NIMB Header 2
Nepal Life

बारपाक भूकम्पको ११ वर्ष: दलित बस्ती अझै अस्थायी टहरामै

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Apr 25 10:11
बारपाक भूकम्पको ११ वर्ष: दलित बस्ती अझै अस्थायी टहरामै
United Ajod

गोरखा, वैशाख १२ — २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पको आज ११ वर्ष पूरा भएको छ। उक्त भूकम्पले गोरखामा मात्र ४७१ जनाको ज्यान लिएको थियो भने १४ जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।

Shikhar
Nepal Life
NIMB

भूकम्पपछि अधिकांश क्षेत्रमा पुनर्निर्माण सम्पन्न भई पक्की घर, विद्यालय, स्वास्थ्य संस्था र सडक संरचना निर्माण भइसके पनि बारपाक सुलीकोट गाउँपालिका–१, गैह्रागाउँस्थित दलित बस्तीका करिब १५ परिवार अझै अस्थायी टहरामै बस्न बाध्य छन्।

स्थानीयवासीका अनुसार पुरानो बस्ती जोखिमयुक्त भएकाले त्यहीँ पुनर्निर्माण गर्न नपाइने र सुरक्षित स्थानमा जग्गा उपलब्ध नहुँदा स्थायी बसोबासको समस्या जटिल बनेको छ।

स्थानीय लक्ष्मी विकका अनुसार टहरोमै बसोबास गर्दा वर्षायाममा पानी चुहिने, चिसो र गर्मीमा असह्य अवस्थासहित दैनिक कठिनाइ भोग्नुपरेको छ। त्यस्तै तुलबहादुर विकले वर्षा सुरु हुनेबित्तिकै टहरामा पानी पस्ने र बालबालिका तथा वृद्धवृद्धालाई जोगाउँदै रात काट्नुपर्ने अवस्था रहेको बताउनुभयो।

असुरक्षित आवासका कारण बालबालिकाको अध्ययन र स्वास्थ्यमा समेत असर परेको स्थानीयले बताएका छन्। ज्वरो, रुघाखोकीलगायतका समस्या नियमित देखिने गरेको छ।

वडा सदस्य लक्ष्मी विकका अनुसार सबै परिवार स्थायी घर बनाउन चाहन्छन् तर जग्गा व्यवस्थापन नै मुख्य समस्या बनेको छ। केही पुरानै स्थानमा फर्कन चाहन्छन् भने केही सुरक्षित स्थानमा सारिन तयार छन्, तर दुवै विकल्पमा स्पष्ट समाधान हुन सकेको छैन।

बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टका अनुसार सुरक्षित बसोबासका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ, तर हालसम्म ठोस समाधान हुन सकेको छैन।

भूकम्पपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भए पनि दलित बस्तीको पुनर्निर्माण भने अझै अधुरै रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया