बाजुराको त्रिवेणी र बुढीगङ्गामा नेटवर्क समस्या यथावत्
- BFIS News
- 2026 Apr 26 10:33
बाजुरा, वैशाख १३ गते । जिल्लाको तल्लो क्षेत्र त्रिवेणी र बुढीगङ्गाका बासिन्दा लामो समयदेखि मोबाइल नेटवर्क समस्याबाट प्रभावित हुँदै आएका छन् ।
नेपाल टेलिकमले सेवा सुधारका लागि तोली र बानेगाउँको माथिल्लो डाँडामा टावर निर्माण गरे पनि अपेक्षित रूपमा सेवा प्रभावकारी नहुँदा स्थानीयले निरन्तर समस्या भोग्नुपरेको छ ।
यसअघि त्रिवेणी नगरपालिका–४ को तोलीस्थित टावरको भरमा स्थानीयले फोन सेवा प्रयोग गर्दै आएका थिए । तर पछि बानेगाउँ क्षेत्रमा नयाँ टावर जडान भए पनि सेवा झन् कमजोर भएको स्थानीयको गुनासो छ । बुढीगङ्गा नगरपालिका–४, बानेगाउँकी स्थानीय गोमती कटुवालका अनुसार पहिले तोलीको टावरले राम्रो सेवा दिए पनि अहिले गाउँमै टावर बनेपछि उल्टै समस्या बढेको छ ।
उहाँले भन्नुभयो, “पहिले तोलीको टावरले राम्रो काम गर्थ्यो, अहिले गाउँमै टावर बनेपछि फोन लाग्ने ठाउँमा पनि नलाग्ने अवस्था छ । यो समस्या गत वर्षदेखि देखिएको हो ।”स्थानीयहरूले पटक–पटक नेपाल टेलिकम शाखा बाजुरामा जानकारी गराए पनि समाधान नभएको बताएका छन् ।
नेपाल टेलिकम शाखा बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार बानेगाउँ क्षेत्रमा सब–टावर जडान भए पनि समस्या आएकोबारे औपचारिक जानकारी प्राप्त भएको छैन । उहाँले भन्नुभयो, “पहिले टावरले राम्रो काम गरेको थियो, अहिले समस्या आएको हुन सक्छ । स्थानीयले समस्या भए औपचारिक रूपमा पत्राचार गर्नुपर्छ ।” यता बुढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँका अनुसार विगत पाँच महिनादेखि क्षेत्रमा नेटवर्क समस्या कायम छ ।
उहाँले भन्नुभयो, “हामीले नेपाल टेलिकम शाखा बाजुरालाई धेरै पटक निवेदन पठाएका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन ।”स्थानीयका अनुसार पछिल्ला केही दिनयता फोन सेवा अझै कमजोर बनेको छ, जसले दैनिक कामकाजमा थप कठिनाइ सिर्जना गरेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)
-(1).jpeg)




प्रतिक्रिया