोक, रङ्गशाला, बुद्धचोक, अस्पतालचोक) बाट २० जना, वडा नं. १४ र १५ (एयरपोर्ट, फूलबारी, रामबजार) बाट १५ जना तथा वडा नं. २९ र ३० (भण्डारढिक, सैनिक बस्ती, पटनेरी) बाट १२ जनालाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी कसेरी, महेन्द्रपुल, लभ्लीडाँडा, बगालेटोल, तुलसीघाट, लामाचौर, चिसापानी, दिपाङताल, राजाचौतारा लगायतका स्थानबाट पनि व्यक्तिहरू पक्राउ परेका छन्। साथै माछापुच्छ्रे गाउँपालिकाबाट तीन जना र अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट एक जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। यस्ता स्विप अप्रेसनलाई निरन्तरता दिइने र समाजमा अशान्ति फैलाउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया